हाइटेक्स कार्पेटले ९ महिनामा गर्‍यो करिब एक अर्बको व्यापार

0
Shares

काठमाडौं । हाइटेक्स कार्पेटले आर्थिक वर्ष २०८२/८३ को ९ महिनाको अवधिमा करिब एक अर्ब रुपैयाँ व्यापार गरेको छ ।

कम्पनीले गत आवको ९ महिनाको अवधिमा ९३ करोड ८० लाख रुपैयाँ व्यापार गरेको हो । कम्पनीले सन् २०२५ मा १ अर्ब २ करोड ९० लाख रुपैयाँ र सन् २०२४ मा ९४ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो । कम्पनीको व्यापार गत आवमा ९ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीअनुसार गत आवमा कार्पेटको माग बढ्दा व्यापार बढेको उल्लेख छ । कम्पनीको सञ्चालन मार्जिनमा सुधार आएको छ । गत आवमा १२.४१ प्रतिशत सञ्चालन मार्जिन गरेको कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १८.४४ प्रतिशत गरेको छ ।
कम्पनीले हाइटेक्स सेन्थेटिक्स प्रालिसँग गरी कारोबार क्षमता बढाउने उल्लेख गरेको छ ।

कम्पनीले गत आवको ९ महिनाको अवधिमा २.९९ प्रतिशत खुद नाफा कमाएको छ । गत आवमा ०.५६ प्रतिशत नाफा कमाएको थियो ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले रङ र कार्पेट उत्पादन गर्दै आएको छ । कम्पनी नेपालको पहिलो कार्पेट उत्पादक कम्पनी हो । कम्पनीसँग वार्षिक ८० लाख स्क्वायर मिटर कार्पेट उत्पादन क्षमता छ ।

कम्पनीको पुँजी संरचना उच्च ऋणभारयुक्त रहेको छ । कम्पनीको गत आवको ९ महिनाको अवधिमा समग्र गियरिङ २.९० गुणा रहेको छ । गत आव २.४६ गुणा थियो । कम्पनीको ब्याज कभरेज अनुपातमा केही सुधार आएको छ ।

गत आवमा १.५० गुणा रहेकोमा गत आवको ९ महिनाको अवधिमा १.७७ गुणा रहेको छ । कम्पनीको कुल ऋण/कुल नगद सञ्चिति २१.३५ गुणा रहेको छ । गत आवमा ३५.८३ गुणा थियो ।

कम्पनीले उत्पादन गरेको कार्पेट अल्माया कार्पेट, पलिनो कार्पेट, रोयल कार्पेट, डाइनेष्टी कार्पेट, सुल्तान कार्पेट र अन्य विभिन्न ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले कार्पेट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ पोलिप्रोपिलेन धागो, पोलिस्टर स्पन धागो, जुटको धागो र नाइलन टर्की, बंगलादेश, चीन र भारतबाट आयात गर्ने गरेको छ ।

राठी ग्रुप र टिब्रेवाल ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १९ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८० करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।