आफू सहभागी कार्यक्रममा नआएको भन्दै सचिवलाई ऊर्जा राज्यमन्त्रीले सोधे २४ घण्टे स्पष्टीकरण

567
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू अतिथि रहेको कार्यक्रममा उपस्थित नभएको भन्दै ऊर्जा सचिवलाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेका छन् ।

गत सोमबार सिँचाइ दिवसको अवसरमा आयोजित कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यलाई मञ्चमा आसन ग्रहण गर्न बोलाइएको भए पनि उनी उपस्थित नभएको भन्दै राज्यमन्त्रीले असन्तुष्टि जनाउँदै स्पष्टीकरण सोधेका हुन् ।

राज्यमन्त्री तामाङले ऊर्जा सचिवलाई काटेको स्पष्टीकरणपत्रमा भनिएको छ, ‘राज्यमन्त्री सहभागी कार्यक्रममा सहभागी हुन नचाहने अभिव्यक्ति दिनु, पदीय आचरण नदेखाउनु र सचिव पदको गरिमा विपरीत व्यवहार गर्नु अनुशासनहीनता हो । यस आधारमा तपाईँलाई अनुशासनको कारबाही किन नगर्नु पर्ने हो भन्ने स्पष्ट पार्नुहोस्।’

राज्यमन्त्री तामाङले ऊर्जा सचिवलाई कसको प्रभावमा पूर्वाग्रही सोच राखेको भन्दै प्रश्न गरेका छन् । पत्रमा भनिएको छ, ‘तपाईँले कसको प्रभावमा वा पूर्वाग्रही सोचका आधारमा विभागीय मन्त्रीको उपेक्षा गर्दै कार्यक्रममा नजानु भयो ? यसको जवाफ २४ घण्टाभित्र पेश गर्नुहोस् ।’

Skip This