अमेरिका पुगेको १५ वर्षपछि सहकारीको १८ करोड ऋणको फन्दामा



काठमाडौं । के तपाईंले सहकारी संस्थाबाट ऋण लिनुभएको छ ? तपाईंले ऋण लिएको सहकारी भागेको वा समस्याग्रस्त भएको छ ? संस्था समस्याग्रस्त भएपछि तपाईं लिएको ऋण तिर्नु पर्दैन कि भनेर बस्नुभएको छ ? तपाईं सहकारीबाट लिएको ऋण नतिरी बिदेसिनुभएको छ ? त्यस्तो छ भने बेलैमा लिएको ऋण तिरिहाल्नुस् ।

अन्यथा तपाईंलाई समस्या पर्नसक्छ । राज्यका निकायले चाहे भने तपाईंले लिएको ऋण ढिला वा चाँडो तिर्नैपर्छ । त्यस्तो कर्जा नतिरी अटेर गरेर बस्नुभएको छ वा देशबाहिर हुनुहुन्छ भने पनि बेलैमा कर्जा तिर्नुस् ।

अन्यथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी व्यवस्थापन समितिको कार्यालयले इन्टरपोलमार्फत पनि तपाईंलाई खोजेर कर्जा तिराउनेछ ।

कार्यालयका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार अहिलेसम्म करिब ३५० जना सञ्चालक र ऋणीको बैंक खाता रोक्का गरिएको छ । अन्य केही व्यक्तिको बैंक खाता र चलअचल सम्पत्ति रोक्का राख्ने प्रक्रिया जारी रहेको उनको भनाइ छ ।

कार्यालयले नेपालमा हुनेको खाता रोक्का गरेको र विदेशमा जानेको इन्टरपोलमार्फत सूचना जारी गरेपछि सहकारीबाट कर्जा लिएर र विदेशमा रहेकाहरु पनि सम्पर्कमा आउन थालेका छन् ।

‘करिब १५ वर्षअघि स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को-अपरेटिभ र प्रभु बचत तथा ऋण सहकारी संस्थाबाट स्वरुप मरासिनी भन्ने व्यक्तिले १८ करोड रुपैयाँ कर्जा लिएका रहेछन्,’ सदस्य सचिव पौडेलले भने, ‘हामीले चलअलच सम्पत्ति, बैंक खाता रोक्का गर्ने, विदेशमा भए इन्टरपोलमार्फत सूचना जारी गर्ने थाहा पाएपछि मरासिनीका बुबा सम्पर्कमा आएका छन् । मरासिनी अमेरिका बस्ने रहेछन् ।’

एकै व्यक्तिले १५ वर्षअघि तीन संस्थाबाट १८ करोड लिएको फेलापरेको र त्यो पैसा उठ्नेमा कार्यालय ढुक्क रहेको उनको भनाइ छ । उक्त समयमा मरासिनीले कुनै धितोबिना नै तीनवटा संस्थाबाट १८ करोड कर्जा लिएका थिए ।

यस्तै स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभबाट करिब १३ लाख कर्जा लिएर अमेरिका गएका एक ऋणीले आफन्तमार्फत तिरेको उनले जानकारी दिए । पौडेलका अनुसार अहिले अमेरिका, बेलायत र अस्ट्रेलिया बस्नेहरुले पनि आफन्तमार्फत पैसा पठाउने र केहीले बुझ्न आउने काम गरिरहेका छन् । कार्यालयले हेरेका १२ वटा सहकारीका सञ्चालक र ऋणीलाई कागजात भेटेसम्म कसैलाई पनि नछोड्ने पौडेलेको भनाइ छ ।

स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका १७५ जनाले मागदाबी गरेकामा १९ जनाको लगत कट्टा भइसकेको छ । अब १५६ जनाले पैसा पाउन बाँकी छ ।

प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को-अपरेटिभबाट ठगिएको भन्दै ३२५ जनाले मागदाबी गरेका छन् । जसमा १७४ जनाले पैसा पाएका छन् । १७८ जनाको पैसा उठ्न बाँकी छ ।

यस्तै प्रभु बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै १३८ जनाले मागदाबी गरेकामा ११ जनाले पैसा पाएका छन् । १२७ जनाको पैसा उठ्न बाँकी छ ।

आर्थिक मन्दीले सहकारीको जग्गा लिलामी भएन, पीडितले पैसा पाउने कहिले ?

देशको अर्थतन्त्रमा देखिएको समस्याले सहकारीका पीडितलाई पनि छाडेको छैन । व्यवस्थापन समितिको कार्यालयले केही समस्याग्रस्त सहकारीको जग्गा लिलामी गर्न खोजे पनि बिक्री नभएका कारण सदस्यले पैसा पाउन सकेका छैनन् ।

त्यो जग्गा सोसाइटल बचत तथा ऋण सहकारी संस्थाको हो । सहकारीका २४० जनाले मागदाबी गरेका छन् । मागदाबी गरेकामध्ये १३३ जनाले पैसा पाएका छन् । १०७ जनाले पैसा पाउन बाँकी छ । उनीहरुको पनि पैसा दिन सहकारीको चितवनको राप्ती नगरपालिकामा रहेको १३ कठ्ठा जग्गा लिलामी गर्न खोजिए पनि बिक्री नभएको पौडेलेको भनाइ छ ।

‘पटक-पटक जग्गा लिलामी गर्न खोज्दा पनि बिक्री भएन,’ उनले भने, ‘जग्गा बिक्री नभए पनि बचतकर्ताको पैसा फिर्ता गर्नैपर्छ । त्यसैले सञ्चालकलाई कि जग्गा तपाईंहरु राखेर पैसा दिनुस्, होइन भने जग्गाको मूल्यांकन गरेर पीडित सदस्यलाई जग्गा दिनु भनेका छौं । यी मध्ये कुनै विकल्पमा जानुको विकल्प छैन ।’


सोभित थपलिया