बढ्ने भयो बीमा कम्पनीका कर्मचारीको तलब, बिबाह गर्न ३ दिन मात्रै विदा !



काठमाडौं । बीमा कम्पनीका कर्मचारीहरुको तलब बढ्ने भएको छ । खासगरी बीमा कम्पनीमा कार्यरत तल्लो तहका कर्मचारीहरुको न्युनतम तलब र सुबिधामा ह्वात्तै बढ्ने भएको हो ।

बीमा क्षेत्रमा कर्मचारी आकर्षित गर्न बीमा समितिले यस्तो व्यवस्था गर्न लागेको हो । समितिले बीमकको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्शन २०७५ तयार पारिरहेको र त्यसले कर्मचारीलाई व्यवस्थित गर्ने अध्यक्ष चिरञ्जीबी चापागाईंले बताए ।

यो मार्गदर्शन लागू भएपछि बीमा कम्पनीका सबै कर्मचारीले सपथग्रहण लिनुपर्ने हुन्छ ।

अध्यक्ष चापागाईंका अनुसार समितिले तयार पारेको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्शनको मस्यौदामा समिति गठन गरेर बीमा कम्पनीका कर्मचारीहरुको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुपर्ने छ । यसरी न्यूनतम पारिश्रमिक निर्धारण गर्दा हाल बीमा कम्पनीमा कार्यरत तल्लोस्तरका कर्मचारीको तलब/भत्ता ह्वात्तै बढ्ने छ ।

‘हामीले कर्मचारी भर्ना र बढुवा पारदर्शी होस् र सबै बीमा कम्पनीमा एकरुपता होस् भनेर कर्मचारी विनियमावली मार्गदर्शन तयार पारेका हौं,’ चापागाईंले भने, ‘४० थरी कम्पनीमा ४० किसिमको कर्मचारी विनियमावली हुँदा बीमा क्षेत्र लथालिङ्ग छ, हामीले व्यवस्थित गर्न लागेका हौं ।’

मार्गदर्शनमा कर्मचारीको श्रेणी विभाजन गरी दरबन्दी अनुसार नियुक्ति गर्नुपर्ने हुन्छ । त्यस्तै, सार्वजानिकरुपमा दरखास्त आह्वान गरेर मात्रै कर्मचारी भर्ना गर्न पाइनेछ ।

मार्गदर्शनमा कर्मचारीले पाउने सेवा सुविधा, विदा लगायतका सबै विषयलाई प्रष्टरुपमा समेटिएको छ ।

तर, कुनै कर्मचारीको विवाह गर्दा जम्मा ३ दिन मात्रै तलबी बिदा पाउनेछन् ।

मार्गदर्शनमा श्रम ऐनले तोकेको न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषको कार्यान्वयन अनिवार्य गरिनेछ । अहिले धेरै बीमा कम्पनीहरुमा श्रम ऐन कार्यान्वयन हुन सकिरहेको छैन् ।

‘अहिले बीमा कम्पनीमा जागिर खानका लागि नयाँ पुस्ताको खासै आकर्षण देखिँदैन, यो मागर्दशन कार्यान्वयनमा आएपछि बीमा पनि जागिरका लागि आकर्षक क्षेत्र बन्ने हाम्रो विश्वास छ,’ चापागाईंले भने ।

बीमा कम्पनीमा कर्मचारी तानातान गर्ने अस्वस्थ प्रतिस्पर्धा रोक्न समितिले कुनै पनि कर्मचारीले ३ महिनाअघि जानकारी दिएर मात्रै जागिर छाड्न पाउने व्यवस्था गर्न प्रस्ताब गरिएको छ ।

आगामी केही महिनाभित्रै यो व्यवस्था लागू हुने चापागाईंले जानकारी दिए ।


पुष्प दुलाल