डिप्रेसनको शिकार बनेपछि फुरेको ह्याप्पी माइन्ड्सले श्रीया बनिन् फोर्ब्सको प्रभावशाली युवा



म काठमाडौंमै जन्मिएर हुर्किएकी हुँ । जेम्स स्कुलमा पढें । कलेज चाहिँ चेल्सीबाट ए लेभल गरेको । स्कुलमा खासै राम्रो ‘ब्राइट स्टुडेन्ट’ थिइनँ । म्याथ, साइन्स बच्चैदेखि गाह्रो लाग्थ्यो । ब्याचलर गर्न थालेपछि विस्तारै फरक खालको ढाँचाले पढाइमा सुधार हुँदै गयो ।

फोर्बस्ले इनलिस्ट गरेपछि खुसी लागेको छ, धन्य महशुस गरेकी छु । आफूले गरेको काम प्रमाणित भए जस्तै लागेको छ । आफन्त, साथीभाइसहित धेरै ठाउँबाट एकैपटक फोन आउन थाल्यो । धेरैको आकर्षणमा परेँ जस्तो लागेको छ । फोर्ब्सको अवार्डले मलाई व्यक्तिगतरुपमा भन्दा पनि ‘मेन्टल हेल्थ’ क्षेत्रले जुन खालको समर्थन पायो छ यसका लागि म धेरै खुसी छु । यस क्षेत्रमा मेरो पहलले पनि काम गर्‍यो । यसका लागि म धन्य र खुसी छु ।

कोरोना महामारीले ह्याप्पी माइन्ड्सको जन्म

कोरोना महामारीको बेला लन्डनमा एक्लै हुँदा आफैं पनि एक्लै संघर्ष गरेँ । डिप्रेसन, एन्जाइटी, फोन इडिक्सनले मलाई निकै सताएको थियो । हिलिङको लागि सहायता खोजेँ कतै पनि पाइनँ । त्यस्तो अप्ठेरोमा मान्छेहरुबाट सहायता नपाउँदा एक किसिमको ‘इगो हर्ट’ पनि भयो । जतासुकै नेगेटिभ न्युज, मृत्यु र फोन इडिक्सनले धेरै नै त्रसित बनाउँथ्यो । मलाई त डिप्रेसन र एन्जाइटी पनि भएको रहेछ । त्यसबेलाको असर म अहिले पनि भोगिरहेको छु । ३ वर्षदेखि अहिलेसम्म थेरापीमै छु ।

महामारी सकिने बेला अब नेपालमै ममी बाबासँग बस्नुपर्छ भन्ने सोचेर लन्डनबाट नेपाल फर्किएँ । नेपाल फर्किएपछि पनि अवस्था सामान्य भइसकेको थिएन । त्यस घटनाबाट मैले के सिकेँ भने, यस्तो समस्या चाहिँ अरुलाई नहोस् । त्यसैपछि मैले अब मेन्टल हेल्थ सम्बन्धी केही काम गर्छु भनेर एउटा टिम बनाएर सुरुवात गरेको हुँ ।

काम गर्दै जाँदा युएनडीपीको युथ कोल्याब हबबाट तालिमहरु लिने मौका पाएँ । सामाजिक रुपमा प्रभाव पार्ने व्यवसाय के छन् र युवा उद्यमीहरु को को छन् भनेर उहाँहरुले खोजी गर्नुभएको थियो । मेन्टल हेल्थको क्षेत्रमा नेपालमा यसरी काम गर्ने धेरै मानिस वा समूह नभएको अवस्थामा हामीले गरेको काम नयाँ र सिर्जनात्मक पनि भयो ।

यससँगै हामीले मानसिक स्वास्थ्य सेवालाई समावेशी बनाउने कोसिस गर्‍यौं । जुन कुरा युएनडीपी र काठमाडौं महानगरपालिकालाई पनि मन परेर ‘सिड फन्डिङ’को व्यवस्था गरिदिनुभयो । र उहाँहरुकै सल्लाह अनुसार यस्तो प्रकृतिको स्टार्टअप र सेवा चाहिएको भनेपछि फोर्ब्समा छनोट भएको हो ।

ह्याप्पी माइन्ड्स नै किन ?

विश्वभर नै मेन्टल हेल्थ सम्बन्धी स्टार्टअप नै राम्ररी आइसकेका छैनन् । विदेशमा छन् तर नेपालको सन्दर्भमा यसका लागि उचित वातावरण छैन । मेन्टल हेल्थ स्टार्टअप आफैं पनि धेरै छैनन् । र हामी चाहिँ यसमा पनि समावेशीमा जोड दिन्छौं । हाम्रो कामलाई हामी इन्क्लुसिभ मेन्टल हेल्थ प्लाटफर्म भन्छौं ।

ह्विलचेयरमा आउने बिरामीदेखि सबै समूह, वर्गका मानिस हाम्रो सेवाबाट लाभान्वित हुनुहुन्छ । हप्ताको सातै दिन सेवा दिन्छौं । सबै ठाउँमा शारीरिकरुपमा मनो परामर्शदाता पुग्न नसक्दा अनलाइनबाट प्रभावकारीरुपमा हामी परामर्श र सेवा दिन्छौं ।

यसवाहेक नेवारी भासासहित विभिन्न मातृ भासामा पनि हामीले परामर्श दिँदै आएका छौं । यसैले पनि हामीलाई समावेशी बनाएको छ । साथै म आफैं ३० वर्षमुनिको युवाले यो संस्था नेतृत्व गरेकाले यो अवार्डका लागि म योग्य छु जस्तो लाग्छ । उहाँहरुले मलाई एक प्रेरणादायी युवाको रुपमा विश्वास गर्नुभएको हो । मेरो विश्वास पनि यही हो ।

यद्यपि हामीजस्तै सेवा दिने अन्य व्यक्ति र समूह पनि हुनुहुन्छ । तर म व्यवस्थापनबाट आएकोले सेवालाई फरक तरिकाले विस्तार गर्न हामी सफल भयौं जस्तो लाग्छ । यसमा मैले प्रभावकारी व्यवस्थापकीय भूमिका खेलेँ जस्तो लाग्छ । विशेषगरी नेपालका विभिन्न कम्पनी वा कार्यालयहरुमा पनि मेन्टल हेल्थको महत्व र सेवालाई विस्तार गर्न हामी सफल भयौं ।

यसबीचमा हामीले डाबर, कोकाकोला वर्ल्डलिङक लगायत ठूला कर्पोरेट कम्पनीमा काम गर्नेदेखि स्टाफदेखि उच्चस्तरीय सरकारी कर्मचारी गरी ४० हजारभन्दा धेरै पेशाकर्मीहरुलाई मेन्टल हेल्थको वर्कसप र परामर्श दिएका छौं । मैले मनोविज्ञान पढेको त हैन । तर स्वअध्ययन गरेँ । मेन्टल हेल्थको उपचारका लागि आफैं संघर्ष गरेँ । यसले मलाई धेरै सिकायो ।

बिजनेस म्यानेजमेन्ट पढेकाले मेन्टल हेल्थको अनुभव र विश्वविद्यालयको पढाइलाई एकीकृत गर्दा सजिलो भयो । मैले धेरै नजिकैबाट आत्महत्या नियालेको छु । आफैं पनि डिप्रेसनविरुद्ध संघर्ष गरिरहेकी छु । यो नमिठो अनुभवले अहिले सेवाको क्षेत्रमा पनि काम गर्न सिकाएको छ । यस्तो पीडा पहिलो पटक भोगेँ । औषधि खाँदा त्यसको असर भोगेँ । सुरुमै राम्रो चिकित्सककहाँ पुगिन । त्यसैले औषधिको पनि रियाक्सन हुने रहेछ । एकदमै गाह्रो भयो । यसबाट मुक्ति पाउन संघर्ष गरेँ मैले ।

कति मान्छेले सेवा लिए ?

३ वर्षको अवधिमा ७ प्रदेश र २७ राष्ट्र गरेर हामीले ५७ हजार नेपालीलाई प्रत्यक्ष सेवा सेवा दिइसकेका छौं । विशेषगरी वैदेशिक रोजगारमा जाने नेपालीका लागि पनि हामीले प्रभावकारी काम गरेका छौं । यद्यपि समग्र नेपालमा कति मानिस मानसिक समस्याबाट प्रभावित छन् भन्ने तथ्यांक छैन । तर हरेक दिन १९ जनाले आत्महत्या गरेको तथ्यांकले के भन्छ भने यो समस्या हरेक दिन गहिरिँदै छ । यसको जोखिममा पर्ने मानिसको संख्या सोचेभन्दा धेरै नै हुनसक्छ ।

कतिपय त धेरै वर्षसम्म समस्या लुकाएर सहनै नसक्ने भएपछि मात्रै आउने गर्नुहुन्छ । ९/१० वर्ष पुरानो समस्या लिएर पनि मान्छेहरु आउने गर्नुभएको छ । उहाँहरु समस्या थाहा हुँदा हुँदै पनि भन्न सकिरहनु हुँदैन । कतिले त आफू समस्यामा भएकै पनि थाहा पाउनुहुन्न । केहीले त सानै उमेरमा यस्तो समस्या भएको थियो अहिले पनि त्यसले सताएको छ भनेर पनि आउनुहुन्छ।

त्यसो त नेपाली समाजले माओवादी युद्ध, भूकम्प जस्ता ठूला हिंसात्मक घटनाको सामना गर्नुपर्‍यो । घरेलु हिंसा, यौन शोषण, बलात्कार लगायतका घटना हरेक दिन भइरहेकै सुनिन्छ । यस्ता घटना पछिल्लो समय चुनौतीको रुपमा देखिएका छन् । पछिल्लो तथ्यांक हेर्दा नेपालमा सबैभन्दा धेरै आत्महत्याका घटना हुने जिल्लाको रुपमा इलाम रहेछ । यद्यप सहरी क्षेत्रमा पनि यो समस्या बढिरहेकै छ । हामीले सरसर्ती खोजी गर्दा के भेटियो भने इलाममा पर्याप्त उज्यालो मौसम नहुनु र वैदेशिक रोजगारीले पनि मानिस एक्लोपनको शिकार बन्न पुगिराखेको अवस्था छ । यसरी हेर्दा एक्लोपन, सम्बन्धमा समस्या, पारिवारिक बिछोड, द्वन्द्व लगायतका समस्या धेरै रहेको पाइन्छ ।

विदेशमा रहेका नेपालीको अवस्था पनि उस्तै

विदेशमा हुने नेपालीहरुले पनि मानसिक समस्याको असर भोगिराखेको अवस्था छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुसँग सम्पर्क गर्दा कोठाभित्रै अधिकांश समय बिताउनुपरेको समस्या सुनाउनुहुन्छ । जापानमा रहेका नेपाली समूहलाई हाम्रो टीमले हालसालै थेरापी गराएका थियो । त्यहाँको अवस्था के रहेछ भने कोठाभित्रै बस्नुपर्ने । समस्या भए पनि अस्पतालमा अपोइन्टमेन्ट लिन धेरै समय कुर्नुपर्ने । र अर्कोतर्फ भासाको पनि उस्तै समस्या । यसरी हेर्दा हामीले अनलाइनबाटै उहाँहरुलाई ओछ्यानमै रहेको अवस्थामा परामर्श दियौं ।

विदेशमा रहेका नेपालीहरुलाई सेवा दिनका लागि अनलाइनको माध्यम निकै सजिलो पनि हुने रहेछ । आफ्नै भासामा सजिलै परामर्श लिन पाउँदा उहाँहरु पनि लाभान्वित हुनुहुन्छ । पछिल्लो समय कुनै देशबाट आफैं परामर्शका लागि आग्रह गरिराख्नुभएको छ । पछिल्लो २ महिनाको अवधिमा कोरिया, युएइ, पोल्यान्ड र जर्मनीबाट धेरैले मनो परामर्शको आग्रह गर्नुभएको छ । महिनामा प्रत्येक देशबाट कम्तीमा १० जनाले परामर्शका लागि आग्रह गर्नुहुन्छ । एक जनाले सेवा लिइसकेपछि अन्य साथीहरुलाई सुनाउँदा धेरैसम्म हाम्रो सेवा पुगेको छ ।

हाम्रो पहल

मानसिक समस्याका अनेक रुप हुन्छन् । जे हो त्यो नदेख्ने र जे हैन त्यसमा विश्वास गरेर बस्ने अवस्थाले हामी धेरैलाई कुनै न कुनै रुपमा सताएकै छ । हाम्रा छिमेकी र आम समाजलाई नै यसले कुनै न कुनै रुपमा सताएको छ । अहिलेसम्मको हाम्रो अनुभवले के भन्छ भने जतिसुकै राम्रो कम्पनीमा जतिसुकै उपल्लो स्तरको कर्मचारी भए पनि मेन्टल हेल्थको इस्यु भने साझा नै रहेको पाइन्छ । प्राय सम्बन्धको समस्या, द्वन्द्व, पारिवारिक बिछोड, एक्लोपन जस्ता समस्या कुनै धनी वा गरिब सबैका लागि उस्तै हुने रहेछ ।

यसैले हामीले अहिलेसम्म कुनै जिल्ला, क्षेत्र वा समूहलाई आधार बनाएर योजना बनाएका छैनौं । योजनाबिना नै काम गरिरहँदा टार्गेटभन्दा धेरै समूहसम्म पनि हामी पुगिराखेका छौं । र अपेक्षा नगरेकै ठाउँबाट पनि हाम्रो माग भइराखेको छ । यद्यपि कामकाजी जागिरेहरु र आमाहरुसम्म पुग्नुपर्छ भनेर ध्यान केन्द्रित गरेका छौं । हरेक आमा र टिनएजरहरुलाई सचेतमात्रै बनाउन सक्यौं भने धेरै नै परिवर्तन हुन्छ । समस्या परेपछि मात्रै उपचारभन्दा पनि सचेत बनाउनु पनि आफैंमा एक महत्त्वपूर्ण पहल हो ।

सरकारी क्षेत्रको पहल

हामीले मात्रै प्रयत्न गरेर सबै समस्या समाधान हुँदैन । समुदायको सहयोग र सरकारी निकायको पहल आवश्यक छ । हामीले काठमाडौं महानगर र युएनडीपीको सहयोग पाए पनि अन्य सरकारी स्वास्थ्य क्षेत्रबाट उचित सहयोग पाएका छैनौं । र अहिलेसम्म अपेक्षा पनि गरेनौं । तर के भन्न सकिन्छ भने सरकारी निकायले यसमा धेरै नै काम गर्न सक्छन् ।

सरकारले देशभर प्रत्येक वडामा कम्तीमा एउटा मेन्टल हेल्थ पोस्ट राख्ने हो भने यसले प्रभावकारी भूमिका खेल्नसक्छ । त्यसबाट समुदायस्तरमा सचेतना र निशुल्क स्वास्थ्य सेवा दिनुपर्छ । सरकारले वार्षिक रुपमा जति बजेट छुट्याएको हुन्छ त्यसको १ प्रतिशतभन्दा थोरै बजेट मेन्टल हेल्थका लागि दिइएको हुन्छ । गत वर्षको तथ्यांक हेर्ने हो भने सरकारले त्यो बजेटबाट पनि मेन्टल हेल्थ रिसोर्सेसलाई राम्ररी उपयोग गर्न नै सकेको देखिएन । सायद सरकारको प्राथमिकतामा नै परेको छैन ।

तर समुदाय स्तरमा सचेतना र निशुल्क सेवा दिनेगरी काम गर्ने हो भने हामी सरकारलाई साथ दिन र सहकार्य गर्न तयार छौं । उपचार गर्नु मात्रै समाधान हैन । सचेतना पनि यसको महत्त्वपूर्ण काम हो । यति काम गर्न सरकारले अहिले छुट्याएकै बजेट पनि पर्याप्त हुनसक्छ । तर यसका लागि विभिन्न सम्बन्धित मानिस र समूहलाई समावेश गरेर छलफल गरेर आवश्यकता के छ भन्ने थाहा हुन्छ । हामीले भने हरेक महिना चिया गफ विथ मेन्टल हेल्थ भनेर सानो प्रयास गरिराखेका छौं । यसमा सहभागीहरुले आफ्ना समस्या र त्यसका उपायबारे छलफल गर्न सक्नुहुन्छ ।

अनलाइन सेवा प्रभावकारी

हामीले सुरुदेखि नै अनलाइनबाट सेवा सुरु गरेको हौं । प्रत्यक्ष भेटेर सेवा लिन्छु भन्ने आग्रह हुन थालेपछि अफिस राखेका हौं । हाम्रो अनुभव के छ भने मानिसहरु यहाँ आएर भन्दा पनि अनलाइनबाटै सहज महसुश गर्नुहुने रहेछ । हामीसँग अनलाइनबाट सेवा लिन चाहनेहरु ७० प्रतिशत हुनुहुन्छ । अनलाइनबाट सेवा लिँदा कसैले पनि नदेख्ने । घरमै बसेर कुरा गर्न मिल्ने भएकाले सहज महसुस हुने रहेछ । यसरी सेवा लिनेमा ठूला कम्पनीका सीईओदेखि सेलिब्रिटीहरु पनि हुनुहुन्छ । एउटा केस त कस्तो पनि थियो भने आइएनजीओमा काम गरेका अभिभावक हस्पिटल लैजाँदा अरुलाई थाहा हुन्छ भनेर छोराछोरीलाई हामीकहाँ ल्याउनुभएको थियो ।

युवाहरुलाई सन्देश

मानसिक समस्याको सिकार हुनुभन्दा पहिले कसैले पनि आफ्ना समस्या गुम्स्याएर वा लुकाएर नराख्नुहोला । तपाइँको सानो खुसी सुनेर तपाइँको नजिकको साथी उत्साही हुनसक्छ । आफ्ना भावना र गुनासोहरुलाई लुकाउँदै जाँदा पछि ठूलो रुप लिनसक्छ । त्यसैले ढिलो नगरिकन मनलाई सकारात्मक र खुला बनाउँ । मनमा कुराहरु गुम्साएर नराखौं ।

स्टार्टअपको सन्दर्भमा कुरा गर्दा विदेश जाने मात्रै उपाय हैन । नेपालमा कुन क्षेत्रमा आवश्यकता छ भनेर पत्ता लगाउनुभयो भने त्यहाँ अवसर पनि छ भनेर सकारात्मक रुपमा सोच्न सक्नुहुन्छ । यस्ता स्टार्टअप सुरु गर्नका लागि पैसा चाहिँदैन त म भन्दिनँ । तर मेरो अनुभवको कुरा गर्दा मैले जिरो लगानीबाट यो स्टार्टअप सुरु गरेको हुँ । यथार्थ के हो भने कुनै पनि स्टार्टअपका लागि पैसा पनि चाहिन्छ तर पैसामात्रै भएर हुँदैन । पैसाभन्दा धेरै प्यासन चाहिन्छ ।

अमेरिकाबाट प्रकाशित हुने विश्वप्रसिद्ध बिजनेस म्यागजिन फोर्ब्सले संसारभर विभिन्न क्षेत्रमा काम गर्ने प्रेरणादायी तथा प्रभावशाली मानिसहरुको नाम सार्वजनिक गर्दैआएको छ ।

(क्लिकमान्डुका लागि रमन पौडेलले गरेको कुराकानीमा आधारित)

फोटो/भिडियो: रवि धिताल


क्लिकमान्डु