
विराटनगर । पर्यटन वर्ष २०८२ लाई सफल पार्न कोशी प्रदेश सरकारले भारतबाट आउने भारतीय नम्बर प्लेटका पर्यटकीय गाडीमा पर्यटन वर्षको स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । यसको अपौचारिक सुरुवात शुक्रवार मुख्यमन्त्री हिकमतकुमार कार्कीले गरेका हुन् ।
उनले जोगवनी नाकाबाट छिरेका भारतीय नम्बर प्लेटका पर्यटकीय गाडीमा शुक्रबार कोशी प्रदेश पर्यटन वर्ष २०८२ को स्टिकर टाँसेर स्वागत गर्दै पर्यटन वर्ष सफल पार्न आग्रह गरेका छन् ।
कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्दै गत बुधवार तेह्रथुमको लालीगुराँसको राजधानी मानिएको तीनजुरे मिल्के क्षेत्रबाट कोशी पर्यटन वर्षको आरम्भ गरेको थियो । यो कार्यक्रमका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
भारतबाट आउने भारतीय नम्बर प्लेटका गाडीलाई प्रहरीले अनावश्यक दु:ख दिने गरेको गुनासो सर्वत्र भएपछि यो अभियानलाई प्रदेश सरकारले प्रदेशभरी लागू गरेको हो ।
प्रहरीले भन्सार सुविधामा नेपाल छिर्ने हरेक भारतीय नम्बर प्लेटका गाडीलाई पाइलैपिच्छे चेकजाँच गरेर हैरानी दिदै आएको गुनासो छ ।
पर्यटन वर्षको स्टिकर टाँसेको सवारी साधनलाई नाकामा चेकजाँच गरेपछि वीचमा प्रहरीले चेकजाँच गर्न नपाउने व्यवस्था प्रदेश सरकारले गरेको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवती रमण भण्डारीले सुरक्षाका दृष्टिकोणले अत्यन्तै संवेदनशील सूचना आएमात्र स्टिकर टाँसेका गाडीमा प्रहरीले चेकजाँच गर्न सक्ने बताए ।
मुख्यमन्त्री कार्कीले गाडीमा स्टिकर टाँसेपछि प्रहरी चेकजाँचका नाममा पर्यटकले भोग्दै आएको अनावश्यक झन्झट र दु:खको अन्त्य हुने बताउँदै कोशी प्रदेशको पर्यटन वर्ष अभियानलाई सफल बनाउने मद्त पुग्ने विश्वास गरे ।
नेपालीहरुको मूल मर्म अतिथि देव भव भएकाले अतिथिको सम्मान गर्नु नेपालीको दायित्व भएको बताउँदै कार्कीले अतिथिलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रह गरे । उनले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकासको संभव हुने दाबी गरे ।
प्रदेश सरकारले वैशाख १ गते इलामको सीमावर्ती पशुपतिनगर, झापाको काँकरभिट्टा, सुनसरीको भान्टावारी र मोरङको जोगवनी नाकामा भारतीय नम्बर प्लेटका गाडीमा स्टिकर टाँस्ने थप कार्यक्रम तय गरेको छ । त्यसका लागि प्रदेश सरकारले नाकामा प्रहरी र कर्मचारीको व्यवस्था गर्ने बताएको छ ।







प्रतिक्रिया