डिप्रेसनमा थिएँ, अब २ वटा कोठामा बसेर भए पनि ऋण तिर्छु: अग्रवाल



काठमाडौं । सेतै दाह्री, चुच्चे क्याप, कालो ज्याकेट, कालै पाइन्ट र कालै जुत्ता लगाएका नेपालका पुराना व्यवसायी अमित अग्रवाल मञ्चमा एक्लै थिए ।

३० वर्षदेखि व्यापार व्यवसायमा नाम कमाएका एलायन्स डिष्ट्रिब्युसन, ग्रीनलाइन सेन्टर, अमि अभि स्टोरका सञ्चालक अमित अग्रवालका बारेमा पछिल्लो एक महिनादेखि मिडियामा विभिन्न समाचार आइरहेका थिए ।

बैंक तथा वित्तीय संस्था तथा साथीसँग लिएको ऋण तिर्न नसकेपछि अग्रवाल भारतमा भागेको भन्ने समाचार आए । उनीमाथि ठूलो आरोप थियो, ‘ऋण तिर्न नसकेर टाट पल्टिएका अग्रवाल ३ अर्ब रुपैयाँ लिएर भागे ।’

शुक्रबार दिउँसो भने उनले एक्कासी पत्रकार सम्मेलन राखे र उपस्थित भएका झन्डै २ दर्जन पत्रकार सामू उनले आफ्नो कथाव्यथा सुनाए ।
आफ्ना भनाइलाई प्रिन्टमा उतारेर ल्याएका अग्रवालले पढेर सुनाए । पढ्ने काम सकिएपछि पत्रकारबाट तेर्सिएका तिखा प्रश्नको सामना गरे ।

‘तपाईंले बैंक तथा गैर बैंकिङ क्षेत्रबाट ऋण लिएर तिर्न नसकेपछि बैंकले ताला लगाएको छ । गैरबैंकिङबाट तपाईंलाई याताना समेत दिएको सुनिन्छ । यस्तो परिस्थितिमा अब तपाईंले कसरी समस्या समाधान गर्नुहुन्छ,’ एक पत्रकारले प्रश्न गरे ।

उनले ऋण तिर्न आफूसँग पर्याप्त धितो रहेको दाबी गर्दै बिस्तारै ऋण तिर्ने बताए । उनले अहिले ८० करोड जति ऋण रहेको र त्यसवापत १ सय करोड रुपैयाँ बराबरको धितो रहेको दाबीसमेत गरे ।

उनका अनुसार एभरेष्ट बैंकमा ५ करोड रुपैयाँको ऋण छ । त्यसका लागि ज्ञानेश्वरमा भएको जग्गा तथा चार करोड रुपैयाँ गरी २८ करोड ६० लाख रुपैयाँ बराबरको धितो राखेको बताए ।

त्यस्तै, ग्लोबल आइएमई बैंकमा ७ करोड ५० लाख रुपैयाँ ऋण र ५० लाख रुपैयाँ ब्याज गरी ८ करोड रुपैयाँ ऋण छ । उक्त बैंकबाट ऋण लिनका लागि काठमाडौं ज्ञानेश्वरमा भएको १३ आना २ पैसाको जग्गा धितोमा राखिएको छ । यसको बजारको मूल्य अहिले १२ करोड रुपैयाँ पुगेको उनले बताए ।

साथै, मेगा बैंकमा २३ करोड ऋण र डेढ करोड रुपैयाँ ब्याज पुगेको उनले जानकारी दिए । उक्त ऋण लिनका लागि कालिमाटीमा रहेको २२ आना जग्गा, २ वटा घर तथा उक्त बैंकमा २ करोड रुपैयाँ बराबरको सेयर, बजारबाट उठ्न ५ करोड गरेर २९ करोडको धितो राखेको उनले दाबी गरे ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकमा २८ करोड ५० लाख रुपैयाँ साँवा र डेढ करोड रुपैयाँ ब्याज गरी ३० करोड रुपैयाँ ऋण छ । चन्द्रगढीको २२ आना जमिन, १५ करोड रुपैयाँको स्टक, बजारबाट उठाउनु पर्ने रकम १८ करोड रुपैयाँ गरेर ३३ करोड रुपैयाँको धितो राखेको उनले जानकारी गराए ।

‘समग्रमा हेर्दा बैंक तथा वित्तीय संस्थामा मैले ७५ करोड रुपैयाँदेखि ८० करोड रुपैयाँ तिर्न बाँकी छ,’ अग्रवालले भने, ‘ती बैंक तथा वित्तीय संस्थामा १ सय करोड बराबरको धितो पनि छ ।’

साथै, उनले आफ्नो बजारबाट उठ्न बाँकी २५ करोड बराबर रकम रहेको बताए ।

‘मिडियामा आएजस्तो ३ अर्ब रुपैयाँ खाएर भागेको भन्ने कुरा विल्कुलै सत्य होइन,’ उनले दाबी गरे ।

सबैभन्दा पहिले बैंकको ऋण सल्टाउने उनले योजना सुनाए ।

‘म बरु दुईवटा कोठामा बस्छु तर ऋण तिर्छु,’ उनले भने, ‘अलिकति समय त पक्कै लाग्छ तर सबै समस्या समाधान गर्छु ।’

उनले नयाँ उद्योग चल्न शुरु भएको र आफूले प्रशस्त धितो राखेको भन्दै छिट्टै ‘रिभाइभ’ हुने विश्वास दिलाउने प्रयास गरे ।

पत्रकारसामू अग्रवाल केही कन्फिडेन्ट देखिन्थे । पत्रकारको प्रश्नलाई हाँसीहाँसी उत्तर दिइरहेका थिए ।

यसैबीच पत्रकारले अग्रवालमाथि अर्को प्रश्न तेर्साए, ‘मिटर ब्याजमा पैसा लगानीबाट ऋण लिनु भएको भन्ने कुरा के हो ?’

‘मैले पनि मिटर ब्याजीबाट ऋण लिएको समाचार प्रशस्त पढेँ,’ उनले भने, ‘त्यस्तो केही होइन, साथीहरुसँग भने लिएको हो ।’

‘तर, तपाईं आफैंले पत्रमा यो कुरा उल्लेख गर्नु भएको छ ?,’ फ्लोरबाट अर्को प्रश्न आयो ।

आफूले साथीभाईसँग २४ प्रतिशतसम्म ब्याज तिर्ने गरी ऋण लिएको कुरालाई आफ्ना बुबाले मिटर ब्याज भनेर उल्लेख गरेको बताए ।

‘बुबा पुरानो जमानाको मान्छे । बैंकबाट १० प्रतिशत ब्याजमा उहाँ ऋण लिएको बानी मैले साथीभाई (सहकारी सञ्चालकहरु)बाट २४ प्रतिशतसम्मको ब्याजमा ऋण लिँदा मिटर ब्याज भन्नु भएको हो, मिटर ब्याज नै भने होइन,’ उनले भने ।

‘त्यसपछि बुबा एकदमै तनावमा आएर डिप्रेसनमा जानु भयो,’ उनले पत्रकार सामू भने, ‘मारवाडी परिवारको इज्जत गयो । मान्छेको फोन आइरहेका छन् । अब म आत्महत्या गर्छु भन्ने अवस्थामासमेत पुग्नुभयो ।’

त्यसदिन करिब ४ घण्टा जति अग्रवालको घरमा तनाव सिर्जना भयो । अग्रवाल आफैं पनि तनावमा परे । आत्महत्यासम्मको कुरा गर्ने बुबालाई सम्हाल्नु पर्ने भयो । उता, ग्रीनलाइन कम्पनीको व्यापार हेरिरहेका भाईलाई पनि सम्झाउनु पर्ने भयो ।

अवस्था गम्भीर भएपछि उनले परिवारमा प्रस्ताव राखे- ‘दुई-चार दिन भारततिर जाऊ । तपाईं (बुबा)को उपचार पनि गरौंला । माइन्ड फ्रेस पनि हुन्छ ।’

उनको योजनाअनुसार बुबाको उपचार गर्ने र भाइ उतै भारतमा बस्ने । र, दुई-तीन दिनपछि नेपाल फर्किने अग्रवालको योजना थियो ।

उनीहरु काठमाडौंबाट मुग्लिङ र वीरगञ्जको बाटो हुँदै सपरिवार रक्सौल पुगे । त्यसपछि केहीदिन रक्सौलाको एउटा लजमा बसे ।

उनको योजना बुबाको उपचारका लागि दिल्ली जाने थियो । कोभिडका कारणले प्लेन टिकट पाउन गाह्रो भयो । त्यसैले चार दिन रक्सौलमा बसेको उनको भनाइ छ ।

उनका अनुसार यहाँबाट जाँदा उनकी छोरीलाई कोरोना संक्रमण भइसकेको थियो । एउटै गाडीमा छोरीसँगै जाँदा परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण भएको उनले सुनाए ।

‘म त्यहाँ १० दिनजति हस्पिटलाइज्ड भएँ,’ अग्रवालले भने, ‘म आफैं पनि डिप्रेसनमा गइसकेको थिएँ ।’

यसबीचमा उनीहरु पूर्णरुपमा सम्पर्कविहीन थिए । यता मिडियामा भने उनका बारेमा कैयन समाचारहरु आउन थालिसकेका थिए ।

उनले आफू राजधानी छाडेको करिब १० दिनपछि समाचार पढेको बताए । समाचारमा भनिएको थियो, ‘तीन अर्ब रुपैयाँ लिएर अमित अग्रवाल भाग्यो ।’

‘यो समाचार पढ्दा धेरै तनाव भयो,’ उनी भन्छन् ।

‘यस विषयमा त्यतिबेला नै स्पष्ट पार्न सक्नुहुन्थ्यो होला नि,’ पत्रकारको अर्को प्रश्न आयो ।

‘३० हजार रुपैयाँ खल्तीमा छैन, मिडियाले ३ सय करोड लेखिरहेको छ,’ उनले भने, ‘मेरो सारा सम्पत्ति यही नै थियो ।’

उनले यता काठमाडौंमा साथीभाइलाई सम्पर्क गरे । प्रहरीमा केही उजुरी परेको छ कि भनेर बुझ्न पनि लगाए ।

‘उजुरी केही पनि छैन,’ काठमाडौंबाटै साथीहरुले भनिदिए, ‘उजुरी केही छैन तर मिडियामा एकदमै धेरै आइरहेको छ ।’

उनलाई अर्को सल्लाह पनि दिए- ‘तपाईंले कुनै त्यस्तो गल्ती गर्नु भएको छैन भने किन भाग्नु पर्यो । यहाँ आएर आफ्नो कुरा स्पष्ट राख्नुस् ।’

उनलाई काठमाडौंमा आएर अनुहार देखाउन समेत लाज भयो । ‘बुबाले पनि त्यो माहोल कसरी फेस गर्छौं,’ भनेर सोधिरहनु भयो ।

‘त्यही बीचमा बैंकहरुसँग केही सम्पर्क वा सल्लाह गर्नु भयो त ?’ उनलाई अर्को प्रश्न आयो ।

उनले त्यसबीचमा बैंकमा पनि बुझ्ने काम गरे ।

‘पहिला जे जस्तो भयो, ताल्चा लगाउने काम भयो,’ बैंकहरुको सुझाव उनीसँग पुग्यो, ‘अब यहीँ आएर समस्या समाधान गर्नुस् ।’

प्रहरी प्रशासनले पनि सहयोग गर्ने बाचा दियो ।

‘गल्ती गर्नु भएको छैन भने हामीले केही गर्दैनौं,’ प्रहरीले भन्यो ।

‘यति भएपछि हामी फर्किएर आयौं,’ अग्रवालले भने ।

‘तपाईंहरुले सुरक्षा थ्रेड छ भन्नु भएको छ । गैर बैंकिङबाट ऋण दिएकाहरुले फर्किएर आएपछि त्यस्तो थ्रेड आएको छ कि छैन ?,’ उनलाई अर्को प्रश्न गरियो ।

उनले गैरबैंकिङबाट ऋण दिएकाले हातपात नगरेको तर धम्की र टर्चर भने दिएको बताए ।

‘ममाथि हातपात केही भएको भने होइन,’ उनले भने, ‘फोनबाट पैसा देऊ, नदिए राम्रो हुनेछैन भन्ने सम्मका धम्की भने आए ।’

पछि उनैसाथीभाइले सहयोग गरिरहेका जानकारी गराए ।

‘तपाईंसँग विभिन्न कारोबार जोडिएकामध्ये आरपी ग्रुपका रुपेश पाण्डे, ग्रीनलाइन पसलका घरबेटी सुनिल श्रेष्ठ, पूर्वएसपी दीपक रञ्जितलगायतबाट ऋण लिएको भन्ने आएको छ । उहाँहरुले नै तपाईंलाई मिटर ब्याजमा पैसा दिएको भन्ने छ । यसबारेमा भन्दिनुस् न,’ अर्को प्रश्न आयो ।

यो प्रश्नमा उनले पारिवारिक सम्बन्ध भएको र पहिलेदेखिको कारोबार भइरहेको बताए ।

‘उहाँहरुसँग मेरो सम्बन्ध २० वर्षदेखि कै हो,’ उनले भने ।

उनीहरुसँग मिटर ब्याजभन्दा पनि व्यवहारिक कारोबार गरेको उनको भनाइ छ ।

पत्रकारको थप प्रश्न गरे पछि भने उनले भने, ‘उहाँहरु सहकारीको मान्छे हो । मिटर ब्याजभन्दा पनि ऋण लिएको हो भन्दा उचित हुन्छ ।’

‘गैर बैंकिङ च्यानलबाट कति ऋण लिनु भएको छ ? र, को–कोसँग ऋण लिनु भएको छ ? ती व्यक्तिको चरम दबाबका कारण भारत गएको भन्ने समाचारहरु प्रकाशित भएका छन् ? यसबारेमा पनि स्पष्ट पारिदिनुस् न ?’

‘यो देश नै छोडेर भाग्ने अवस्था किन आयो ? यो पनि भन्दिनुस् न,’ पत्रकारबाट यस्तै अनेक प्रश्न आए ।

कोभिडले व्यापार व्यवसायमा धेरै गाह्रो पारेको उनले बताए । २०७२ सालमा नवलपरासीमा सागर डिष्टिलरी खोल्ने भनेर योजना बनाए । त्यसका लागि चाहिने ऋण लिए र लगानी गरे ।

२०७३ असोजसम्म सरकारले उनलाई समयावधि दिएको थियो । उनले एनआइडीसी बैंकबाट उनले उक्त उद्योगका लागि ऋण लिएका थिए ।

२०७२३ असोजपछि सरकारले उनको म्याद थप गरिदिएन । लगानी भएर पनि प्रतिफल पनि नआउने भयो । बैंकको ऋण पनि थप भएन । यसले थप समस्या हुँदै गयो ।

बैंकले ऋण नदिएपछि उनले आफ्ना पुराना साथीभाइसँग ऋण लिन थाले ।

‘उद्योग सञ्चालनमा आएपछि तपाईंहरुको ऋण फिर्ता गर्छु,’ उनले बाचा गरेका थिए ।

तर उद्योग चलेन । यता कोरोनाको महामारीले व्यापार खस्किँदै गयो । कोरोना महामारीमा विदेशबाट मदिरा आयात भएन । भएको मदिरा बजारमा पठाए तर त्यसको पैसा उठेन ।

एक ठाउँको ऋण तिर्न अर्को ठाउँबाट ऋण लिन थाले । ऋणको ब्याज १२, १८ हुँदै २४ प्रतिशतसम्म पुग्थ्यो । तर आम्दानी सुक्दै गयो ।

‘म बिस्तारै फसिदै गएँ,’ उनले पत्रकारलाई आफ्ना कुरा सुनाए, ‘तीन वर्षदेखि त अति नै गाह्रो भयो ।’

२०७२ सालमा शुरु गरेको रक्सी उद्योग अहिले बल्ल शुरु भएको छ । शुरुमा एक्लै लगानी गरेका अग्रवालले पछि दुई जनालाई सेयर बिक्री गरेर तीन जना सञ्चालक भएका थिए । अहिले यी उद्योग सञ्चालनमा आएर बजारमा सामान आइसकेको उनले बताए ।

‘मलाई यसमा लागेको ऋण, ब्याज र अन्य खर्चका कारण गाह्रो भएको हो,’ उनले स्पष्ट पार्न खोजे ।

‘मिटर ब्याजीले चरम दबाब र धम्की दिएको र उनीहरुले तपाईंलाई टेकु प्रहरी परिसरमा पुर्याएको भन्ने पनि छ,’ पत्रकारले प्रश्न गरे, ‘तपाईंले विभिन्न साथीभाइसँग पैसा मागेको तर उनीहरुले यो डुबिसक्यो भनेर नदिएपछि भागेको भन्ने पनि छ ?’

‘मैले साथीभाइसँग पैसा मागेको पक्कै हो,’ अग्रवालले भने, ‘मागेको जतिलाई दशैं तिहारको कारोबार पछि तिरौंला भनेको थिएँ । तर, त्यो बेला व्यापार नै भएन ।’

‘तपाईंंले ज्ञानेश्वरको घर, जग्गा, कालिमाटीको घर, अपार्टमेन्टलगायत बेच्न भनेर बैना गरेको भन्ने छ । तपाईंले ती बेचेर निस्किने पहिलेका योजना त होइन ?,’ अर्को प्रश्न आयो ।

ज्ञानेश्वरको घर बैना गरेको उनले स्वीकार गरे । यो घर एभेरेष्ट बैंकको धितो भएकाले बैना लिँदा बैंकलाई जानकारी गराएको बताए । त्यस्तै, ग्लोबल आइएमई बैंकमा राखेको धितोको पनि बैना लिएको उनले बताए । पाँचवटा अपार्टमेन्टमध्ये २ वटाको मैना लिएको उनको भनाइ छ ।

‘यो पैसा सबै बैंकहरुलाई नै तिरेको हो,’ उनले भने ।


क्लिकमान्डु