जजिरा एयरले भदौ तेस्रो साताबाट भैरहवा-कुवेत उडान गर्ने, टिकट काठमाडौंभन्दा कम्तिमा १० हजार सस्तो



गौतमबुद्ध विमानस्थलमा जेठ २ गते पहिलोपटक अवतरण गरेको जजिरा एअरलाइन्सको जहाज । पच्चीस सय ६६ औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको थियो । निरा गौतम/रासस

काठमाडौं । कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडान गर्ने तयारी गरेको छ । यसअघि २ पटक भैरहवा कुवेत उडान गरिसकेको जजिराले तेस्रो पटक भदौ तेस्रो सातादेखि उडान सुरु गर्ने योजना बनाएको हो ।

साउन २९ गते नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गर्दै जजिराले कुवेत भैरहवा उडान तालिका स्वीकृत गर्न आग्रह गरेको छ ।

जजिराले सोमबार, बुधबार, बिहीबार र शनिबार उडान गर्ने गरी तालिका स्वीकृत गर्न पत्राचार गरेको संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । जजिरा एयरले भैरहवा कतार सातामा ४ उडान गर्ने गरी अनुमति माग गरेको नेपाल नागरिक उड्डयन प्राधिकारणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारीले दिए ।

‘जजिराले भैरहवाबाट सातामा ४ वटा उडान तालिक स्वीकृत गर्न पत्राचार गरेको छ,’ भुलले भने, ‘मन्त्रिपरिषद्ले भैरहवाबाट उडान गर्दा काठमाडौंभन्दा टिकट मूल्य कम्तिमा १० हजार रुपैयाँ सस्तो हुने गरी छुट दिने निर्णय गरेको सुनिएको छ । मन्त्रिपरिषद्ले के कति छुट दियो भन्ने जानकारी प्राप्त भएपछि जजिराको उडान तालिका स्वीकृत गर्ने हाम्रो तयारी छ ।’

भैरहवामा विमानस्थमा उडान गर्न वायुसेवा कम्पनीले हवाई टिकटमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर, ल्याण्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा ३ वर्षसम्म छुट दिनुपर्ने माग गरेका छन् ।

यस्तै, गौतमबुद्ध विमानस्थलमा प्रयोग हुने हवाई इन्धनमा छुट दिनुपर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने ३ हजार यात्रु सेवा शुल्क तथा टिकट बिक्रीमा लाग्ने करमा समेत छुट दिन माग गरेका थिए।

सरकारले उड्डयन आफूहरुले मागेका छुट दिए भैरहवा अवुधाबी १३ हजारमै उडान गर्ने प्रस्ताव वीज एयरले गरेको थियो । हाल काठमाडौं अवुधावीको भाडादर अहिले औषतमा ४० हजार रुपैयाँ छ । यस्तै जजिराले पनि सरकारले छुट दिएमा कुवेतमा नियमित उडान गर्ने इच्छा देखाएको थियो ।

प्राधिकरणमा पेश गरेको पत्रमा जजिराले भैरहवा कुवेत उडान अक्टुबर तेस्रो साताबाट सुरु गर्ने जानकारी दिए पनि सरकारले छुट दिने निर्णय गरेकाले सेम्टेम्बर पहिलो साता (भदौ तेस्रो सातामै) उडान गर्ने तयारी गरेको हो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल महाप्रबन्धक प्रताव तिवारीले जजिराले भैरहवाबाट उडान सुरु गर्ने गरी तयारी सुरु गरिरहेको जानकारी दिए ।

‘प्राधिकरणले उडान तालिका स्वीकृत नगर्दासम्म उडान गर्न मिल्दैन,’ तिवारीले भने, ‘आगामी साता प्राधिकरणले जजिराले पेश गरेको तालिका स्वीकृतगरेपछि टिकेटिङको काम सुरु हुनेछ ।’

व्यवसायीले माग गरे अनुसार सुविधा दिने निर्णय गरेको सरकारले भैरहवाको टिकट कम्तिमा १० हजार सस्तो हुने पर्ने सर्त राखे पनि सबै छुट प्राप्त भएमा टिकट मूल्य अझै कम हुने व्यवसायीले जानकारी दिए ।

‘सरकारले दिने छुट र प्राधिकरणको अनुमति प्राप्त भएपछि मात्रै टिकट मूल्य थाहा हुनेछ,’ जजिरा एयरका एक प्रतिनिधिले भने।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेपछि २०७९ जेठ २ बाट जजिरा एयरवेजले भैरहवा र कुवेत सिधा उडान सुरु गरेको थियो ।

तर, जजिरा एयरले २०७९ पुसबाट निरन्तर खराब मौसम भएको कम भिजिबिलिटीमा प्रविधिको सहायताले उडान र अवतरण हुन नसकेको भन्दै उडान स्थगित गरेको थियो ।

भैरहवास्थित विमानस्थलमा रेडियो नेभिगेशन प्रणालीबाट उडान र अवतरण हुने इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिएको छ ।

आईएलएस प्रणाली प्रयोग गर्न भारतीय वायुक्षेत्र समेत प्रयोग गर्नु पर्छ । त्यहीँ हुँदा भैरहवामा जडान भएर पनि आईएलएस कार्यान्वयनमा आउन सकेको छैन ।

आईएलएस प्रणाली प्रयोगमा आएको भए विमानहरु ८०० मिटरको भिजिविलिटीमा उडान र अवतरण गर्न सक्थे । तर, हाल भिओआरडीएमई विधिबाट भैरहवामा उडान र अवतरण गर्न १८०० मिटर भिजिविलिटी आवश्यक हुन्छ ।

भैरहवामा ८०० मिटर भिजिबिलिटीमा उडान र अवरत गर्ने गरी आरएनपीएआर एप्रोचको बनाउन आफूले प्रयास गरिरहेको तिवारी बताउँछन् ।

‘आरएनपीएर एप्रोचको उडान अवतरण विधि तयार गर्न हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेका छौं,’ तिवारीले भने, ‘आरएनपीएर एप्रोचबाट ८०० मिटरमा विमान उडान र अवतरण हुन सक्ने भए पनि त्यसका लागी विमान कम्पनीले पाइलटलाई तालिम दिनु पर्छ ।’

मौसमका कारण स्थागन भएको उडान जजिराले २०७९ फागुन २५ देखि भैरहवाबाट पुनः उडान सुरु गरेको थियो । तर उक्त उडान पनि लामो समय जान सकेन । कम्पनीले २०८० बैशाखदेखि भैरहवा विमानबाट हुने उडान र अवतरण बन्द गरेको थियो।

भैरहवा विमानस्थल कार्यालयका अनुसार जजिराले यसअघी १० महिनामा १६ हजार ६२५ यात्रुलाई सेवा दिएको थियो ।

विसं २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल विसं २०२३ मा आन्तरिक विमानस्थलको रुपमा हालको स्थानबाट सञ्चालनमा आएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलन्यास गर्दा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

त्यसबखत ठूलो आकारको अन्तर्राष्ट्रिय विमानस्थल भन्दा भारतका विभिन्न सहरमा उडान गर्ने गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनाअनुसार भैरहवा विमानस्थल बिस्तारको काम सुरु गरिएको थियो ।
तर, भैरहवालाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नीति सरकारले लियो । जसले गर्दा भैरहवालाई अन्तर्राष्ट्रिय विमानस्थल नै बनाइएको थियो ।

पूर्वनिर्धारित मितिभन्दा साढे ४ वर्ष ढिलो निर्माण सम्पन्न भएको विमानस्थल २०७९ जेठ २ बाट व्यवसायीक सञ्चालन समेत आयो । तर, भैरहवाबाट अन्तर्राष्ट्रिय उडान दिगो हुन सकेन।

एसियाली विकास बैंकको करिब ८ अर्ब रुपैयाँ ऋण लगानीमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थल बिस्तारका लागि २२ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेर जग्गा अधिग्रहण गरिएको थियो । यस्तै, करिब कार्गो भवन र अन्य पूर्वाधार विकासमा करिब २ अर्ब रुपैयाँ खर्च भईसकेको छ ।

हालसम्म करिब ३३ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले आर्थिक लाभ कहिलेबाट दिन्छ यकिन छैन । २०७९ जेठ २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गर्दै भैरहवालाई हब बनाएर उडान गर्न वायुसेवा कम्पनी आग्रह गरेका थिए ।

निजी वायुसेवा कम्पनीलाई नयाँ विमानस्थलबाट उडान गर्न आग्रह गरेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भने सोही दिन भैरहवा विमानस्थलमा स्वागत गर्ने वातावरण बनाउन सकेनन् ।

२०७९ जेठ २ गते बुद्ध पूर्णीमाको अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरियो । त्यसैदिन लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भैरहवा विमानस्थल आएनन् । मोदी सिधैं हेलिकोप्टरबाट सिधै लुम्बिनी पुगे ।

आठ सय बिघा क्षेत्रफलमा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटर लामो रनवे छ । फोर ई क्याटेगरीको विमानस्थलमा नवौ क्याटेगरीका दमकल छन् ।

सञ्चालनमा आउन नसकेको विमानस्थलमा करिब ४ अर्ब रुपैयाँ खर्च गरेर समानान्तर ट्याक्सी वे बनाउने काम जारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सरहको उडान र अवतरणको क्षमता रहेको भैरहवा विमानस्थलमा चार वटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँच वटासम्म विमान पार्किङ गर्न सकिन्छ ।


क्लिकमान्डु