कुनै बेला डोको-नाम्लो किन्ने पैसा नहुने म निरन्तरको मिहेनतले अहिले यो अवस्थामा पुगेँ



बाग्लुङ जिल्लाको विकट गाउँको सामान्य परिवारमा मेरो जन्म भएको हो । मेरो घरबाट गाडी चढ्न एक दिन हिँड्नु पर्थ्यो । अहिले घरसम्म बाटो बनिसकेको छ । मेरो परिवारमा एक भाइ र दुई बहिनी छन् । म परिवारको जेठो सन्तान हुँ ।

म १६ वर्षको हुँदा बुवाको मृत्यु भयो । त्यतिबेला भाइ हेमराज १० वर्षको थियो । एसएलसी परीक्षा दिन जिल्ला सदरमुकाम गएको बेला बुवाको मृत्युको खबर सुनें । जसका कारण मेरो परीक्षा राम्रो हुन सकेन र फेल भएँ ।

१६ वर्षको उमेरमा बुवा गुमाउनु परेको पीडा थियो । यस्तो पीडा भोग्नेले मात्रै महशुस गर्न सक्छन् । एकाएक नसोचेको जिम्मेवारी ममा आयो । आमा, भाइ र बहिनीको राम्रोसँग ख्याल गर्नु पर्ने मेरो सबैभन्दा ठूलो जिम्मेवारी थियो ।

गाउँमा आधारभूत आवश्यकता समेत कसरी पुरा गर्ने भन्ने चिन्ता हुन्थ्यो । गाउँघरमा डोको, नाम्लो, भकारी, थुन्से जस्ता सामान किन्नसमेत पैसाको अभाव हुन्थ्यो । मैले घरमा आवश्यक पर्ने यस्ता सबै सामान आफैं बनाउन सिकेको थिएँ । जसले गर्दा हामीलाई घर व्यवहार चलाउन केही सहज भयो । आफूले देखेका सबै काम सिक्नु पर्छ भन्ने मेरो सानैदेखिको सोच थियो ।

बुवा बित्नु भएको एक वर्षपछि मात्रै मैले एसएलसी पास गरें । एसएलसी पास भएपछि उच्च शिक्षाका लागि काठमाडौं जाने निर्णय गरें ।

घरबाट पैसा ल्याएर काठमाडौंमा घर भाडा तिर्ने, पढाई खर्च जुटाउन सक्ने आर्थिक अवस्था मेरो थिएन ।

त्यसैले, ठमेलमा एक कोल्डस्टोर शुरु गरें । आकारमा कोल्ड स्टोर सानै भएपनि लुक्लासम्म व्यापार गर्थ्यो । कोल्डस्टोरमा काम गर्दा गर्दै राष्ट्रिय वाणिज्य बैंकमा विज्ञापन खुल्यो ।

काठमाडौं बाहिरबाट आएका व्यक्तिमा सरकारी जागिर खानु पर्छ भन्ने सोच हुन्थ्यो । जसले गर्दा बैंकको सहायक पदमा आवेदन दिएँ । लिखित परीक्षामा सफल भएँ । अन्तर्वार्ताका लागि थप मिहेनत गरें र, अन्तर्वार्तामा पनि सफल भएँ । त्यस बखत बैंकको प्रमुख कार्यकारी अधिकृत पृथ्वीबहादुर पाँडे हुनुहुन्थ्यो ।

अझै पनि याद छ, २०४५ जेठ २ गते मलाई न्यूरोडको विशालबजार शाखामा पठाइयो । मेरो तलब ५४५ रुपैयाँ थियो । कार्यालय समय १० देखि ५ ।

तर, मैले कहिल्यै १०-५ मात्रै काम गरिन । १० बजेभन्दा अगाडि म कार्यालय पुग्थें । ५ बजेपछि पनि काम गरिरहेको हुन्थें ।

कार्यालय समय बाकेहको अवधिमा मैले राष्ट्र बैंकमा रिपोर्टिङ गर्न आवश्यक डक्कुमेन्ट तयार गर्थें । केही साथीहरुले मलाई तिमीले ओभरटाइम काम गर्दा पनि पाउने भनेको ५४५ रुपैयाँ मात्र हो । हामीले १० देखि ५ काम गर्दा पनि त्यहीँ ५४५ रुपैयाँ पाउँछौं । तिमी बैंकका लागि यति लामो समय किन काम गर्छौं भन्ने प्रश्न गर्थे । तर, मैले कहिल्यै त्यस्तो सोचिन ।

निरन्तर काम गर्ने बानी भयो भने आफैंलाई लाभ हुन्छ भन्नेमा म ढुक्क थिएँ । त्यसैले पनि कहिल्यै मनमा केही नसोची काम गरेको थिएँ । त्यसले मलाई मेहनत गर्न सिकायो ।

अहिलेको पुस्तामा तत्काल रिर्टन खोज्ने बानी छ । मेहनत नगरी प्रतिफल प्राप्त हुँदैन भन्ने बुझ्नु पर्छ ।

विशालबजार शाखामा ग्रार्मेण्ट र कार्पेट निर्यातको काम गर्ने व्यक्तिहरु आउने गरेका थिए । मलाई पनि गार्मेण्ट र कार्पेट निर्यात सम्बन्धी व्यवसाय गर्नु पर्छ भन्ने लाग्यो । आन्तरिक उत्पादनलाई देश बाहिर पठाउनु पर्छ भन्ने मलाई पनि लाग्यो । जसले गर्दा निर्यातसम्बन्धी काम गर्न संस्था दर्ता गरें ।

शुरुका दिनहरु कठिन थिए ।

नेपालबाट कार्गो पठाउन सजिलो थिएन । मैले काम शुरु गरेपछि कयौं साथीहरुले सहयोग गरेनन् । मैले पहिलोपटक नेपालबाट ५०० केजी कार्पेट पठाउँदा नेपाल वायु सेवा निगमले मेरो कम्पनीको सामान लैजानै मानेन ।

मेरो कम्पनीले पठाउन लागेको सामान नलैजानू भनेर निगमका हाकिमलाई पुराना व्यवसायीले खबर गरिसकेका थिए । जसले गर्दा निगमका हाकिमले मेरो कम्पनीको सामान लैजान मानेनन् ।

मैले उहाँलाई आफूले पहिलोपटक काम गर्न लागेकाले सहयोग गर्न आग्रह गरें । तर, उहाँले मेरो कुरा सुन्नै चाहनु भएन । तपाईं बाहिर जानु हुन्छ कि गलहत्याएर निकालौं भन्ने चेतावनी दिनु भयो । मैले हरेस नखाइ फेरि पनि उहाँसँग सहयोगको याचना गरें ।

मैले धेरै करगरेपछि उहाँले रिसाउँदै तपाई जानु हुन्छ कि गार्ड लगाएर निकालौं भनेपछि म उहाँको कार्यालयबाट अपमानित भएर निस्किएँ ।

मेरो पहिलो कन्साइन्मेन्ट विदेश जान सकेन । तर, मैले निराश भइनँ ।

निरन्तर प्रयास जारी राखें ।

केही समयपछि हामी कार्गो सम्बन्धी काम गर्ने निकै राम्रो कम्पनी बन्यौं । इमान्दारीता साथ काम गर्यो भने नतिजा आउँछ । निर्यात सम्बन्धी काम राम्रै चलेको थियो । त्यसै बखत नेपालबाट विदेश जाने क्रम बढेको थियो । तर, विदेशबाट पैसा पठाउन मिल्ने सजिलो विकल्प थिएन ।

कयौं व्यक्ति ठगिएको, विदेशबाट पठाएको पैसा चोरी भएको जस्ता समाचारहरु सुनेको थिएँ ।

वैदेशिक रोजगारीमा गएका नेपालीले कमाएको पैसा उहाँहरुको घरसम्म पुग्ने प्रणाली बनाउन सक्यो भने राम्रो व्यवसाय हुन सक्ने अवसर देखें । सरकार र वैदेशिक रोजगारीमा भएका व्यक्तिलाई लाभ हुने प्रणाली बनाउन लागें ।

त्यसपछि हामीले २००१ मा मलेसियाबाट औपचारिक प्रणालीबाट पैसा ल्याउन आइएमई शुरु गरेका थियौं ।

हुण्डी कारोबारीको चंगुलमा रेमिट्यान्स व्यवसाय थियो । शुरुवातका दिनहरु निकै कठिन भएको थियो ।

राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावलले व्यवसाय शुरुवात गरेको दिन त्यसबखतका एक जना डेपुटीगभर्नरले ढकालले गार्मेण्ट र कार्पेटबाट कमाएको पैसा डुवाउने भयो भन्ने टिप्पणी गरेको सुनाउनु भयो ।

राष्ट्र बैंकमा मान्छेहरु नै औपचारिक माध्यमबाट पैसा ल्याउन सम्भव छैन भन्ने गर्थे ।

मैले रेमिट्यान्स व्यवसायमा अवसर देखेको थिएँ । विस्तार आईएमई सफल कम्पनी मात्रै नभएर ब्राण्ड नै भयो । विदेशबाट पैसा पठाउनुलाई नै आईएमई गर्ने भनिन थाल्यो । राष्ट्र बैंकमा समेत आईएमईको लाइन्सेन्स लिनु पर्यो भनेर व्यवसायीहरु पुग्नुभयो ।
मलाईं सधैं नयाँ नयाँ काम गर्नु पर्छ भन्ने लाग्थ्यो ।

मलेसियाको जेन्टिङ हाइल्याण्डस् पुगेपछि नेपालमा पनि शहर नजिकै ठूलो पर्यटकीय पूर्वाधार बन्न सक्छ भन्ने लाग्यो ।

त्यसपछि हामीले पर्यटन क्षेत्रमा काम गर्ने योजना बनायौं । मलेसियाको जेन्टिङ हाइल्याण्डस् जस्तै चन्द्रागिरिमा समेत पर्यटकीय पूर्वाधार बन्ने सम्भावना देख्यौं ।

चन्द्रागिरिको काम निकै कठिन थियो । सरकारी निकायबाट अनुमति लिनमात्रै ५ वर्ष लाग्यो । अनुमति पाएको २ वर्षमै हामीले चन्द्रागिरिको निर्माण सम्पन्न गर्यौं । अहिले चन्द्रागिरि विदेशी पाहुनालाई देखाउन मिल्ने महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बनेको छ ।

केही व्यक्तिले चन्द्रागिरि बनाउने आइडिया शेयर गर्दा चन्द्रले अलिअलि कमाएको पैसा डाँडोमा लगेर डुबाउने भयो भन्ने गरेका थिए ।

अहिले अवस्था फेरिएको छ ।

देशभरका कयौं डाडाँमा चन्द्रागिरि जस्तो पूर्वाधार बनाउन साझेदारी गर्नु पर्यो भन्ने प्रस्ताव आउने गरेका छन् । मेरो अनुभवमा कुनै पनि काम गर्दा तीनवटा पक्षमा ध्यान दिनु पर्छ । पहिलो, यस्तो काम गर्नुस्, जसले जनलालाई सेवा दिन सकोस् । दोस्रो, सरकारले पनि सहयोग गर्ने काम गर्नु पर्छ । तेस्रो, काम व्यवसायीक हुन पर्छ । व्यवसायीक भएन भने काम नियमित गर्न सकिँदैन ।

हामीले यही सिद्धान्तमा काम गरिरहेका छौं । कुनै पनि काम सहज हुँदैन । कुनै पनि काम शुरुमै ठूलो पनि हुँदैन । विस्तारै सानो काम ठूलो बन्न सक्छ ।

बस भाडा, घर भाडा कसरी तिर्ने भन्ने स्तरबाट निरन्तरको मेहनतले म अहिलेको अवस्थामा पुगेको छु । अहिले त अवस्था निकै सहज छ । आइडिया भयो भने फण्डिङ एजेन्सीहरु छन् । इमान्दारिता र लगन भयो भने सफल हुन सकिने सम्भावना छ ।

(नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनमा व्यक्त गरेको विचारको अंश ।)


क्लिकमान्डु