कालोसूचीमा ६० सहकारी, कलाकारका संस्थादेखि कृषि सहकारीसम्म



काठमाडौं । सहकारीका बचतकर्ता मात्रै होइन, अध्यक्ष तथा सञ्चालकमा पनि ‘लोभले लाभ, लाभले विलाप’ हुने समस्या बढ्दो छ । बढी ब्याजको आशामा सहकारीमा ठूलो रकम बचत गर्ने सदस्यको पैसा फिर्ता गर्न नसकेका सहकारीका सञ्चालक तथा अध्यक्ष नै धमाधम कालोसूचीमा पर्न थालेका छन् ।

सदस्यको बचत रकमलाई घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी गरेपछि संस्थाहरु समस्यामा पर्न थालेका हुन् । कालोसूचीमा पर्ने संस्थामा सामान्य मात्रै नभएर चर्चित र समाजले रुचाएका व्यक्तिले चलाएकासमेत छन् । यो वर्ष मात्र ६० सहकारी संस्था कालोसूचीमा परेका छन् ।

समाजका प्रतिष्ठित व्यक्तिले चलाएका संस्था दुई–दुई पटक कालोसूचीमा परेको पाइएको छ । मधुसुदन पाठकको नाम सुन्नासाथ धेरैले चिन्ने भनेको हास्य टेलिफिल्म ‘सकिगो नि’का पात्र ‘सितेबा’ ।

उनको प्रिय डाइलग ‘ए हो ? ठिकै छ, खित खितखितखित…’ गरेर हास्ने हाँसो । सितेबा कलाकार मात्रै होइन, जेष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिव एवं प्रमुख कार्यकारी सञ्चालक हुन् ।

उनको परिचय यतिले मात्रै पुग्दैन । पाठकले मंसिरमा सम्पन्न आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

निर्वाचनमा उम्मेदवार बनेका सितेबाको करिब १० वटा कम्पनीमा लगानी छ । उनको सितेबा ग्रुप अफ कम्पनी प्रालि छ । त्यसअन्तर्गत रिद्धिसिद्धि निर्माण सेवा, सितेबा अर्गानिक कृषि फार्म, सितेबा मार्ट, गाउँले खाद्य उद्योग, सितेबा ग्लोबल सर्भिस, सितेबा हस्पिटालिटी र भलामचौर मृचे नमुना कृषि फार्म छन् ।

उनै सितेबा र उनी सचिव रहेको सहकारी कालोसूचीमा परेको छ । फागुन ३० र चैत १ गते जेष्ठ सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका सचिव तथा प्रमुख कार्यकारी सञ्चालकसमेत रहेका पाठक, सञ्चालकमा बद्रीप्रसाद हुमागाईं, इन्दिरा अधिकारी, कुशल पाठक, निशा रिमाल कार्की, राज तुलाधर र सुशील सिग्देल कालोसूचीमा परेका छन् ।

कर्जा सूचना केन्द्रले उनीहरुलाई कालोसूचीमा राखेको हो । लिएको ऋण समयमा तिर्न नसक्दा उनीहरु कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेकामध्ये बचत तथा ऋण, बहुद्देश्यीय, कृषि सहकारी संस्था छन् । केन्द्रका अनुसार विभिन्न समयमा ४ पटक आस्था सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका सञ्चालक अनिल खड्का, खुम्बराज जोशी, जीवन बुढोथोकी र सुनिल खड्का कालोसूचीमा परेका छन् । केन्द्रले कात्तिक २, मंसिर २, मंसिर २६ र माघ १० गते उनीहरुलाई कालोसूचीमा राखेको हो ।

यस्तै जलजला बचत तथा ऋण सहकारीका सञ्चालक जयप्रकाश श्रेष्ठ र सुमित्रादेवी राई कालोसूचीमा परेका छन् । जनशक्ति बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरू डम्बरबहादुर बस्नेत र मधुमाया लाक्पा, पुन्यभूमि सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका सञ्चालक सुनिलकुमार श्रेष्ठ र टंकबहादुर कार्की, सुयोग बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुनिल महर्जन तथा विन्ध्यवासिनी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका सञ्चालक गंगाधर सुवेदी र सुवर्णमान नकर्मी पनि कालोसूचीमा छन् ।

कालोसूचीमा चुरियामाई बचत तथा ऋण सहकारी संस्था, शिभम बचत तथा ऋण सहकारी संस्था, जनमिलन सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, नमस्ते शुभ सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, उत्तम सेभिङ एन्ड क्रेडिट, पर्फेक्ट सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, शिवालय सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, मित्र मिलन सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ र चाँदनी मल्टिप्रपोज को–अपरेटिभ परेका छन् ।

यस्तै त्रिरत्न मल्टिपर्पोज, एकता बुद्ध सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, लालुपाते मल्टिपर्पोज, परिचय सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, गोल्डेन रोज सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, जनसेवा बचत तथा ऋण र मेगा ड्रिम बहुद्देश्यीय सहकारी संस्थालाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।

यस्तै कालोसूचीमा पशुपालन सहकारी संस्था, मल्लिकार्जुन कृषि सहकारी संस्था, नमो बचत तथा ऋण सहकारी, नवसवाल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, शंखनाथ बचत तथा ऋण सहकारी संस्था, शिव शिखर बहुद्देश्यीय को–अपरेटिभ, सबल पशुपालन सहकारी संस्था, गोर्खाली बचत तथा ऋण सहकारी संस्था, पिपुल्स बचत तथा ऋण सहकारी र ओम मिथिला बचत तथा ऋण सहकारी संस्था छन् । यी मात्रै होइन, अन्य थुप्रै सहकारीका सञ्चालक र कार्यकारी कालोसूचीमा परेका छन् ।

सहकारी संस्थाहरुले सदस्यको पैसा सेयर बजार, घरजग्गा जस्ता क्षेत्रमा लगानी गर्ने र सञ्चालक आफैंले कर्जा लिएर घरजग्गा कारोबार गर्दा लिएको कर्जा समयमा भुक्तानी गर्न नसक्दा कालोसूचीमा पर्ने क्रम बढ्दै गएको छ ।

खातामा पर्याप्त रकम नभई चेक काटेर कालोसूचीमा पर्नेहरुको संख्या बढ्दै गएको छ । डिजिटल कारोबार बढिरहेको अवस्थामा पनि चेक बाउन्सको संख्या ठूलो मात्रामा बढीरहेको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा खातामा पर्याप्त रकम नभइ चेक जारी गर्ने र त्यो चेक ३ पटकसम्म नसाटिएपछि रकम पाउने व्यक्तिले सम्बन्धित बैंकमा लिखित उजुरी दिएपछि कालोसूचीमा राख्ने व्यवस्था गरेको छ । यसरी ३ पटकसम्म चेक नसाटिको प्रमाणित भने गर्नुपर्छ ।

बैंकले उजुरी परेपछि खातामा रकम जम्मा गर्न तत्काल ७ दिनको सूचना जारी गर्नेछ । यदि खातावालाले तोकिएको समयभित्र आवश्यक रकम जम्मा नगरेमा बैंकले कालोसूचीमा राख्ने गरेको छ । यस्तै खातावालाले चेक काट्ने र चेक नसाटी खाता बन्द गरेको अवस्थामा पनि कालोसूचीमा राख्ने व्यवस्था रहेको छ । राष्ट्र बैंकले २०७६ मा एकीकृत निर्देशिका जारी गर्दै चेक बाउन्स भए कालोसूचीमा पर्ने व्व्यववस्था गरेको छ ।


क्लिकमान्डु