फोर्ब्स ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा नेपाली युवती श्रीया



काठमाडौं । काठमाडौंकी श्रीया गिरी एसिया क्षेत्रभर ३० वर्षमुनिका प्रभावशाली युवाहरुको फोर्ब्सको सूचीमा परेकी छन् । बेलायतको साउथ बैंक युनिभर्सिटीबाट इन्टरनेश्नल बिजनेस म्यानेजमेन्टमा डिग्री गरेर नेपाल फर्किएकी गिरीले ललितपुरस्थित मानसिक स्वास्थ्य सम्बन्धी ह्याप्पी माइन्ड्स नामक संस्था सञ्चालन गर्दै आएकी छन् ।

कोरोना महामारीको क्रममा गिरीले आफ्नो अध्ययनलाई व्यवहारमा उपयोगी बनाउनेबारेमा सोचेको बताएकी थिइन् । ह्याप्पी माइन्ड्सले मेन्टल हेल्थ सम्बन्धी समूहगत कार्यशालासँगै व्यक्तिगत रुपमा अनलाइन र प्रत्यक्ष रुपमा परामर्श दिने काम गर्दै आएको छ ।

ह्याप्पी माइन्ड्सले युनिलिभर नेपाल, लिपफ्रग र ब्रिटिश कलेज जस्ता संस्थाहरुसँग मिलेर रोजगार सहायता कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत ती संस्थाका कर्मचारीहरुलाई मनोवैज्ञानिक पराशर्म दिने काम गरिन्छ । गिरीको ह्याप्पी माइन्ड्स यसअघि २०२२ मा सार्क देशहरुको बेस्ट न्युकमरमध्येलाई दिइने स्टार्टअप अवार्डबाट सम्मानित भएको थियो ।

ह्याप्पी माइन्ड्समा विश्वभरका ३० भन्दा धेरै मानसिक स्वास्थ्य वा परियोजना सम्बन्धी व्यक्ति आवद्ध छन् । जसले शारीरिक तथा मानसिक रुपमा स्वस्थ जीवनका लागि डिजिटल मेन्टल हेल्थ साक्षरता तथा मनोपरामर्श सेवा दिँदै आएका छन् ।

फोर्ब्सले हरेक वर्ष सिर्जनात्मक उद्यम तथा योजना मार्फत समाजमा सकारात्मक प्रभाव पार्ने एसियाका प्रभावशाली युवाहरुमध्येबाट ‘अन्डर ३० सोसल इम्प्याक्ट’ छनोट गर्दै आएको छ ।


क्लिकमान्डु