जलविद्युतपछि प्रसारणलाइनमा कोरियाको चासो, ५३ अर्ब लगानी गर्दै



काठमाडौं । जलविद्युत् आयोजनापछि कोरिया नेपालको प्रसारण प्रणालीमा लगानी गर्न इच्छुक देखिएको छ ।

एक्जिम बैंक अफ कोरिया नेपालको प्रसारण प्रणालीमा लगानीका लागि इच्छुक देखिएको हो । नेपालको प्रसारण प्रणालीमा लगानी गर्ने विषयमा एक्जिम बैंकका प्रतिनिधिहरुले अर्थ मन्त्रालयसँग छलफल समेत गरेका छन् ।

कोरियाले रसुवामा निर्माणाधीन अप्पर त्रिशुली-१ जलविद्युत आयोजनामा लगानी गरेको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियाली सरकारी स्वामित्व रहेको कोएन, विश्व बैंक अन्तर्गत रहेको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको लगानी रहेको छ ।

बुधबार दक्षिण कोरियाका राजदूत पार्क ताई योङले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा बोल्दै नेपालको प्रसारण प्रणालीमा लगानी गर्न तयार रहेको बताएका थिए । नेपाल विद्युत प्राधिकरणका ३ प्रसारणलाइन आयोजनामा लगानी गर्ने विषयमा एक्जिम बैंक अफ कोरियासँग छलफल भइरहेको हो ।

शितलापाटी-इनरुवा ४०० किलोभोल्ट (केभी), इनरुवा-अनारमनी ४०० केभी र तिङला-दुधकोसी-ढल्केबर ४०० केभी प्रसारणलाइनका अध्ययन पूरा भएको छ । प्राधिकरणले प्राथमिकताका आधारमा शितलपाटी-इनरुवा, इनरुवा-अनारमढी र दुधकोसी-ढल्केबरमा लगानी खोजिरहेको छ ।  

शितलपाटी-इनरुवा प्रसारणलाइन करिब ९४ किलोमिटर हुनेछ । यो प्रसारणलाइन १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि आवश्यक छ । अप्पर अरुण जलविद्युत आयोजनाको निर्माणको पूर्व तयारी भइरहेको छ । आगामी असारसम्म फाइनान्सियल क्लोजर गर्ने तयारीमा नेपाल विद्युत प्राधिकरण रहेको छ ।

इनरुवा-अनारमढी प्रसारणलाइन ९० किमीको हुनेछ । पूर्वमा ओद्योगिक करिडोरमा पर्याप्त बिजुली उपलब्ध गराउन आवश्यक छ । प्रसारणलाइनको अभावमा औद्योगिक क्षेत्रले गुणस्तरीय बिजुली पाउन सकेको छैन ।  भने यो प्रसारणलाइन बंगलादेश र भारतमा समेत बिजुली निर्यातका लागि समेत सहयोगी हुनेछ ।

तिङला-दुधकोसी-ढल्केबर प्रसारणलाइन ११० किमीको हुनेछ । यो प्रसारणलाइन सोलु करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न सहयोगी हुनेछ । सोलु करिडोरमा १३२ केभी प्रसारणलाइन रहेको छ । जसले उक्त करिडोरमा भविष्यमा उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउन सक्दैन ।  

शितलपाटी-इनरुवा प्रसारणलाइनको अध्ययन पूरा भएको छ । इनरुवा-अनारमनी प्रसारणलाइनको पनि लगभग अध्ययन सकिएको छ  भने दुधकोसी-ढल्केबरको अध्ययन अन्तिम चरणमा चलिरहेको छ ।

अरुण-इनरुवा-तिङला-मिर्चैया ४०० केभी प्रसारणलाइन आयोजना प्रमुख भुपेश श्रेष्ठले करिब एक वर्ष पहिले नै अर्थ मन्त्रालयसंग स्रोत मागिएको बताए । ‘एक वर्ष पहिले तीनवटै आयोजनाका  लगानी खोजेको हो । अर्थ मन्त्रालयसंग स्रोत मागेको हो,’ उनले भने,  ‘टावरहरु राख्ने जग्गा फिक्स गरिसकेका छौं । लगानीकर्ता फिक्स नभई काम अघि बढाउने कुरा भएन ।’  उनले कोरियन एक्जिम बैंक लगानीका लागि इच्छुक रहेको र अर्थ मन्त्रालयमा छलफल भइरहेक बताए ।

लगानी गर्ने निश्चित भएपछि तीनवटा छुट्टाछुटै आयोजना बनाउने तयारी छ । ‘आफैमा ४०० केभीका ठूला आयोजना भएकाले छुट्टा छुटै आयोजना बनाएर सँगसँगै निर्माण अघि बढाउनुपर्छ,’ श्रेष्ठले भने । निर्माण थालेको ४ वर्षमा पूरा गर्ने योजना छ ।

यी तीनवटा प्रसारणलाइन निर्माणका करिब ४०० मिलिमियन अमेरिकी डलर ( करिब ५३ अर्ब  २० करोड रुपैयाँ )लाग्ने अनुमान गरिएको छ । विद्युत प्राधिकरणका प्रसारणलाइन निर्देशनालय प्रमुख दीर्घायु कुमार श्रेष्ठले पनि प्रसारणलाइनका लागि कोरियनले ४०० मिलियन लगानी गर्ने विषयमा छलफल भएको छ ।

नेपालमा विद्युत उत्पादन बढ्दो भए पनि प्रसारणलाइनमा सरकारले ध्यान दिन सकेको छैन । उत्पादनमा निजी क्षेत्रलाई समावेश गरिएको भए पनि प्रसारणलाइन सरकारले मात्रै बनाइरहेको छ । अत्यन्त पूरानो प्रणाली रहेका कारण गुणस्तरीय बिजुली प्रवाह हुन सकेको छैन । प्रसारण प्रणालीमा ध्यान नदिने हो भने पर्याप्त बिजुली हुदाँ हुँदै पनि लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।


दिनेश खड्का