९ वर्षअघि दिपेश थिए मैत्रेय सहकारीमा कोषाध्यक्ष, जिबीसँगको सम्बन्ध पनि पुरानै



काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा मुछिएका दिपेशकुमार पुन र जिबी राईको संलग्नता ९ वर्ष अघिदेखि रहेको पाइएको छ ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका माओवादी केन्द्रको विद्यार्थी संगठनका महासचिव दिपेशकुमार पुन र राईको सम्बन्ध २०७२ सालदेखि रहेको पाइएको छ ।

सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङका अनुसार राई र पुनको सम्बन्ध २०७२ साल देखि रहेको छ ।

२०५७ सालमा स्थापना भएको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको संरक्षक जिबी राई रहेका थिए । २०५७ सालमा स्थापना भएपनि २०७२ सालसम्म उक्त सहकारी संस्था नवीकरण मात्रै गरिएको र त्यसपछि मा नियमित सञ्चालमा आएको अध्यक्ष गुरुङको भनाइ छ ।

मैत्रेय बचत तथा ऋण सहकारीमा राई अध्यक्ष र दिपेश कुमार पुन कोषाध्यक्ष रहेको र त्यो समयदेखि नै सहकारीमा यी दुईको सहकार्य रहेको अध्यक्ष राईले जानकारी गराएका छन् ।

‘२०७२ सालतिर मैत्रेय बचत तथा ऋण सहकारीका पूर्व पदाधिकारी तथा संरक्षक गितेन्द्र बावु (जिबी) राई र दिपेश कुमार पुनले मलाई सम्पर्क गरी नयाँ सहकारी दर्ता गर्न हाललाई नमिल्ने रहेछ । तपाईहरुको सहकारी निष्क्रिय रहेछ हामीहरुलाई सहकारीको सेयर सदस्य बनाउनु हामी सहकारी संचालन गर्दछौ भनेकोले मैले मेरो सहकारीका साथीहरुसँग सल्लाह गरेपश्चात साथीहरुले सहकारी संचालन गर्न पनि सकिएन, चलाउछन् भने चलाउन दिने भन्ने कुरा भएको हुँदा सोही अनुसार बैठक बसी गितेन्द्र बाबु राई समेतलाई हाम्रो मैत्रेय वचत तथा ऋण सहकारी संस्थाको सेयर सदस्य बनाउने र सहकारी संचालन गर्न दिएको हो,’ उनले प्रहरीसँगको वयानमा भने ‘राईले आफु सहकारीको अध्यक्ष, म ओम प्रकाश गुरुङ्ग उपाध्यक्ष र गितेन्द्र बाबु राईका आफ्ना मानिसहरु मध्येका राजु वराल सचिव, दिपेश कुमार पुन कोषाध्यक्ष, सुरज श्रेष्ठ, देवेन्द्र बाबु राई र भुपेन्द्र राई सदस्य भई संचालन गर्ने निर्णय भएको थियो ।’

उक्त सहकारी संस्थाको नाम परिवर्तन गरी सुप्रिम वचत तथा ऋण सहकारी संस्था नाम राखि दर्ता नं. मैत्रेय वचत तथा ऋण सहकारी संस्थाको दर्ता नं. १४२ (०५७/०५८) बाट नै सहकारी संचालन भई चलेको अध्यक्ष गुरुङले बताए ।

यस्तो छ सोमबार जिल्ला अदालत रुपन्देहीमा दायर भएको अभियोग पत्रमा सहकारीका अध्यक्ष गुरुङको बयान :

म समेतले २०५७ सालमा मैत्रेय बचत तथा ऋण सहकारी लि. जिल्ला रुपन्देही बुटवल रुपन्देही उ.म.न.पा वडा नं ८ मा सञ्चालन गरेका थियौं । सो समयका अध्यक्ष राजु गुरुङ्ग, उपाध्यक्ष माया गुरुङ्ग, सचिव म आफै, सदस्यहरु धन बहादुरु गुरुङ्ग, खड्क बहादुर गुरुङ्ग, पौ बहादुर गुरुङ्ग, फत्त बहादुर गुरुङ्ग समेतले मिलि सहकारीमा जनही रु २०,०००।– लगानी गरी सहकारी संचालन गरेका थियौं । पछि अध्यक्ष राजु गुरुङ्गको दुर्घटनामा मृत्यु भएपछि संस्थाका उपाध्यक्ष माया गुरुङ्गलाई अध्यक्ष वनाईएको थियो । उक्त सहकारी संचालन गर्न लगानी नभएकोले संस्था नविकरण गर्ने राख्ने मात्र भएको थियो ।

२०७२ साल तिर यस सहकारीका पूर्व पदाधिकारी तथा संरक्षक गितेन्द्र बावु राई (जि. वि. राई) र दिपेश कुमार पुनले मलाई सम्पर्क गरी नयां सहकारी दर्ता गर्न हाललाई नमिल्ने रहेछ तपाईहरुको सहकारी निष्क्रिय रहेछ हामीहरुलाई सहकारीको सेयर सदस्य वनाउनु हामी सहकारी संचालन गर्दछौ भनेकोले मैले मेरो सहकारीका साथीहरुसँग सल्लाह गरेपश्चात साथीहरुले सहकारी संचालन गर्न पनि सकिएन चलाउछन् भने चलाउन दिने भन्ने कुरा भएको हुँदा सोही अनुसार बैठक बसी गितेन्द्र वावु राई समेतलाई हाम्रो मैत्रेय वचत तथा ऋण सहकारी संस्थाको सेयर सदस्य वनाउने र सहकारी संचालन गर्न दिने कुरा गरेका र सोही अनुसार निज गितेन्द्र वावु राईले आफु सहकारीको अध्यक्ष, म ओम प्रकाश गुरुङ्ग उपाध्यक्ष र निज गितेन्द्र वावु राईका आफ्ना मानिसहरु मध्येका राजु वराल सचिव, दिपेश कुमार पुन कोषाध्यक्ष, सुरज श्रेष्ठ, देवेन्द्र वावु राई र भुपेन्द्र राई सदस्य भई निजहरुले संचालन गर्ने निर्णय भएको र उक्त सहकारी संस्थाको नाम परिवर्तन गरी सुप्रिम वचत तथा ऋण सहकारी संस्था नाम राखि दर्ता नं. मैत्रेय वचत तथा ऋण सहकारी संस्थाको दर्ता नं. १४२ (०५७/०५८) बाट नै सहकारी संचालन भई चलेको थियो ।

पछि निजहरुले सहकारीको कार्य क्षेत्र विस्तार गर्ने कुरा भएको हुँदा पछि २०७६ सालमा रुपन्देही जिल्ला मसिना गा.वि.स.मा रहेको जय अम्वे बहुउद्देश्यीय सहकारी संस्थालाई एकिकृत गर्ने कुरा भएको र सोही अनुसार निर्णय गरी पहिला सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व पदाधिकारीहरुले नै संचालन गर्ने गरी उक्त जय अम्बे बहुउद्देश्यीय सहकारी संस्थासँग एकिकरण गरी बुटवल उ.म.न.पा. वडा नं. ९ मा रहने गरी एकिकरण भयो र सो पश्चात नयाँ संचालक समिति तयार भयो नयाँ संचालक समितिको अध्यक्ष म ओम प्रकाश गुरुङ्ग, उपाध्यक्ष असरफ अलि, सचिव दिपेश कुमार पुन, कोषाध्यक्ष सुरज श्रेष्ठ, सदस्य देवेन्द्र वावु राई, भुपेन्द्र वावु राई, दिनेश रोका, बुद्धि गुरुङ्ग र मझर मोहम्मद र लेखा समितिमा संयोजक भविश्वर अर्याल, सदस्य पौ बहादुर गुरुङ्ग र सदस्य ईन्दिरा बस्याल भई संचालनमा रहेको थियो ।

पछि यसको सेवा केन्द्र स्थापना गर्ने कुरा भएकोले सोही अनुसार भैरहवामा २०७८ सालमा सिद्धार्थनगर न.पा.वडा नं. ७ मा सुप्रिम वचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र संचालन गरीयो सो सेवा केन्द्रको प्रमुखको रुपमा दुर्गा चापागाई पाण्डेले काम गर्नुभयो । पछि कपिलबस्तुमा पनि सेवा केन्द्र खोल्ने कुरा भए पश्चात कपिलबस्तु जितपुरमा २०७९ मा सेवा केन्द्र संचालन भयो । सो सेवा केन्द्रको प्रमुख पनि सोही सहकारीमा कर्मचारी निरज गुरुङ्गले काम गर्नुभयो, सेवाकेन्द्र र प्रधान कार्यालयको व्यवस्थापक सागर के.सी.ले गर्नुहुन्थ्यो ।

सोही क्रममा २०७९ साल तिहारको समयमा वचत कर्ताहरुको रकम फिर्ता गर्न नसकेको कारणले गर्दा वचत कर्ताहरुले हो–हल्ला गरे सो दिन विदा भयो अर्को दिनदेखि तिहारको विदा शुरु भयो तिहारको विदा सकिए पछि सहकारी खुल्दा वचत कर्तालाई फिर्ता गर्ने रकम भएन, संचालक समितिहरुलाई र व्यवस्थापक सागर के.सी.लाई सम्पर्क गर्दा निजको सम्पर्क नभएको हँदा कारोवार के कसरी सहकारीको समस्या भएको हो त भनि बुझ्ने क्रममा फाईलहरु हेर्दा दिईएको लोन उपयुक्त धितो ग्यारेन्टी र विना कागजात लगानी गरेको देखियो सो लगानी गरेको रकम कानून बमोजिम असुल उपर गर्न सक्ने अवस्था नदेखिएको कारणले गर्दा सो रकम फिर्ता नभई वचत कर्ताहरुलाई रकम फिर्ता गर्न सकिएन केही मानिसहरुलाई निजहरुले लगेको लोनबाट मिलान हुने गरी वचत कर्ताहरुलाई मिलाउदै पनि गएका थियौँ ।

सुप्रिम वचत तथा ऋण सहकारी संस्था लि. को खातामा पहिला पूर्व अध्यक्ष गितेन्द्र वावु राई र व्यवस्थापक सागर के. सी. को दस्तखत चल्ने थियो भने पछि म अध्यक्ष भए पश्चात मेरो र व्यवस्थापक सागर के. सी. को दस्तखत चल्ने गरी खाता संचालनमा छ । प्रधान कार्यालय र सेवा केन्द्र भैरहवामा प्रधान कार्यालयको चेक नै प्रयोग हुन्थ्यो भने सेवा केन्द्र कपिलबस्तु जितपुरको लागि छुट्टै खाताको व्यवस्था छ सो खातामा मेरो दस्तखत चल्दैन, हिसाव किताबको सम्पुर्ण विवरण व्यवस्थापक सागर के.सी.लाई थाहा छ ।


क्लिकमान्डु