
कठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएका छन् ।
नक्खुस्थित एनसेल कार्यालयको सोमबार अवलोकनकाक्रममा मन्त्री खरेलले एनसेलको सेयरसम्बन्धी विवाद, भुक्तानी दायित्वलगायत सबै विवाद चाडो समाधान गरिनुपर्नेमा जोड दिए ।
‘राज्य र नागरिकको नजरमा एनसेलको विजनेस सम्मानीत हुनुपर्यो, जतिपनि विवाद छन् तीनको समाधान गरेर क्लिन विजनेश र सर्भिस दिनेतर्फ केन्द्रित हुन आग्रह गर्दछु । क्लिन विजनेशका लागि सरकारको साथ सहयोग रहन्,’ सञ्चारमन्त्री खरेलले भने।
सञ्चारमन्त्री खरेलले एनसेलको क्षतिको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताए ।
‘केही नीतिगत समस्या छन्, केही विवादहरु पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ’, उनले भने ।
सञ्चारमन्त्री खरेलले एनसेलको कार्यालय, डेटा सेन्टलको अवलोकन गरेका छन् । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएका थिए ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि एनसेलले नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । एनसेलका अनुसार करिब ६५ करोड बराबरको क्षति भएको थियो ।
अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताए । उनले एनसेलले जेनजीलाई लक्षित गरी ‘प्याक’ ल्याउन लागेको सुन्दा खुसी लागेको पनि उल्लेख गरे ।
‘मैले उहाँहरुलाई विद्यार्थी र जेनजीका लागि केही गर्नुहोस् भनेको थिए, उहाँहरुले नयाँ प्याकेज ल्याउँछौँ भन्नुभएको छ, त्यसबाहेक सगरमाथा आधार शिविर र केही दुर्गम स्थानमा टेलिकमको पहुँच बढाउने विषयमा उहाँहरुले आफ्नो योजना सुनाउनुभएको छ’, मन्त्री खरेलले भने ।
उनले एनसेलमा ठूलो क्षति भएको उल्लेख गर्दै सरकारबाट हुनसक्ने सहयोगका लागि तयार रहेको समेत बताए । एनसेलका अनुसार कम्पनीले जेनजीलाई लक्षित गरी प्याक सार्वजनिक गर्ने र मुलुकभरका १०० जना विद्यार्थीलाई रु एक करोड राशिको जेनजी छात्रवृत्ति पनि घोषणाको तयारी गरेको छ । एनसेलका तर्फबाट मन्त्री खरेललाई सगरमाथमा क्षेत्रको गोखरसेपसम्म थप पाँचओटा टावर थप गरी ‘फोरजी’ सेवा विस्तार गर्न लागेको जानकारी गराइएको थियो ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालको टेलिकम क्षेत्रको सेवा अन्तर्राष्ट्रिय स्तरको नभएको उल्लेख गर्दै सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुपर्ने धारणा राखे । उनले भने, ‘टेलिकम्युनिकेसन सेवा पछिल्लो समय मानिसका लागि अत्यावश्यक भइसकेको छ, त्यसैले सरकारले पनि यस विषयमा ध्यान दिनु आवश्यक छ ।’







प्रतिक्रिया