दिपेश पुनको बयान: जीबी राई लगायतले हस्ताक्षर दुरुपयोग गरेर मलाई सचिव बनाए



फाइल तस्बिर

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका माओवादी केन्द्र निकटको विद्यार्थी संगठनका महासचिव दिपेशकुमार पुन सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पूर्वसचिव रहेको पाइएको छ । उक्त सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनले आफू जोगिनका लागि संस्थामा नाम समेत फरक रहेको भन्दै प्रहरीमा बयान दिएका छन् ।

तर, उनले सहकारीबाट प्रकृया पूरा नगरी ३ लाख पेस्की लिएको, सञ्चालक समितिको बैठकमा गएर ८ हजार ५ सय रुपैयाँ भत्ता लिएको पाइएको हो । तै पनि उनले आफूलाई फसाइएको भन्दै बयान दिएका छन् ।

सोमबार जिल्ला अदालत रुपन्देहीमा दायर भएको अभियोग पत्रमा पुनले आफ्नो नाम नमिलेको भन्दै आफूले कुनै रकम नलिएको बयान दिएको उल्लेख छ ।

बयानमा पुनले सहकारीले बोलाएको साधारण सभामा गएको र त्यहाँ भएको माइन्युटमा हस्ताक्षर गरेको र त्यही हस्ताक्षरलाई दुरुपयोग गरेर आफूलाई सचिव बनाएको दाबी बयानमा गरेका छन् ।

‘सभामा उपस्थित वक्ताहरुले सहकारीको बारेमा प्रस्तुत गरेको कुराहरुलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए । मैले पनि अतिथिको रुपमा उपस्थित भए पश्चात सहकारीको बारेमा मैले जाने बुझेसम्मको सकारात्मक धारणा नै प्रस्तुत गरेको थिए’ उनले बयानमा भनेका छन् ‘म अन्य कार्यक्रममा उपस्थित हुनको लागि कार्यक्रमम समापन नहुँदै बिदाभई निस्कने अनुरोध गरेकोमा मलाई अतिथिहरुको उपस्थितिको माइन्युट रजिष्टरमा हस्ताक्षर गरी निस्कन अनुरोध गरेकोले मलाई उपलब्ध गराइएको अतिथिको उपस्थित रजिष्टरमा हस्ताक्षत गरी म बिदा भई निस्केको हुँ ।’

उनले आफू सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा अतिथिको हैसियमा उपस्थित भई आफ्नो मन्तव्य दिई उपस्थितीको रजिष्टरमा हस्ताक्षार गरेकोसम्म आफूलाई याद भएको र अन्य कुराबारे जानकारी नभएको बताएका छन् ।

‘सचिवको वा अन्य के कसोमा हस्ताक्षार देखिएको हो मलाई याद भएन । कार्यक्रम सकिएको करिब २ महिनापछि संस्थाका कार्यकारीले मलाई फोन गरी तपाईंको आफ्नो प्रदेश र प्रदेशको राजधानी पनि भएको ठाँउ तपाईंको आफन्तहरु पनि बुटवलमा धेरै भएको हुँदा बुटवलमा सञ्चालित सुप्रिम वचत तथा ऋण सहकारी संस्था धेरै राम्रो र बुटवलकै स्थापित सहकारी सबैको आकर्षण रुपमा रहेको यस संस्थाका संरक्षक तथा पूर्वअध्यक्ष गितेन्द्र बाबु राई (जिबि राई) ले तपाईंलाई सचिवको रुपमा राखिदिनू भन्ने सिफारिसको आधारमा तपाईंलाई सचिवमा राखेका छौं भन्ने जानकारी गराएका थिए,’ बयानमा पुनले भनेका छन्।

पुनले आफूले कुनै रकम लिएको छैन भनेपनि अदालतमा दायर अभियोग पत्रमा २०७३ कात्तिक २९ गते ३ लाख रुपैयाँ नगद दिएको सहकारीमा भौचर भेटिएको उल्लेख छ । उनले उक्त रकम कुनै प्रकृया पूरा नगरी पेस्की लिएको पाइएको छ । यस्तै पुनले २०७६ असार ३१ गते सञ्चालक समितिको बैठकमा गएर भत्ता ८ हजार ५ सय बुझेको प्रमाण समेत फेला परेको छ ।

यस्तो छ उनले दिएको बयान

म बाल्यकालदेखि नै राजनीतिक र सामाजिक क्षेत्रमा व्यस्त र सक्रिय रहँदै आएको छु । देशमा राजनीतिक परिवर्तनसँगै २०७२ सालमा बनेको संविधानमा देशको तीन खम्बे आर्थिक नीति (सरकार, सहकारी र निजी क्षेत्र) को बारेमा अध्ययन गरेको थिएँ । सोही क्रममा सहकारीप्रति मैले अध्ययन गरेको जाने बुझेसम्म सकारात्मक रुपमा आत्मसाथ गर्दै नेपालको न्युन आर्थिक अवस्था वा कमजोर आय भएका ग्रामिण क्षेत्रमा छरिएर रहेका व्यक्तिहरुको आर्थिक जीवनस्तर बृद्धी गर्दै जनतालाई आत्मनिर्भर उद्यमशिल बनाउँदै आर्थिक र सामाजिक परिवर्तनको लागि सहकारीले सहयोग पुर्‍याउन सक्छ । यसका लागि सहकारी अभियानलाई अगाडि बढाउनु पर्छ । यसको लागि हामी जस्ता राजनीतिक, सामाजिक कार्यमा सक्रिय युवाहरुले प्रत्यक्ष,अप्रत्यक्ष रुपमा राम्रो सहकारी अभियानलाई साथ दिनु पर्छ भन्ने सकारात्मक धारणा रहँदै आएको थियो ।

यसै क्रममा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा मलाई युवा राजनीतिज्ञ, सामाजिक व्यक्तिको रुपमा अतिथिको रुपमा बोलाइएको थियो । उक्त कार्यक्रममा मैले सहकारी प्रति मेरो यही सकारात्मक धारणा अनुसार स्वीकार गरी सोही अनुसार अतिथिको तर्फबाट साधारण सभामा म पनि उपस्थित थिएँ ।

उक्त सहकारीको कार्यक्रममा प्रदेशका मन्त्री, जनप्रतिनिधिहरु, सरकारका अधिकारी जिम्मेवार व्यक्तिहरु सहकारी विभागका आधिकारीक प्रतिनिधिहरु, सामाजिक व्यक्तित्व, बुद्धिजिवीहरु लगायत साधारण सभामा उपस्थित थिए ।

उपस्थित वक्ताहरुले सहकारीको बारेमा प्रस्तुत गरेको कुराहरुलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए भने मैले पनि अतिथिको रुपमा उपस्थित भए पश्चात सहकारीको बारेमा मैले जाने बुझेसम्मको सकारात्मक धारणा नै प्रस्तुत गरेको थिएँ।
म अन्य कार्यक्रममा उपस्थित हुनको लागि कार्यक्रमम समापन नहुँदै बिदा भई निस्कने अनुरोध गरेकोमा मलाई अतिथिहरुको उपस्थितीको माइन्युट रजिष्टरमा हस्ताक्षर गरी निस्कन अनुरोध गरेकोले मलाई उपलब्ध गराईएको अतिथिको उपस्थित रजिष्टरमा हस्ताक्षत गरी म बिदा भई निस्केको हुँ ।

मैले उक्त सहकारीको रकम हिनामिना गरेको छैन, म एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको हुँदा अतिथिको रुपमा निमन्त्रणा गरेको हुँदा म सुप्रिम वचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा अतिथिको हैसियमा उपस्थित भई आफ्नो मन्तव्य दिई उपस्थितीको रजिष्टरमा हस्ताक्षार गरेको सम्म मलाई याद छ । अन्य कुराहरु मलाई याद भएन ।

सचिवको वा अन्य के कसोमा हस्ताक्षर देखिएको हो मलाई याद भएन । कार्यक्रम सकिएको करिब २ महिना पछि संस्थाका कार्यकारीले मलाई फोन गरी तपाईंको आफ्नो प्रदेश र प्रदेशको राजधानी पनि भएको ठाँउ तपाईंको आफन्तहरु पनि बुटवलमा धेरै भएको हुँदा बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी सस्था धेरै राम्रो र बुटवलकै स्थापित सहकारी सबैको आकर्षण रुपमा रहेको यस संस्थाका संरक्षक तथा पूर्वअध्यक्ष गितेन्द्र बाबु राई (जिबि राई) ले तपाईंलाई सचिवको रुपमा राखिदिनु भन्ने सिफारिसको आधारमा तपाईंलाई सचिवमा राखेका छौं भन्ने जानकारी गराएका थिए ।

मैले गितेन्द्र बाबु राई, अन्य परिवार र साथीभाईहरुसँग सल्लाह गरी खबर गरौला भनेको थिएँ । उक्त खबर पाए पश्चात मैले गितेन्द्रबाबु राई सँग यो विषयमा कुरा गर्नको लागि धेरै पटक सम्पर्क र भेट गर्न खोज्दा भेट हुन सकेन । मैले सहकारी दर्ता अधिकारीको कार्यालयमा मेरो नाममा सचिवको रुपमा नाम राखि पठाएका छन् भन्ने जानकारी पाए पश्चात मैले परिवार र साथी भाईहरु सँग सल्लाह गर्दा मलाई सबैले तपाईं राजनीतिक र सामाजिक कार्यमा सक्रिय हुने व्यक्ति भएको हुँदा तपाईलाई रुपन्देही स्थाई बासिन्दा पनि होइन र तपाईं कानूनत रुपन्देहीमा रहेको सहकारीमा संचालक समिति हुन मिल्दैन भन्ने कुरा भए पश्चात मैले २०७६ साल फागुन महिनामा मेरो कुनै संस्था प्रति कानूनी र आर्थिक दायित्व नहुने गरी राजीनामा बुझाएको हुँ ।

मैले राजीनामा बुझाएको केही महिनापछि कोरोनाको कारणले गर्दा उक्त संस्थाका जिम्मेवार व्यक्तिहरु सँग भौतिक भेट हुन सकेन । कोरोनाको बीचमा संस्थाका कार्यकारीसँग फोन गरी बुझ्दा तपाईंको राजीनामा भई सकेको छ भनेका थिए ।

कोरोनाको कारणले गर्दा संचालक र कर्मचारी सँग भौतिक भेट भएको छैन । तपाईको राजीनामा जुन दिन साधारण सभा हुन्छ सोही दिन तपाईले राजीनामा दिएको मिति देखि नै स्विकृत हुने गरी अनुमोदन हुन्छ । तपाईंको यसमा कुनै पनि आर्थिक र कानूनी दायित्व हुँदैन र राजीनामा अनुमोदन जानकारी सहकारी विभागलाई दिन्छौं । तपाईले सचिव भई कुनै पनि निर्णय गर्नु भएको पनि छैन । तपाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा उपस्थित भई काम पनि गर्नु भएको छैन । पिर नगर्नु होस् भनेका थिए ।

सो पश्चात मैले यस संस्था प्रति मेरो कुनै जानकारी र चासो राखिन । पछि मेरो राजीनामा साधारण सभाले अनुमोदन गरी सहकारी दर्ता अधिकारीको कार्यालयमा पठाएको भन्ने जानकारी गराएका थिए । मैले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेस्की तीन लाख लिएको होइन । उक्त पेस्की भौचरमा बुझि लिनेमा भएको दस्तखत मेरो होईन भने पेस्की भौचरमा भएको नाम दिपेश पुन रहेको र मेरो नाम दिपेश कुमार पुन भएको हुँदा नाम समेत फरक छ ।

मेलै कुनै सेयर लगानी गरी बचत तथा ऋण खाता समेत खोलेको होइन मेरो नामको खातामा देखिएको रकमको बारेमा मलाई जानकारीसम्म छैन । कुनै रकम मेलै लिएको पनि छैन । यस संस्थाबाट मैले अन्य कुनै रकम लिने दिने गरी साक्षी सिफारीस, कारोबर तथा निर्णय गरेको छैन । यस संस्थाबाट ऋण लगानी भएका कुनै व्यक्ति तथा कम्पनिहरुसँग म व्यापारिक साझेदार समेत छैन ।


क्लिकमान्डु