सहकारी डुबाएर जापान-अमेरिका पुगेका सञ्चालक र ऋणी धमाधम सम्पर्कमा



काठमाडौं । सहकारी संस्थाको ऋण लिएर भाग्ने ऋणी र संस्था बन्द गरेर बेपत्ता भएका सञ्चालक धमाधम सम्पर्कमा आउन थालेका छन् ।

सहकारी व्यवस्थापन समितिको कार्यालयले राहदानी रोक्का, इन्टरपोलमार्फत खोजी र कालोसूचीमा राख्न थालेपछि स्वेदशमा मात्रै नभएर विदेशमा रहेकाहरुसमेत आफन्तमार्फत सम्पर्कमा आउन थालेका हुन् ।

कार्यालयमा सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार क्लिकमान्डुमा ‘अमेरिका पुगेको १५ वर्षपछि सहकारीको १८ करोड ऋणको फन्दामा’ भन्ने समाचार आएपछि पनि धेरै जना सम्पर्कमा आएका छन् ।

‘अहिले सरकारले समस्याग्रस्त घोषणा गरेका १२ संस्था र समस्यामा परेका अन्य संस्थाबाट ऋण लिएका ऋणीका आफन्त र सञ्चालकका आफन्त सम्पर्कमा आइरहेका छन्,’ उनले भने, ‘कतिपय संस्थाका सञ्चालक र कतिपय ऋणी विदेश पुगेका रहेछन् । उनीहरुले प्रक्रिया बुझ्न आफन्तलाई पठाएका छन् ।’

यसले गर्दा सहकारीमा फसेको पैसा पीडित बचतकर्ताले छिटो पाउनसक्ने पौडेलेको भनाइ छ । उनका अनुसार जापान, बेलायत र कुवेतमा भएका सञ्चालक र ऋणी कार्यालयको सम्पर्कमा आएका छन् ।

केही दिनअघि मात्रै समस्याग्रस्त बनेको कन्जुमर बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक सुनिता राजभण्डारी जापानमा छिन् । उनी आफन्तमार्फत सम्पर्कमा आएको कार्यालयले जनाएको छ ।

करिब १५ वर्षअघि स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को-अपरेटिभ र प्रभु बचत तथा ऋण सहकारी संस्थाबाट १८ करोड रुपैयाँ कर्जा लिएर बेपत्ता भएका स्वरुप मरासिनीका बुबा सम्पर्कमा आएको थाहा पाएपछि भण्डारीले पनि आफन्तलाई बुझ्न पठाएको पौडेलले बताए ।

‘सहकारीको तमसुक फेला नपरिसकेका कारण रकम यकिन हुन सकेको छैन,’ उनले भने, ‘सञ्चालक राजभण्डारीले दायित्व यकिन भएपछि तिर्नुपर्ने रकम तिर्छौं भनेर प्रतिबद्धता जनाएका छन् ।’

केही दिनअघि मात्रै ५ वटा सहकारीका सञ्चालक रहेका एकै व्यक्ति अर्थात विष्णुप्रसाद भट्टराई समितिको कार्यालयमा सम्पर्कमा आएका छन् । ओरेन्टल को-अपरेटिभ, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को-अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी र कुबेर बचत तथा ऋण सहकारीका सञ्चालक भट्टराई सम्पर्कमा आएका हुन् ।

भट्टराई आफैं आएर बयान दिएको पौडेलले बताए । भट्टराईपछि स्ट्यान्डर्ड, प्यासिफिक र प्रभुका सञ्चालक खेमराज निरौला पनि सम्पर्कमा आएका छन् । केही दिनअघि कन्जुमर बचत तथा ऋण सहकारीका सञ्चालक सुरेन्द्र आचार्य पनि सम्पर्कमा आएर बयान दिइसकेका छन् ।

कतिपय सञ्चालकलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको र कतिपय आफैं सम्पर्कमा आएको कार्यालयले जनाएको छ । सञ्चालक सम्पर्कमा आउने र समस्याग्रस्त सहकारीबाट ऋण लिनेले पनि ऋण तिरेपछि बचतकर्तालाई पैसा फिर्ता गर्न सहज भएको छ । समस्याग्रस्त बनेका १२ सहकारीबाट ठगिएकामध्ये करिब ४ सयले बचत रकम फिर्ता पाइसकेका छन् ।

विदेशमा रहेका ऋणीले पैसा फिर्ता गर्दा बचतकर्तालाई दिन सहज भएको छ । पौडेलका अनुसार कुबेर बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएका ऋणीले करिब १३ वर्षपछि कुबेतबाट पैसा पठाइदिएका छन् । ‘२०६७ सालमा ऋण लिएका रहेछन् । अहिले ब्याजसहित करिब ३ लाख रुपैयाँ तिरेका छन्,’ उनले भने, ‘ऋणीले श्रीमतीलाई पैसा पठाएर तिर्न लगाएका हुन् ।’

‘अहिले साना ऋणीले इमानदारीपूर्वक पैसा तिर्न खोजेको र ठूला सकेसम्म पैसा नतिर्ने सोचमा रहेको पाइएको छ,’ पौडेल भन्छन्, ‘सहकारीबाट ऋण लिएको प्रमाण भेटेपछि तिर्दिन भनेर कुनै हालतमा सुख पाइँदैन, विश्वकै जुनसुकै कुनामा लुकेर बसेको भए पनि हामी ऋणीबाट पैसा उठाएर छाड्छौँ र बचतकर्ताको पैसा फिर्ता गर्छौं ।’

विदेशमा लुक्छु वा राजनीतिक शक्तिका आडमा ऋण तिर्दिन भनेर सोच्ने दिन गएको उनले बताए । ‘ढिलोछिटो होला तर अब पनि लुकेर ऋण पचाउँछु, भन्ने कसैले सोचेको छ भने त्यो भ्रमबाट मुक्त भए हुन्छ,’ पौडेलले भने ।

समितिको कार्यालयले केही दिनमा सहकारीका सञ्चालक र ऋणीसहित करिब ९ सय जनाको राहदानी रोक्का राख्ने र कालोसूचीमा राख्ने तयारी गरेको छ । पटक-पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि राहदानी रोक्का र कालोसूचीमा राख्न लागिएको हो । ‘त्यसको प्रक्रिया अघि बढिसकेको छ,’ पौडेलले भने ।

राहदानी रोक्का गर्न सूचना जारी गरेपछि स्वदेश तथा विदेशमा रहेका सहकारीका सञ्चालक र ऋणी झनै बढी सम्पर्कमा आउने उनको विश्वास छ । ‘कतिपय सञ्चालक तथा ऋणीलाई पत्राचार हुन सकेन, फोन लागेन, चिठीपत्र घरमा तामेली भएन, सार्वजनिक सूचना पनि जारी गरिसकेका छौं,’ उनले भने, ‘यति प्रक्रिया पूरा गरिसकेको छ । यति गर्दा पनि सम्पर्कमा नआएपछि सार्वजनिक सूचना जारी गर्न लागेका हौं ।’

पहिलो चरणमा ठूला ऋणी र सञ्चालकलाई कालोसूचीमा राख्ने र राहदानी रोक्काका लागि सार्वजनिक सूचना निकाल्न लागिएको हो ।


सोभित थपलिया