बीमा कम्पनीका कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याउने मार्गदर्शन अलपत्र



काठमाडौं । नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति)ले बीमकको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्शन, २०७५ को मस्यौदा तयार पारेको थियो ।

बीमा कम्पनीका कर्मचारीको सेवासुविधामा एकरुपता ल्याउन भन्दै प्राधिकरणले बीमकको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्शनको मस्यौदा तयार गरी बोर्डमा पेश गरेको थियो ।

तर, प्राधिकरणले बुझाएको मार्गदर्शनको मस्यौदामाथि बोर्डले निर्णय गर्न नसक्दा उक्त विनियमावली सम्बन्धी मार्गदर्शन अलपत्र परेको हो ।

‘बोर्डमा हामीले उक्त विनियमावलीको ड्राफ्ट पेश गरेका थियौं । बोर्डले त्यति बेला निर्णय नगरि फकाईदियो,’ प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले क्लिकमाण्डूसँग भने, ‘त्यसपछि उक्त मस्यौदाले पूर्णता पाएन ।’

उक्त विनियमावली जारी हुन सकेको भए बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीको सेवा, सुविथा तथा पदको वर्गिकरणमा एकरुपता आउने उनको भनाइ छ ।

उक्त समयमा प्राधिकरणको सञ्चालक समितिले मस्यौदामाथि कुनै पनि निर्णय नगरी फर्काइदिएपछि नयाँ मस्यौदा बन्न नसकेको उनको भनाइ छ । हाल बीमा कम्पनीहरुलाई कर्मचारी नियुक्त गर्दा वर्तमान सुशासनको व्यवस्था र प्रचलित श्रम ऐन बमोजिम गर्र्दै आएको उनले बताए ।

हाल बीमा कम्पनीहरुले आ–आफ्नै ढंगले कर्मचारीको सेवासुविधा सम्बन्धी विनियमावली बनाएका छन् । सोही कारण बीमा कम्पनीहरुका कर्मचारीको सेवासुविधामा एकरुपता छैन ।

मार्गदर्शन जारी भएको भए बीमा कम्पनीहरुको संस्थागत सुशासन नियन्त्रण गर्न सहज हुने उपनिर्देशक लामिछानेको भनाइ छ ।

प्राधिकरणले तयार पारेको विनियमावलीमा व्यवस्थापकीय श्रेणीमा प्रमुख कार्यकारी अधिकृतको सहायकको रुपमा काम गर्नका लागि २ वटा पद तयार पारिएको थियो । जसमा उपकार्यकारी प्रमुख र नायव वा सहायक महाप्रबन्धको व्यवस्था गरिएको थियो । यी दुबै पदका लागि कम्तीमा स्नातकोत्तरको शैक्षिक योग्यता हाँसिल गरेको हुनुपर्ने व्यवस्था गरिएको थियो ।

कार्यकारी तहमा बरिष्ठ प्रबन्ध, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धकमा जागिर खानेले पनि स्नातकोत्तर गरेको गरेको हुनुपर्ने थियो ।

यस्तै, अधिकृतस्तको कर्मचारीलाई ३ श्रेणी (बरिष्ठ अधिकृत, अधिकृत र कनिष्ठ अधिकृत) मा विभाजन गरिएको थियो । र, अधिकृतस्तरको ३ वटै श्रेणीमा काम गर्न स्नातक पास गरे पुग्ने व्यवस्था गरिएको थियो । सहायक श्रेणी पदका लागि प्रविणता प्रमाणपत्रको शैक्षिक योग्यता तोकिएको थियो ।

यस्तै, कर्मचारीको सेवा अवधि, कर्मचारीले पाउने बिदा, उपदान लगायतका विषयमा पनि स्पष्ट व्यवस्था गरिएको थियो । हाल कम्पनीहरुले कर्मचारीको सेवा सुविधा आफै निर्धारण गर्दै आएका छन् ।

उक्त मार्गदर्शनको मस्यौदामा बीमा कम्पनीका कर्मचारीका लागि सार्वजनिक बिदा, बिदा, घरबिदा, बिरामी बिदा, विवाह बिदा, भैपरी आउने बिदा, प्रसुती बिदा, किरिया बिदा, विशेष बिदा, अध्ययन तथा तालिम बिदा र असाधारण बिदा लगायतका बिदाको व्यवस्था मार्गदर्शनदमा थियो ।

प्राधिकरणले बीमा कम्पनीमा कार्यरत कर्मचारीको हक हित प्रवद्र्धन गरी गुणस्तरीय कार्य वातावारण तयार बीमा ऐन, २०४९ को दफा ८ को खण्ड (घ २) को अधिकार प्रयोग गरी उक्त मार्गदर्शन तयार पारेको थियो ।


बिजया बास्कोटा