प्रहरी भन्छ- ग्रीनलाइनका अग्रवाल काठमाडौं आए, बैंकर भन्छन्- हाम्रो सम्पर्कमा आएका छैनन्



‘मैले पनि विभिन्न मिडियाहरुमा अग्रवाल बैंकको सम्पर्कमा आए भन्ने खबर सुनेँ,’ एभरेष्ट बैंकका सीइओ सुदेश खालिङले क्लिकमाण्डूसँग भने, ‘तर, अहिलेसम्म मेरो र हाम्रो बैंकको सम्पर्कमा आएका छैनन् । अरु बैंकको सम्पर्कमा आएको भए पनि मलाई खबर आइहाल्थ्यो बैंकको सम्पर्कमा आएको भन्ने समाचारहरु सरासर झुट हुन् ।’

काठमाडौं । विभिन्न व्यक्ति तथा संंस्थाको अर्ब रुपैयाँ नतिरी डेढ महिनाअघि भागेका ग्रीनलाइनका सञ्चालक काठमाडौं आइपुगेका छन् ।

आयातित महंगा मदिरा बिक्री वितरण गर्दै आएको ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल आफ्नो परिवारसहित काठमाडौं आएका हुन् ।

अमितका बाबु ओमप्रकाश र दाजु अभिषेक अग्रवालको परिवार भने काठमाडौं फर्किएको छैन ।

महानगरीय प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनालीले ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल काठमाडौं आएको पुष्टि गरे ।

‘अमित अग्रवालजी काठमाडौं आइपुग्नु भयो भन्ने खबर प्रहरीलाई प्राप्त भएको छ,’ एसपी मैनालीले क्लिकमाण्डूसँग भने, ‘तर, अहिले उहाँहरु कहाँ हुनुहुन्छ भन्ने कुरा भने मेरो जानकारी भएन ।’

तर, काठमाडौं आइपुगेका अग्रवाल बैंकरको सम्पर्कमा भने आएका छैनन् । अग्रवालले एभरेष्ट, ग्लोबल आइएम, मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकबाट ८० करोड रुपैयाँ कर्जा लिएका थिए ।

अग्रवाल परिवार भागेपछि बैंकहरुले ऋण असूलीको प्रक्रिया शुरु गरिसकेका छन् ।

‘मैले पनि विभिन्न मिडियाहरुमा अग्रवाल बैंकको सम्पर्कमा आए भन्ने खबर सुनेँ,’ एभरेष्ट बैंकका सीइओ सुदेश खालिङले क्लिकमाण्डूसँग भने, ‘तर, अहिलेसम्म मेरो र हाम्रो बैंकको सम्पर्कमा आएका छैनन् । अरु बैंकको सम्पर्कमा आएको भए पनि मलाई खबर आइहाल्थ्यो ।’

त्यस्तै, ग्लोबल आइएमई बैंकका सीइओ रत्नराज बज्राचार्यले पनि अग्रवाल आफ्नो सम्पर्कमा नआएको जानकारी दिए ।

‘उहाँहरु अहिलेसम्म हाम्रो सम्पर्कमा आउनु भएको छैन,’ बज्राचार्यले भने ।

आफूहरुले धितो लिलामीको कानूनी प्रक्रिया अघि बढाइसकेको दुबै बैंकका सीइओले जानकारी दिए ।

‘हामीले धितो लिलामीको प्रक्रिया अघि बढाइसकेका छौं, नेपाल आउनुभएको हो भने केही दिनमा सम्पर्कमा आउनु होला,’ बज्राचार्य र खालिङले भने, ‘बैंकको सम्पर्कमा आएको भन्ने समाचारहरु सरासर झुट हुन् ।’

मिटरब्याजका कारोबारीले चरम दवाव दिएपछि अग्रवाल भागेर भारत पुगेका थिए । जसमध्ये अमित अग्रवाल मात्रै नेपाल फर्किएका हुन् ।

केहीदिन अघि अमितकी बहिनी रजनी अग्रवालले महानगरीय प्रहरी परिसर टेकुमा फोन गरेर बुबा र दाजुहरु आफ्नो सम्पर्कमा आएको भन्दै यसअघि हराएको भन्दै गरिएको उजुरी फिर्ता लिने जानकारी गराएकी थिइन् ।

ओमप्रकाश आफ्ना छोरा अभिषेक र अमित अग्रवालसहित सम्पर्कविहीन भएपछि रजनीले प्रहरीमा खोज्नको लागि उजुरी दिएकी थिएन ।

महानगरिय प्रहरी परिसर टेकुका एसएसपी सुदिप गिरीले रजनीले बुवा सम्पर्कमा आएको जानकारी गराएको र आफूले फोनमा कुरा गरेको जानकारी दिए ।

‘मैले नै फोनमा कुरा गरे, तपाईँहरू सकुशल हुनुहुन्छ भन्दा सकुशल रहेको र यसअघि जे भए पनि आफूहरू नेपाल आउन चाहेको बताए, ’एसएसपी गिरीले क्लिकमाण्डूसँग भने ।

ओमप्रकाश अग्रवालले सन् १९९९ मा स्थापना गरेको ग्रीनलाइन छोराहरुको महत्वाकांक्षाले गर्दा डुबेको हो । भारतको हरियाणाबाट नेपाल प्रवेश गरेका ओमप्रकाशले जनकपुरबाट नागरिकता बनाएका थिए । सन् १९९९ मा काठमाडौंमा ग्रीनलाइन खोलेका थिए ।

जुन विदेशबाट आयात हुने महंगा रक्सी पाइने पसलको रुपमा चर्चित भयो । ओमप्रकाशका छोराहरु अभिषेक र अमितको महत्वाकांक्षाले ओमप्रकाशले खडा गरेको व्यवसायिक साम्राज्य ढलेको हो ।

अभिषेक र अमितले मदिरा उत्पादन तथा वाइन उद्योग समेत खोलेका थिए । सागर डिस्टिलरी र एलायन्स वाइन इन्ड्रस्ट्रिज राम्रोसँग नचलेपछि अग्रवाल परिवार डुबेको हो ।


क्लिकमान्डु