बीमा कम्पनीका कर्मचारीलाई १० प्रकारका बिदा, कुन बिदा कति ? (सूचिसहित)



काठमाडौं । बीमा कम्पनीमा काम गर्ने कर्मचारीहरुले १० किसिमका विदा पाउने भएका छन् । नियामक बीमा समितिले तयार पारेको बीमकको कर्मचारी सेवा शर्त विनियमावलीसम्बन्धी मार्गदर्शमा १० प्रकारका विदाको प्रस्ताब गरिएको छ ।

‘प्रत्येक कम्पनीमा आआफ्नै कर्मचारी विनिमावली हुँदा समस्या भएकाले बीमा समितिले एकीकृत कर्मचारी विनियमावली बनाएको हो समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले जानकारी दिए ।

बढ्ने भयो बीमा कम्पनीका कर्मचारीको तलब, बिबाह गर्न ३ दिन मात्रै विदा !

‘सरोकारवालाहरुको सुझाब लिइसकेका छौं, केही समयभित्रै कार्यान्वयनमा ल्याउँछौं,’ चापागाईंले क्लिकमाण्डूसँग भने ।

बीम क्षेत्रमा कर्मचारी भर्ना, नियुक्ति, सरुवा, बढुवा, सेवा–सुविधा, विदा लगायतलाई पारदर्शी एवं व्यवस्थित बनाउन एकीकृत कर्मचारी विनियमावली बनाइएको उनले बताए ।

समितिले सार्वजानिक विदा, घर विदा, बिरामी विदा, बिबाह विदा, भैपरी आउने विदा, प्रसुति विदा, किरिया विदा, विषेश विदा, अध्ययन तथा तालिम बिदा असाधारण विदाको व्यवस्था गरेको हो ।

१) सार्वजानिक विदाः बीमा कम्पनीहरुले यस्तो विदा तोक्दा बीमा समितिले तोकेको विदा अनुसार तोक्नुपर्छ ।

२) घर बिदाः प्रत्येक कर्मचारीले कम्पनीमा काम गरेको अवधिको १८ दिनको १ दिनका दरले घर विदा पाउने व्यवस्था गर्नुपर्ने छ । र, यस्तो घर विदा वर्षको २० दिनभन्दा बढी हुने छैन । र, घर विदा बसेको समयमा अन्य कुनै विदा परेको खण्डमा उक्त विदालाई घर विदामा समायोजन गर्नुपर्ने छ ।

बीमा कम्पनीका कर्मचारीलाई १० प्रकारका बिदा, कुन बिदा कति ? (सूचिसहित)

-आर्जित गरेको घर विदा ६० दिनसम्म सञ्चित गर्न पाउने व्यवस्था गर्नुपर्ने छ । र, सञ्चित विदाको निजले पाउने तलबभत्ता बराबरको रकम भुक्तानी दिन वा अनिवार्य रुपमा विदामा बस्न लगाउन व्यवस्था गर्नुपर्ने छ ।

-कुनै कर्मचारीले राजिनामा दिएमा वा स्वास्थ्यको कारणबाट अवकास पाएमा वा सेवा निवृत्त भएमा वा मृत्यु भएमा सञ्चित घर विदाको रकम सेवा निवृत्त हुँदाका अवस्थामा निजले खाइपाइ आएको तलबभत्ताको हिसाबले हुने एकमूष्ट रकम भुक्तानी पाउने व्यवस्था गर्नुपर्ने छ ।

३) बिरामी विदाः प्रत्येक कर्मचारीले वर्षमा १२ दिनको तलबसहित बिरामी विदा पाउने व्यवस्था गर्नुपर्ने छ ।

-बिरामी विदा कम्तीमा ४५ दिनसम्म सञ्चित गर्न पाइने छ ।

-सञ्चित बिरामी विदाको रकम सेवा निवृत्त भएमा वा स्वास्थ्यको कारणबाट अबकास भएमा वा राजिनामा दिई सेवाबाट अलग भएमा वा मृत्यू भएमा निजले खाइपाइ आएको तलबको हिसाबले हुने एकमूष्ट रकम भुक्तानी पाउने व्यवस्था गर्नुपर्ने छ ।

४) बिबाह विदाः कर्मचारीको आफ्नै बिबाह हुने भएमा बिबाह अघि र पछि गरी एकमुष्ट ३ दिनको तलबी बिदा पाउने व्यवस्था गर्नुपर्ने छ ।

५) भैपरी आउने विदाः कर्मचारीले वर्षमा १२ दिन बराबरको तलबी भैपरी आउने विदाको व्यवस्था गर्नुपर्ने छ ।

(६) प्रसुति विदाः गर्भवती महिला कर्मचारीले सेवा अवधिमा २ पटक प्रसुति हुनुभन्दा अघि वा पछि १४ हप्ताको प्रसुति विदा पाउने व्यवस्था गर्नुपर्ने छ ।

-प्रसुति विदा लिने महिला कर्मचारीले प्रसुति हुने संभावित मितिभन्दा कम्तिमा २ हप्ता अगाडिदेखि प्रसुति भएको कम्तीमा ६ हप्तासम्म अनिवार्यरुपमा विदा बस्नुपर्ने व्यवस्था गर्नुपर्ने छ ।

-प्रसुति विदा लिने कर्मचारीले विदा अवधिको पूरा पारिश्रमिक पाउने व्यवस्था गर्नुपनेछ ।

-सात महिना वा सोभन्दा बढी गर्भ रहेको महिला कर्मचारीको शिशु मृत जन्मिएमा वा गर्भपतन भएमा प्रसुति भए सरह बिदा पाउने व्यवस्था गर्नुपर्नेछ ।

-कुनै पुरुष कर्मचारीको श्रीमती सुत्केरी हुने भएमा पारिश्रमिक सहितको १५ दिन प्रसुती बिदा पाउने व्यवस्था गर्नुपर्नेछ ।

७) किरिया बिदाः बाबु आमा वा पति पत्नीको मृत्यु भएमा वा आफ्नो कुल धर्म अनुसार कर्मचारी आफैले किरिया बस्नु पर्ने भएमा वा बिबाहित महिला कर्मचारीले आफ्नो माता पिता वा सासु सरुवाको मृत्यु भएमा किरिया बस्नु परेमा कुल धर्म हेरि १५ दिनसम्म किरिया बिदा पाउनुपर्ने व्यवस्था गर्नुपर्नेछ । किरिया बिदा बसेको कर्मचारी पूरा तलब भत्ता पाउने व्यवस्था गर्नुपर्नेछ ।

८) विदेश बिदाः कम्तीमा ५ वर्ष कम्पनीमा सेवा गरेको कुनै पनि नियमित कर्मचारीले आफ्नो सञ्चित बिदा लिइ सकेपछि पनि आफ्नो घरयासी व्यवहार वा बिरामीका कारणले बिदा नबसी नहुने परिस्तिथी परेमा एक आर्थिक वर्षमा बढीमा १५ दिनसम्म नोकरी अवधी भर बिशेष बिदा दिने व्यवस्था गर्नुपर्छ । यो बिदा बेतलबी बिदा हुनेछ ।

९) अध्ययन बिदा: कम्पनीमा नियमित ३ वर्ष सेवा गरेका कर्मचारीले समितिले तोकेको सर्त बन्देजको अधिनमा रही संस्थागत वा आफ्नै प्रयासमा अध्ययन गर्न चाहेमा नोकरी अवधीभरमा एक पटक वा पटक पटक गरी बढीमा ३ वर्षसम्मको बेतलबी अध्ययन बिदा पाउन सक्ने व्यवस्था गर्नुपर्नेछ ।

-कम्पनीले आफ्नो आवश्यकता अनुसार कर्मचारीलाई तलब भत्ता र सुविधा समेत तालिममा पठाउन समेत सक्ने व्यवस्था गर्नुपर्नेछ ।

१०)  असाधारण विदा: सामान्य अवस्थामा कुनै पनि कर्मचारीले असाधारण बिदा नपाउने व्यवस्था गर्नुपर्नेछ । तर मनासिव कारण सहित अनुरोध भइ व्यवस्थापनले उचित ठानेमा कार्यकारी प्रमुखको सिफारिसमा सञ्चालक समितिले कम्तीमा १० वर्ष नियमित सेवा पूरा गरेका कर्मचारीहरुलाई बढीमा १ वर्षसम्म असाधारण बिदा स्वीकृत गर्नसक्ने व्यवस्था गर्नुपर्नेछ ।

यो व्यवस्था बमोजिम बिदामा बसेको कर्मचारीलाई तलब भत्ता तथा सुविधा दिइने छैन । र विशेष बिदा लगायतका अन्य बिदा बाँकी नरहने स्थितीमा मात्रै असाधारण बिदा प्रदान गर्नुपर्नेछ ।

बिशेष र असाधारण बिदा बाहेकका बिदाको स्वीकृती प्रमुख कार्यकारी वा निजले अख्तियारी दिएको अधिकारीले गर्ने व्यवस्था गर्नुपर्ने बीमा समितिले जनाएको छ ।


पुष्प दुलाल