महंगा रक्सी बेच्ने ग्रीनलाइनका सञ्चालक अभिषेक र अमित १ अर्ब ऋण नतिरी भागे



काठमाडौं । नेपालमा महंगा विदेशी रक्सी बिक्री गर्दै आएका ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवालले पाँच वाणिज्य बैंकको १ अर्ब रुपैयाँ बराबरको कर्जा नतिरी भागेका छन् ।

उनीहरु भागेपछि कान्तिपथस्थित कम्पनीको शोरुममा बैंकले ‘नोटिस’ टाँसेको छ । अग्रवाल दाजुभाई बैंकको ऋण नतिरी भारत पसेपछि हाल कम्पनीको कान्तिपथ र दरबारस्थित दुबै शोरुम एक सातायता बन्द छन् ।

कम्पनीमा अभिषेक अग्रवाल प्रबन्ध निर्देशक र अमित अग्रवाल प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

जनकपुर घर स्थायी घर भएका अग्रवाल दाजुभाईले विभिन्न ५ वटा बैंकबाट लिएको १ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ । अग्रवाल दाजुभाईलाई बढी ऋण दिएको नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले ग्रीनलाइनको पसलमा सूचना टाँस गरेका छन् ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले ५ वटा बैंकको पैसा ग्रीनलाइनका सञ्चालकले तिर्न बाँकी रहेको जानकारी आएको बताए । ऋण नतिरेपछि नोटिस टाँस गरेको उनले जानकारी दिए ।

‘कति रकम ऋण तिर्न बाँकी छ त्यो प्रष्ट नभएपनि एभरेष्टसहित ५ वटा बैंकले ऋण दिएका छन्,’ खालिङले क्लिकमाण्डूसँग भने ।

सन् १९९९ मा जनकपुरका ओमप्रकाश अग्रवालले ग्रीनलाइन सेन्टर कम्पनी स्थापना गरेका थिए । कम्पनीले महंगा विदेशी ब्राण्डका रक्सीहरु बिक्री गर्र्दै आएको थियो ।

बुबा ओमप्रकाशले शुरु गरेको कारोबार छोराहरुको पालामा आइपुग्दा कारोबार बढेपनि कोभिडको असर तथा नगद प्रवाहमा समस्या आएपछि अग्रवाल दाजुभाई ऋण तिर्न नसक्दा भागेका हुन् ।

स्रोतका अनुसार अभिषेक अग्रवाल २ महिनादेखि काठमाडौंमा छैनन् । उनी २ महिनाअघि भारत गएका थिए । अमित अग्रवाल एकसातादेखि सम्पर्कमा छैनन् । उनी एकसाता अगाडि भारत गएको अनुमान छ ।

बैंकहरुले धितोभन्दा बढी ऋण ग्रीनलाइन र अग्रवाल दाजुभाईलाई दिएका छन् । एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनलाई ब्यालेन्ससिटको आधारमा दिइने हाइपोथेटिकल कर्जा दिएका थिए ।
यस्तो कर्जा बैंकहरुले कम्पनीको ब्यालेन्ससिट तथा स्टकको आधार दिने हुँदा यसमा ऋण बराबरको धितो नै हुँदैन । खासमा ठूलो कारोबार गर्ने व्यवसायीले आफ्नो ब्यालेन्ससिटको आधारमा ऋण पाउने भएको हुँदा यसमा धितो नै हुँदैन भन्दा हुन्छ ।

अन्य ३ वटा बैंकले भने अन्य शीर्षकमा व्यक्तिगतरुपमा ऋण दिएका थिए । यसबाहेक सहकारीको समेत पैसा फसेको छ ।

रक्सी बिक्रेताका अनुसार कोभिडपछि ग्रीनलाइन र अग्रवाल दाजुभाईको व्यापारमा समस्या आएको हो । नगद प्रवाह बन्द भएपछि अग्रवाल दाजुभाईले मिटर ब्याज तथा सहकारीसँग समेत पैसा उठाएका थिए ।

होटल तथा रेष्टुराँलाई उधारोमा बिक्री गरेको मदिराको पैसा उठ्न नसकेको तथा जग्गा तथा अपार्टमेन्टमा गरेको लगानीबाट समेत फाइदा लिन नसकेपछि अग्रवाल दाजुभाई समस्यामा थिए । स्रोतका अनुसार केही रकम भने उनीहरुले तेस्रो मुलुक सेटल हुने गरेर पैसा पठाएपछि भागेका हुन् ।

ग्रीनलाइनलाइनसँग नेपालका ठूला भनिएका मदिरा तथा बियर कम्पनीको उधारो बाँकी छ । यसबाहेक महंगो मदिरा आयात गर्ने कम्पनी तथा फर्मको समेत पैसा लिन बाँकी छ । ग्रीनलाइनमा एक बोतलकै ६ लाख रुपैयाँभन्दा बढी मूल्य रक्सी समेत बिक्री हुँदै आएको थियो ।


क्लिकमान्डु