ऋण असुल गर्न बैंकहरुले ग्रीनलाइनका सञ्चालकको सम्पत्ति लिलामीमा राखे



काठमाडौं । बैंकहरुको करिब १ अर्ब रुपैयाँ ऋण नतिरेर फरार भएका ग्रीनलाइनका सञ्चालकको सम्पत्ति वाणिज्य बैंकले लिलामीमा राख्न थालेका छन् ।

ग्रीनलाइन र यसका सञ्चालकलाई ४ वटा वाणिज्य बैंकले ८० करोड रुपैयाँ कर्जा दिएको राष्ट्र बैंकमा विवरण बुझाएका थिए । अहिलेसम्म मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जा असुलको लागि सम्पत्ति लिलामको प्रक्रिया सुरु गरेका हुन् ।

मेगा बैंकले ग्रीनलाइनका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवालको अर्को कम्पनी एलायन्स डिस्ट्रिब्युटर्स प्रालिको नाममा रहेको जग्गा लिलाम गर्न लागेको हो । मेगा बैंकले कंलकी मालपोतमा दर्ता भएको जग्गा लिलाममा राखेको छ । मेगा बैंकले २५ करोड रुपैयाँ असुल गर्नुपर्ने छ ।

यसबाहेक ग्रीनलाइनका सञ्चालकको ज्ञानेश्वरमा रहेको घर तथा जग्गा समेत लिलाम गर्ने तयारी बैंकको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले रक्सीको बिक्री गर्ने प्रक्रिया सुरु गरेको छ ।

सन् १९९९ मा ओमप्रकाश अग्रवालले काठमाडौंमा ग्रीनलाइन खोलेका थिए । जुन काठमाडौंमा महंगो रक्सी पाइने पसलको नामा चर्चित थियो ।
ग्रीनलाइनका सञ्चालकले मिटर ब्याजीबाट लिएको ऋण तिर्न १ अर्ब जतिको सेयर समेत बेचेका थिए ।

ओमप्रकाशका छोरा अभिषेक र अमितको कारण ग्रीनलाइन संकटमा परेको हो । ओमप्रकाशको परिवार ऋण तिर्न नसकेर बेपत्ता भएको हो । प्रहरीले ओमप्रकाशको परिवारको खोजी कार्य जारी रहेको जनाएको छ ।


क्लिकमान्डु