७ संस्थामा सेयर सदस्य: जेष्ट सहकारीका सचिव ‘सिते बा’ ले कसरी फिर्ता गर्लान् सहकारीको सवा अर्ब रुपैयाँ ?



काठमाडौं । सामखुसीमा रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्था सचिव मधुसुदन पाठक एउटा मात्रै सहकारीमा आबद्ध छैनन् । उनी जेष्ट सहकारीका अलावा अन्य ७ वटा सहकारीमा सेयर सदस्य रहेका छन् । उनी हास्य टेलिश्रृंखला भद्रगोल, सक्किगोनीमा ‘सिते बा’ को भूमिकामा देखिने गरेका कलाकार हुन् ।

पाठककाअनुसार जेष्ट आइडोलोजि सेभिड एण्ड क्रेडिट संस्था मैतिदेवी, नेचुरल सेभिङ एण्ड क्रेडिट संस्था जोरपाटी, शुभलाभ सेभिङ एण्ड क्रेडिट संस्था कुलेश्वर, जिवनदीप सेभिङ एण्ड क्रेडिट संस्था न्यूरोड, नवललित बहुउद्देश्यीय सहकारी संस्था ललितपुर, समृद्ध काभ्रे कृषि सहकारी संस्था काभ्रेपलान्चोक र माछापोखरीमा रहेको गणना बहुउद्देश्यीय सहकारी संस्थामा उनी सेयर सदस्य छन्।

संघीय संसद, प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा दिएको बयानमा पाठकले आफूले सहकारी ऐन र प्रचलित कानून बमोजिम सहकारी सञ्चालन गरेको दाबी गरेका छन् ।

उनले सहकारी ऐन अनुसार आफू चलेको दाबी गरे पनि व्यवहारमा भने उनले कानुनको अवज्ञा गरेको पाइएको छ ।
कानूनअनुसार एकभन्दा बढी सहकारीको सेयर सदस्य बन्न पाइँदैन । अन्तर सहकारी कारोबार गर्न समेत पाइँदैन । तर, पाठकले अन्तर सहकारी कारोबार गरेको, विभिन्न आधा दर्जनभन्दा बढी सहकारीको सेयर सदस्य रहेको उनले बताएका छन् ।

मधुसुदन पाठक

पाठक सहकारी सञ्चालन गर्नु बाहेक सामूहिक कृषि व्यवसाय, सामूहिक रेष्टुरेन्ट व्यवसाय, फिटनेस क्लब तथा खेलकुद व्यवसाय र कलाकारिता तथा पत्रकारिता लगायत क्षेत्रमा रहेको बयान दिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पाठकले हाल संस्था सञ्चालनमा रहेको दाबी गरेका छन् । ऋण असुलीमा कठिनाइ तथा आर्थिक मन्दी मिडियाबाट अनावश्यक प्रचार प्रसार, अनावश्यक होहल्ला, चरम अविश्वासका कारण तरलता व्यवस्थापन गर्न समस्या परेको उनको भनाइ छ ।

पाठकले हाल सहकारी संस्थाको भल्टमा १६ लाख रहेको र बैंक मौज्दात नरहेको जनाएका छन् ।

ब्याजसमेत गरी करीब २ अर्ब २६ करोड ऋण लगानी भएको उनको भनाइ छ । विभिन्न स्थानमा रहेको जग्गाको हालको बजार मूल्य करीब १८ करोड ६५ लाख बराबरको रहेको उनको भनाइ छ ।

उनले विभिन्न चारवटा सहकारीमा अन्तरसहकारी कारोबार गरेको बयानका क्रममा स्वीकारेका छन् ।

पाठकका अनुसार जेष्ट आइडोलोजी सेभिङ एण्ड क्रेडिट, नवललित बहुउद्देश्यीय सहकारी संस्था, शुभलाभ सेभिङ एण्ड क्रेडिट, समृद्ध काभ्रे कृषि सहकारी संस्थासँग अन्तरसहकारी कारोबार गरिएको छ ।

सहकारीमा बचतकर्ताको फिर्ता गर्न बाँकी करिब १ अर्ब ३० करोड रहेको छ । सहकारीले राष्ट्रिय सहकारी बैंक, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ र काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघहरुलाई ४४ करोड ४१ लाख रकम तिर्न बाँकी रहेको छ ।

व्याज समेत गरी करीब २ अर्ब २६ करोड ऋण लगानी भएको उनको दाबी छ ।

पाठकले शुभलाभ बचत तथा ऋण सहकारी, नवललित बचत तथा ऋण सहकारी संस्था लि. र समृद्ध बचत तथा ऋण सहकारी संस्थामा सेयर सदस्य रहेको र व्यक्तिगत रुपमा बचत तथा ऋणसमेतको कारोबार रहेको बयान दिएका छन् ।

सहकारीमा बचत फिर्ता गर्न नसकेका उनले ऋण असुलीमा उल्लेखनीय सहयोग, तरलता व्यवस्थापनको लागि पुर्न कर्जाको व्यवस्था, कर्जा सुरक्षण केन्द्रसहित विश्वासका लागि सहकारी नीतिको विशेष कार्यान्वयन भएमा र अवमूल्यन भएको सम्पत्तिको उचित मूल्याङ्कन हुने अवस्था सिर्जना भएमा बचत फिर्ता गर्न सक्ने दाबी गरेका छन् ।

सहकारी संस्थाको समस्या समाधान गर्न तपाईं, तपाईंको परिवार, सरकार, कर्जा लिएको बैंकले के–के गर्नु पर्ला ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘ऋण असुली र सुरक्षित तरिकाले दैनिक कार्य सञ्चालन गर्न सक्नुपर्ने, परिवारको हकमा काम गर्ने उत्प्रेरणा प्रदान गर्ने गरी द्वन्द्व, लाञ्छना, आपसी मतभेद र दुर्व्यवहारपूर्ण नगरी समस्या समाधानमा सरसहयोग गर्नु पर्ने हुन्छ । परिवारभित्र रहेका कर्जा असुली व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने, बैंक तथा संघले सहकारीको सम्पत्ति हेरी तरलता व्यवस्थापनमा साथै दैनिक सहकारी सञ्चालनमा सहयोग गर्नका लागि विभिन्न कर्जा उपलब्ध गराउने र रहेको कर्जालाई पुनर्मुल्याङ्कन, पुनर्तालिकीकरण गरी थप कर्जा उपलब्ध गराउन सकिएमा समस्या समाधान हुनेछ ।’


क्लिकमान्डु