भीपीएनको प्रयोग गरेर टिकटक चलाउँदा रित्तिएला बैंक खाता !



काठमाडौं । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएसँगै पछिल्लो समय नेपालमा भीपीएन चर्चामा छ ।

भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग गरेर फरक देशको आईपी एड्रेस राख्दै टिकटक चलाउन सकिने भनेर सामाजिक सञ्जालमा दिनानुदिन पोस्टहरु आइरहेका छन् । यस्तै पोस्टहरुका बीच कतिपयले भने भीपीएनको प्रयोग गर्दा मोबाइल फोनमा भएका व्यक्तिगत जानकारीहरु असुरक्षित हुने र त्यसमाथि अनाधिकृत रुपमा अरु कसैको पहुँच पुग्नेजस्ता कुराहरु पनि औल्याइरहेका छन् । टिकटक सरकारले बन्द गर्न चाहे पनि भीपीएनको प्रयोग गरेर टिकटक चलाउन सकिने कुरा अहिले चर्चामा छ ।

आखिर भीपीएन के हो र यसले कसरी काम गर्छ त ? के त्यसो भए भीपीएनको प्रयोग गरेर इन्टरनेट चलाउनु असुरक्षित छ त ?

यी कुराहरु जान्नुअघि इन्टरनेटले कसरी काम गर्छ र यसमा भीपीएनको भूमिका के हो भन्ने जान्न आवश्यक हुन्छ । इन्टरनेटको प्रयोग गर्नका लागि कुनै पनि उपकरणले सेवा प्रदायक कम्पनीसँग एउटा कनेक्सन स्थापित गरेको हुन्छ, जुन प्रायः पब्लिक कनेक्सनका रुपमा रहेको हुन्छ ।

टिकटक प्रयोग गर्नका लागि पनि हामीले इन्टरनेटकै उपयोग गर्छौं र यसमा पनि प्रक्रिया यहि हुन्छ । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएसँगै नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सेवा उपयोग गरि टिकटक चलाउन नमिल्ने बनाएका छन् ।

टिकटक चलाउन खोज्दा प्रयोगकर्ताको मोबाइल वा कम्प्युटर वा अन्य कुनै उपकरणले सेवा प्रदायकसँग स्थापित गरेको कनेक्सनबारे सेवा प्रदायकलाई जानकारी हुने हुँदा यस्तोमा प्रतिबन्धित साइट वा एपहरु नचल्ने बनाइएको हुन्छ ।

यस्तोमा भीपीएनले भने कम्प्युटर वा मोबाइललाई प्राइभेट कनेक्सनमार्फत कुनै रिमोट सर्भरसँग कनेक्ट गरिदिन्छ । रिमोट सर्भरसँग कनेक्ट हुँदा नेपालकै इन्टरनेट सेवा प्रदायकको सेवा उपयोग गरेर नेपालमै रही आफ्नो उपकरणबाट कुनै वेबसाइट वा एप चलाए पनि त्यसलाई सेवा प्रदायकले ट्रेस गर्न वा थाहा पाउन सक्दैनन् ।

प्रयोगकर्ताको मोबाइल कुनै अर्को उपकरण वा सर्भरमार्फत त्यो वेबसाइटलाई खोल्ने किसिमले भीपीएन प्रविधिले काम गरेको हुन्छ । यस्तो हुँदा इन्टरनेट सेवा प्रदायकले थाहा नपाउने गरि डेटालाई इन्क्रिप्ट गरेर प्रतिबन्धित साइट वा एपहरु चलाउन सकिनछ । यसरी इन्टरनेट चलाउँदा प्रयोगकर्ताको आईपी एड्रेस पनि ट्रेस गर्न सकिँदैन । भीपीएनको प्रयोग गर्दा यसले प्रयोगकर्ताको व्यक्तिगत जानकारीहरुलाई पनि तेस्रो पक्षले हेर्न वा चोर्न नसक्ने गरि इन्क्रिप्ट गरिदिन्छ ।

के भीपीएन सुरक्षित हुन्छ ?

भीपीएनको प्रयोग गर्दा सर्वप्रथम प्रयोगकर्ताले तेस्रो पक्षको सर्भरमा जोडिएर वेबसाइटमा जाने हुँदा यसबाट व्यक्तिगत जानकारीहरु चोरी हुने जोखिम रहने बताउँछन् राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इञ्जिनियर उज्जवल थापा ।

‘भीपीएनबाट चलाउने भनेको बाहिरको सर्भर प्रयोग गरेर चलाउने हो । वेबसाईटमा जाँदा इन्टरनेट सेवा प्रदायक नेपालकै भए पनि तेस्रो पक्षको सर्भरबाट त्यो वेबसाईटसम्म पुग्ने हो । यस्तोमा अन्य देशको सर्भरमा जोडिँदा जानकारीहरु चोरि हुने जोखिम हुन्छ’ उनले भने ।

भीपीएनले काम गर्ने पक्ष नै यसको कमजोरी वा प्रयोगकर्ताको लागि जोखिमको पक्ष हो । तेस्रो पक्षको सर्भर वा अन्य देशको सर्भरमा जडान भएर वेबसाईटमा जाने हुँदा प्रयोगकर्ताको उपकरणमा भएका जानकारीहरु असुरक्षित हुने थापा बताउँछन् ।

चाहे पैसा तिरेर सब्सक्रिप्सन लिएकै भीपीएन भए पनि यो जोखिम रहने उनको भनाइ छ । ‘भीपीएनको प्रयोग गर्दा अन्य देशको सर्भरमा हामी जोडिएर बेवसाइटमा पुगिन्छ । यस्तोमा त्यहाँको सर्भरबाट कसैले हाम्रो जानकारी लिन चाहेमा त्यो चोरी हुन सक्छ,’ उनी भन्छन् ।

मोबाइलमा भीपीएनका एपहरु इन्स्टल गर्ना साथ विभिन्न अनुमतिहरु माग्ने गर्छ । सँगै इन्टरनेट चलाइरहँदा भीपीएनमा जोडिएको समयमा सम्पूर्ण जानकारीहरु आफू जडान भएको तेस्रो पक्षको सर्भरमा गएको हुन्छ । ‘यस्तोमा भीपीएन चलाउँदा बैंकिङ डिटेल्सदेखि फोनमा रहेका अन्य कुराहरुमा पनि अरुको पहुँच हुने जोखिम बढ्छ । कसैले प्रयोगकर्ता जोडिएको सर्भरमा प्रवेश गरेर जानकारीहरु चोरेमा सम्पूर्ण विवरणमा उनीहरुको पहुँच हुन जान्छ’ थापा भन्छन् ।

हाल नेपालमा भीपीएनको प्रयोगको विषयमा चर्चा भए पनि यस्ता पक्षहरुबारे भने धेरैलाई जानकारी छैन । भीपीएन एक हिसाबले प्रभावकारी भए पनि व्यक्तिगत विवरणहरु तेस्रो पक्षको पहुँचमा पुग्ने विषयमा भने यसले जोखिम उत्तिकै बढाउँछ ।

‘भीपीएन प्रयोग गर्दा एउटा टनेलजस्तोबाट वेबसाइटमा पुगिने हो,’ थापा भन्छ्न्, ‘यस्तोमा नेपालका इन्टरनेट सेवा प्रदायकलाई कुन वेबसाइटमा गएको भन्ने जानकारी हुँदैन । किनभने सर्भर नै छुट्टैमा जडान भएर वेबसाइटमा पुगिएको हुन्छ । तर, जुन देशको सर्भरमा प्रयोगकर्ता जोडिएका हुन्छन्, त्यसमा कसैले चाह्यो भने विवरणहरु चोरी गर्न सक्ने वा पहुँच बनाउन सक्ने हुन्छ । भीपीएन बनाउनेहरुले नै पनि यस्ता जानकारीहरुमा पहुँच बनाउने किसिमले प्रयोगकर्ताको फोनको एक्सेस पनि लिन सक्छन् ।’

प्रायः प्लेस्टोर तथा एप स्टोरमा सित्तैमा उपलब्ध भीपीएनका एपहरु छन् । सँगै पैसा तिरेर चलाउन मिल्ने भीपीएनहरु पनि छन् । तर, नेपालबाट यस्ता एपहरुको सब्सक्रिप्सन लिने कुरा आफैंमा अर्को समस्या हो । जसले गर्दा सित्तैमा पाइने एपहरुको प्रयोग बढी हुने देखिन्छ । यस्तो भएको खण्डमा भीपीएनको प्रयोग गरिरहँदा फोनमा भएका जानकारीहरु अन्यको पहुँचमा पुग्ने जोखिम रहन्छ । मालवेयर फोनमा प्रवेश गरेर समस्या उत्पन्न हुनेदेखि फोनमा भएका जानकारीहरुको पहुँच तेस्रो पक्षसम्म पुग्ने जोखिम रहन्छ ।

‘भीपीएनको प्रयोग टिकटक चलाउँदा त्यहि फोनमा मोबाइल बैंकिङदेखि सामाजिक सञ्जालका एपहरु पनि चलाइन्छ’, थापा भन्छन्, ‘टिकटक चलाउने फोनमा अन्य जानकारी पनि हुन्छन् । यस्तोमा अन्य देशको सर्भरमा फोनमा भएका मोबाइल बैंकिङ डिटेल्सहरु पनि जाने गर्छन् । कसैले त्यसमा पहुँच बनाएर दुरुपयोग गर्न खोजेमा त्यो जोखिम उत्तिकै रहन्छ । चाहे फ्रिकै एप होस् वा पैसा तिरेको, दुवैमा जोखिम हुन्छ । पैसा तिरेकोमा केही जोखिम कम हुन्छ भन्ने मात्रै हो । तर, त्यहाँ पनि तेस्रो पक्षले चाहेको खण्डमा यस्तो जोखिम रहन्छ ।’


युवराज भट्टराई