तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

105
Shares

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे छानविन समिति गठन गरी दोषीमाथि कानूनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समिति बैठकले सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । सभापति बिमला सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताइन् । उनले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको बताइन् ।

आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको उनको भनाइ छ ।

सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउनु पर्ने उनले बताइन् ।

उक्त घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारको व्यवस्थालाई थप प्रभाकारी बनाउन सरकारलाई समितिले निर्देशन दिएको छ ।

‘सो घटनामा मानव अधिकारको गम्भीर उल्लघंन भएको देखिएकाले छानविन समिति गठन गरी सत्यतथ्य पत्ता लगाउन र सो आधारमा दोषी देखिएका व्यक्ति वा संस्थाका उपर प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाहीको प्रवन्ध गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्ने निर्णय गर्ने भन्ने प्रस्ताव गरेको छु,’ उनले भनिन् ।

सभापति सुवेदीले आगामी दिनमा सुरक्षा संवेदनशीलतालाई उच्च प्राथकितामा राखेर उचित स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक आवश्यक प्रवन्ध मिलाउन सरकाराई निर्देशन दिएको जानकारी दिइन् ।