पर्यटकलाई खर्च गर्न नदिने नीतिप्रति व्यवसायी असन्तुष्ट, डलर सटही सुविधा बढाउन माग



काठमाडौं । नेपालमा पर्यटक बोलाएर खर्च गर्न नदिने नीतिप्रति होटल व्यवसायी असन्तुष्ट भएका भएका छन । नेपाल आउने पर्यटकले ल्याउन पाउने नगद सुविधालाई सीमा नतोक्न व्यवसायीले माग गरेका छन् ।

पर्यटकले गर्ने दैनिक खर्चलाई ३ सय डलरको सटही सीमा थोरै भएको, पर्यटकले गर्ने खर्च खुम्चिएको र खुलेर खर्च गर्नबाट पर्यटकलाई रोकिएको भन्दै यस्तो सीमालाई बढाएर एक पटकमा २ हजार डलरसम्मको सटही सुविधा दिन पनि पाँचतारे होटल व्यवसायीहरुले माग गरेका छन् ।


होटल संघ नेपालको पाँचतारे तथा ४ चारे होटल समितिले विहीबार पत्रकारसँग गरेको एक छलफलमा होटल व्यवसायीले राज्यले पर्यटक भित्र्याउँन र उनिहरुले गर्ने खर्चमा सीमा नतोक्न पनि आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि मौद्रिक नीतिको तयारी गरिरहेकोले उक्त नीतिमार्फत होटल व्यवसायलाई सहजीकरण गर्न हाल पर्यटकले दैनिक ३ सय डलरसम्म मात्रै पाउँदै आएको डलर सटहीको सुविधालाई बढाइदिन आग्रह गरेका छन । होटल व्यवसायीका अनुसार अहिलेको प्रचलित नियमअनुसार होटलहरुमा बसोबास गरेका वा आगन्तुक पर्यटकले विदेशी मुद्रा सटही गर्न चाहेमा दैनिक ३ सय मात्र सटही गर्न पाउने प्रावधान व्यवस्था छ ।

यस्तो व्यवस्थाका कारण ठूला तारे होटलहरुमा आउने खर्चालु पर्यटक (हाइ इन्ड क्लाइन्ट)हरुका लागि पर्याप्त नभएको होटल व्यवसायीको भनाइ छ । सो विदेशी विनिमय सटही गर्न पाउनेको सीमा होटलहरुको स्तर हेरी एक पटकमा ३ सयबाट बढाएर २ हजार डलरसम्मको व्यवस्था गरिदिन राष्ट्र बैंक समक्ष माग गरेका छन् । होटल व्यवसायीले आगमी आवको मौद्रिक नीतिको सुझावमार्फत यस्तो माग गरेका हुन् ।

होटलको ग्राहकहरुको क्रेडिट कार्ड स्वाइप गरी क्यास पेड आउट गर्दै ट्रान्ज्याक्सन गरिएको रकम नेपाली मुद्रामा दिने गरिएको छ । विदेशीलाई दिइने यो सटहीको सुविधाले नेपालमा खर्च बढी हुने र राज्यलाई नै लाभ हुने भएकोले पनि आगामी मौद्रिक नीतिबाटै उक्त व्यवस्था गरिदिन होटल संघ नेपालको पाँचतारे र चारतारे होटल उपसमितिले जोडदार माग गरेका छन् ।

नेपालमा सञ्चालित अधिकांश होटलहरुले अहिलेसम्म अन्तर्राष्ट्रिय बुकिङ वेबसाइटहरुबाट आउने बुकिङको कमिसन, सदस्यता शुल्क, प्रचार खर्च वापतको रकम वाणिज्य बैंकहरुमार्फत भुक्तानी गर्ने गरिएको र यसका लागि डलर खर्च हुने भएकोले होटलको लागि पनि टपअपको सुविधा दिन माग गरिएको हानमार्फत पाँचतारे होटलहरुको संयोजनकर्ता प्रविन पाण्डेले बताए । उनका अनुसार होटलको डलर खाता प्रयोग गर्न विभिन्न निकायहरुको अनुमति तथा सिफारिस प्राप्त गर्नूपर्ने र सो प्रक्रियामा समय लाग्ने गरेको छ ।

यसले गर्दा होटलहरुलाई भुक्तानी गर्न सहज हुने गरी, होटलको स्तर हेरी अमेरिकी डलर १० हजारसम्म टपअप गर्न मिल्ने होटलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेटिड कार्ड उपलब्ध गराइदिनुपर्ने माग पनि गरिएको पाण्डेले बताए ।

होटलहरुले यस्तो रकम पुनः टपअप गर्नुपर्ने समयमा सो कार्डबाट हुन गएको सम्पूर्ण बिल, रिजर्भ, भ्याट, टीडीएस, भुक्तानी तथा अन्य सबै आवाश्यक कागजातहरु सहितको विवरण होटलले प्रमाण सहित उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गरेको छ । यसले होटलमा आउने अन्तर्राष्ट्रिय ग्राहकहरुसँग आर्थिक कारोबार गर्न सहज हुने पनि उल्लेख छ ।

सरकारले नेपालमा विदेशीलाई बोलाउने तर खर्च गर्न नदिने उल्टो नीति लिएको होटल मेची क्राउनका प्रवन्ध निर्देशक बलराम सापकोटाले बताए । उनले भने ‘नेपालमा पर्यटक आउँदा नगदन ल्याउँनै पाइदनै । जम्मा २५ सय डलर मात्रै ल्याउन पाइने व्यस्था कमजोर र फितलो भयो ।’ सीमा क्षेत्रबाट पनि विदेशी आउनै नपाउने र भारतीयले पनि नगद बोकेर आउने नपाउने व्यवस्थाका कारण सरकारले पर्यटक बोलाउने र खर्च गर्न नदिन उल्टो नीति लिइरहेको भन्दै आलोचना गरे ।

होटल संघ नेपाल (हान)ले आगामी मौद्रिक नीतिमार्फत अधिकांश होटलहरुको देश विदेशबाट बुकिङ ओटीए प्लाटफर्म मार्फत आउने गरेकोले उक्त प्लाटफर्मबाट भारतीय तथा नेपाली नागरिकहरुले बुकिङ गर्ने गरेको बताएको छ । यस्तो बुकिङ वापतको रकमको भुक्तानी आ–आफ्नो मुद्रामा गर्ने गरेको तर उक्त प्लाटफर्मलाई कमिसन डलरबाट गर्नुपर्ने बाध्यता रहेकोमा यसको समाधान गरिनुपर्नेमा माग गरेका छ ।

हानले बैंक तथा वित्तीय संस्थाले पर्यटन व्यवसायलाई विशेष प्राथमिकतामा राखेर प्रदान गरिने कर्जामा बेस रेटमा एक प्रतिशतभन्दा नबढ्ने गरी व्याज कायम गर्दै प्रोत्साहन नीति लिँदा यस क्षेत्रको आर्थिक स्थिति सुध्रिने अपेक्षा समेत गरेको छ ।

मौद्रिक नीतिमार्फत नै कर्जाको पुनर्सरचना/पुनर्तालिकीकरण गर्दा कर्जा र पुँजीको रेसियो तोकेको अवस्थाभन्दा कम हुन गएमा सपयावधि बढाई कम्तीमा पनि तीन वर्षभित्र सो रेसियो पूरा गर्ने शर्तमा कर्जा पुनर्संरचना/पुनर्तालिकीकरण गर्ने ब्यवस्थाका लागि अनुरोध गरिएको पनि हानले नेपाल राष्ट्र बैंकलाई दिएको मौद्रिक नीतिको उक्त सुझावमा उल्लेख छ ।

भारतीय पर्यटकबाट १०० रुपैयाँ भारु भन्दा माथिको नोट नेपालमा सटही नहुने हुँदा भारतीयलाई समस्या परेको छ । यस्तो अवस्थामा १ सय भन्दा माथिका नोट बैंक मार्फत हुने कारोबारमा स्वीकार गर्न दिनुपर्ने माग पनि हानको छ । भारतीय पर्यटकहरुले नेपाल भ्रमणमा आउँदा २५ हजार भारुको सीमालाई बढाएर १ लाख रुपैयाँसम्म भारु बनाउनसमेत हानले सुझाव दिएको छ ।

हाल क्रेडिट कार्डमा लाग्ने ३ प्रतिशत कमिसन धेरै भएकोले यसलाई घटाउनुपर्ने माग पनि हानको छ । हानले क्यासिनोका लागि नेपाल भित्रिने भारतीय पर्यटकहरुलाई खर्च गर्ने सीमा तोकिनु नहुने गरी खर्च गर्ने दायरा बढाउने माग पनि गरेको छ । हाल खर्च सीमा तोकिकएकै कारण नेपालमा भारतीयले पैसा नै ल्याउन नपाएको दुखेसो होटल व्यवसायीले गरेका छन ।


क्लिकमान्डु