मिटर ब्याजीको पैसा तिर्न ग्रीनलाइन संस्थापक ओमप्रकाश अग्रवालले बेचेका थिए १ अर्बको सेयर



काठमाडौं । बैंक तथा मिटर ब्याजीको पैसा तिर्न नसकेर बेपत्ता भएको व्यवसायी ओमप्रकाश अग्रवाल र उनको परिवारले पछिल्लो डेढवर्षमा १ अर्ब बराबरको सेयर बेचेको खुलेको छ । ओमप्रकाश अग्रवालले मिटर ब्याजीको कारण पैसा तिर्न नसकेको र बाँचेमा परिवारले पैसा तिर्ने भन्दै बेपत्ता भएका छन् ।

उनले सन् १९९९ मा स्थापना गरेको ग्रीनलाइन छोराहरुको महत्वाकांक्षाले गर्दा डुबेको हो । भारतको हरियाणाबाट नेपाल प्रवेश गरेका ओमप्रकाशले जनकपुरबाट नागरिकता बनाएका थिए । सन् १९९९ मा काठमाडौंमा ग्रीनलाइन खोलेका थिए ।

जुन विदेशबाट आयात हुने महंगा रक्सी पाइने पसलको रुपमा चर्चित भयो । ओमप्रकाशका छोराहरु अभिषेक अग्रवाल र अमित अग्रवालले महत्वाकांक्षाको ओमप्रकाशले खडा गरेको व्यवसायिक साम्राज्य ढलेको हो ।

डेढ वर्ष अगाडि ओमप्रकाश अग्रवाल सेयर बजारमा समेत ठूलो लगानीकर्ताको रुपमा चिनिन थालिसकेका थिए । उनले ५८ नम्बर ब्रोकर मार्फत सेयर कारोबार गर्ने गरेका थिए । मिटर ब्याजको फन्दामा परेपछि ओमप्रकाश अग्रवालले १ अर्बजतिको सेयर बेचेको देखिएको छ ।

‘डेढ वर्ष अगाडि साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक चुनिनेहरुको लागि मद्दत गर्ने खालको सेयर ओमप्रकाशजीसँग थियो,हामीले उहाँसँग सञ्चालकको लागि प्रोक्सी समेत लिएका थियौ,अहिले सेयर बेचेको देखियो,’एक बैंकमा सर्वसाधारणको तर्फबाट चुनिएका संचालकले भने । ५८ नम्बर ब्रोकरले नै ओमप्रकाश अग्रवालको पोर्टफोलियो व्यवस्थापन गर्ने गरेको थियो ।

अभिषेक र अमितले मदिरा उत्पादन तथा वाइन उद्योग समेत खोलेका थिए । सागर डिस्टिलरी र एलायन्स वाइन इन्ड्रस्ट्रिज राम्रोसँग चल्न नपाएपनि ब्याजको दवावको कारण बिक्री गरेका थिए । मदिरा र वाइन उत्पादन कम्पनी ५८ नम्बर ब्रोकरको मध्यस्तकर्तामा ओमप्रकाश अग्रवालले बिक्री गरेका थिए ।

मिटर ब्याज र बैंकको ऋण तिर्न नसकेपछि ओमप्रकाश अग्रवाल र उनको परिवार नै अहिले बेपत्ता भएको छ । ओमप्रकाश अग्रवालको घरमा प्रहरीले भेटाएको पत्रमा मिटरब्याजको कारण समस्यामा परेको बैंकले समेत सहयोगी भूमिका नखेलेको उल्लेख गरेका छन् ।

पछिल्लो समय ग्रीनलाइनका सञ्चालकले सबैको गरेर ३ अर्ब रुपैयाँ जति तिर्नुपर्ने देखिएको छ । जसमा अहिलेसम्म बैंकहरुले दिएको ८० करोड रुपैयाँ ऋण छ । जसमा ५० करोडजति नउठ्ने देखिएको छ । बाँकी पैसा मिटर ब्याजमा लिएको तथा सहकारी र रक्सी उत्पादन कम्पनी तथा बिक्रेताको रहेको छ ।


क्लिकमान्डु