बीमा कम्पनीको ध्यान लघुबीमातर्फ, ५०० प्रतिशतले बढाए व्यवसाय



काठमाडौं । बीमा कम्पनीहरुको ध्यान लघुबीमातर्फ केन्द्रित भएको छ । भर्खरै लाइसेन्स पाएका नयाँ लघुबीमा कम्पनीहरु सञ्चालनमा आउने तयारी गरिरहँदा पूराना बीमा कम्पनीहरुले भने ५०० प्रतिशतले व्यवसाय बढाएका हुन् ।

सञ्चालनमा रहेका बीमा कम्पनीहरुले ९८ करोड ४३ लाख रुपैयाँको लघुबीमा व्यवसाय गरेका छन् । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा तीन करोड १२ लाख रुपैयाँको लघु निर्जीवन र ९५ करोड ३१ लाख रुपैयाँको लघुजीवन बीमा व्यवसाय गरेका हुन् । साउनको तुलनामा मंसिरमा लघुबीमा व्यवसाय ५१९.२१ ले बढेको हो ।
चालु आवको साउन महिनामा कम्पनीहरुले १५ करोड ८९ लाख रुपैयाँको लघुबीमा व्यवसाय गरेका थिए । उक्त महिनामा १५ करोड २६ लाख रुपैयाँको जीवन लघुबीमा र ६३ करोड रुपैयाँको लघु निर्जीवन बीमाको व्यवसाय गरेका थिए ।

लघु जीवन बीमा व्यवसाय ५२४.२९ प्रतिशतले बढ्यो

लघु जीवन बीमा व्यवसाय ५२४.२९ प्रतिशतले बढेको छ । कम्पनीहरुले मंसिर महिनासम्ममा ९५ करोड ३१ लाख रुपैयाँको लघु जीवन बीमा व्यवसाय छन् । मंसिरसम्मा कम्पनीहरुमा सक्रिय लघुबीमालेखको संख्या ४३ लाख ५७ हजार ८६ वटा रहेको छ । कम्पनीहरुले साउन महिनामा १५ करोड २६ लाख रुपैयाँको लघु जीवन बीमा व्यवसाय गरेका थिए । साउनमा दुई लाख एक हजार ८७४ वटा बीमालेख जारी भएका थिए ।

निर्जीवन लघुबीमा व्यवसाय ४ सय प्रतिशतले बढ्यो

साउन महिनाको तुलनामा मंसिर महिनासम्ममा ३९६.२६ प्रतिशतले निर्जीवन लघुबीमा व्यवसाय बढेको छ ।

कम्पनीहरुले साउन महिनाको अवधिमा ६३ लाख ३ हजार रुपैयाँको लघुबीमा व्यवसाय गरेका थिए । जुन कुल निर्जीवन बीमा व्यवसायको ०.१४ प्रतिशत हुन आउथ्यो । उक्त अवधिमा कम्पनीहरुमा लघुबीमाका २ हजार ९०९ वटा बीमालेख जारी भएका थिए ।

कम्पनीहरुले मंसिरसम्ममा ३ करोड १२ लाख ७९ हजार रुपैयाँको व्यवसाय गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायको ०.२० प्रतिशत हुन आउँछ । कम्पनीहरुले लघुबीमाका १५ हजार ८५ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् । साउनमा दुई हजार ९०९ वटा बीमालेख जारी भएका थिए ।

कम्पनीहरुले टेर्दैनन् सरकारको निर्देशन

सरकारले कम्पनीहरूलाई आफ्नो कुल व्यवसायको १० प्रतिशत लघुबीमा व्यवसाय गर्न निर्देशन दिएको थियो  । सरकारले लघु बीमा कार्यक्रमलाई विस्तार गर्नका लागि आर्थिक वर्ष २०७५÷०७६ को बजेट उक्त सीमा तोकेको थियो ।

तर, कम्पनीहरुले उक्त निर्देशनलाई मान्दै आएका छैनन् । मंसिरसम्ममा कम्पनीहरुले गरेको कुल बीमा व्यवसायमा लघुबीमाको हिस्सा १.३० प्रतिशतमात्रै हुन आउँछ ।

समितिले लघुबीमा निर्देशिका, २०७६ लाई संशोधन गर्दै ५ लाख रूपैयाँसम्मको लघुबीमा पोलिसी बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।

समितिले गरेको नयाँ व्यवस्थाअनुसार ३ लाख रूपैयाँसम्मको जीवन लघुबीमा (सावधिक, म्यादी, अन्य) गर्न सकिन्छ ।

यस्तै, लघु निर्जीवन बीमा व्यवसाय अन्र्तगत निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति लघुबीमा, घर लघुबीमा, दुर्घना लघुबीमा, स्वास्थ्य लघुबीमा, घातक रोग लघुबीमा, कृषि लघुबीमा र समितिले तोकिए बोजिमको अन्य लघु निर्जीवन बीमाको व्यवसाय गर्न पाउने व्यवस्था छ ।

लाइसेन्स पाएका नयाँ लघुबीमा कम्पनीको कारोबार कहिले ?

प्राधिकरणले भदौ १० गते एक सूचना जारी गर्दै लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको थियो । लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएका थिए ।

तीमध्ये प्राधिकरणले मंसिर ११ गते जीवनतर्फ तीन र निर्जीवनतर्फ चार लघुबीमा कम्पनीहरुलाई लासेन्स वितरण गरेको थियो ।

लाइसेन्स पाएका ती कम्पनीहरुले केही महिनाभित्रै कारोबार थालनी गर्ने प्राधिकरणको भनाइ छ । कम्पनीहरु कम्पनी रजिष्टर कार्यालयमा दर्ता भईसकेका छन् ।

प्राधिकरणले लघु जीवन बीमा ब्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमा र लघु निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पाएका थिए ।


क्लिकमान्डु