सुन तस्करी प्रकरण: पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग सीआईबीले लियो बयान



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६० किलो सहित विद्युतीय चुरोटमार्फत भएको सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग प्रहरीले सोधपुछ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुनलाई सोमबार ब्युरोमा सोधपुछ गरेको हो ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि पुनसँग सोधपुछ गरिरहेको प्रहरीको भनाइ छ ।

सुन तस्करी प्रकरणमा माओवादी नेताहरुको संलग्नताबारे समाचारहरु प्रकाशन भएपछि केही दिनअघि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पुनलाई सोधपुछ गरेर छाडिएको प्रहरी स्रोतको भनाइ छ ।

उनीसँग तीन घण्टा बढी बयान लिएको जनाइएको छ । दिपेश पुन माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव पनि हुन् ।

यसैबीच सुन तस्करी प्रकरणमा पक्राउ पुर्जी जारी भएका सुमन खरेललाई सीआईबीको टोलीले कपिलवस्तुबाट पक्राउ गरेको छ।


क्लिकमान्डु