हेलमेटको फित्ता नबाँधी बाइक चलाउने सांसद हर्क सामपाङलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही

0
Shares

काठमाडौं । ट्राफिक नियम पालना नगरी सवारी चलाएका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क सामपाङ) लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले सामपाङलाई कानूनी कारबाही गरेको हो ।

उनले केही समयअघि सामाजिक सञ्जालमा हेलेमटको फित्ता नबाँधी मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा हालेका थिए । साथै हातमा दुर्घटना भएजस्तो खत देखिएको थियो ।

सामाजिक सञ्जालमा मेयर साम्पाङले ट्राफिक नियम पालना नगरी सवारी चलाएको भिडियो र तस्बिरहरू सार्वजनिक भएपछि सर्वसाधारणले चर्को आलोचना गरेका थिए । सोही जनगुनासोका आधारमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले उनलाई कारबाही गरी जरिवाना तिराएको हो ।

नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सूचना जारी गर्दै भनेको छ, ‘सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानूनी कारबाही गरिसकेको जानकारी गराइन्छ ।’

कारबाहीको रसिद अनुसार उनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (१) अनुसार ‘लापर्बाही साथ सवारी चलाएको’ कसुरमा जरिवाना गरिएको देखिन्छ ।

यसैबीच, प्रहरीले सम्पूर्ण चालक, सहचालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र जिम्मेवार नागरिक बन्न समेत अनुरोध गरेको छ । कानुन सबैका लागि बराबर हुन्छ भन्ने सन्देश दिन प्रहरीले सांसद राईमाथि यो कारबाही गरेको हो ।

यसअघि सभामुख डीपी अर्याल, सांसद हरि ढकाललगायतलाई पनि ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ ।