सहकारीका सञ्चालक भाग्दा बैंकरलाई तनाब, ऋण दिने दर्जन बैंकलाई सीआईबीको पत्र



काठमाडौं । समस्याग्रस्त बचत तथा ऋण सहकारीमा कर्जा लगानी गरेको बाणिज्य बैंकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पत्र काटेको छ ।

नेपाल राष्ट्र बैंकमार्फत् एक दर्जन वाणिज्य बैंकलाई पत्र लेख्दै सीआईबीले आफूले अनुसन्धान गरिरहेका विभिन्न सहकारीको सम्पत्ति र दायित्वका विषयमा जानकारी मागेको हो । ती सहकारीका सञ्चालकले बैंकबाट अर्बौं ऋण लिएको भेटिएपछि सीआईबीले बैंकहरुलाई पत्र काटेर विस्तृत विवरण मागेको हो ।

एक बैंकका प्रमुख कार्यकारी अधिकारीले राष्ट्रमार्फत् सीआईबीले पत्र पठाएको जानकारी दिए ।

‘सीआईबीले सहकारीको धितोमा रहेको सम्पत्ति र दायित्वको विषयमा चासो राखेको छ,’ ती सीईओले भने,‘उहाँहरुले माग्नु भएको सबै विवरण हामी पठाउने छौं ।’

शिवशिखर, पशुपति, तुलसी, सुप्रिम, गौतम श्री, बराहा, एकताबद्ध, देउराली, इमेजलगायतका सहकारीले निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसेकेपछि सीआईबीले अनुसन्धान गरिरहेको छ । जसमध्ये केही सहकारीका सञ्चालकलाई सीआइबीले पक्राउ गरिसकेको छ भने केहीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिसकेको छ ।


क्लिकमान्डु