९६० मध्ये २३० मेगावाट सोलारको ठेक्का पाउने उत्तम लामा को हुन् ? निर्माण गर्न १५ अर्ब बढी चाहिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलार इनर्जी (सौर्य) ऊर्जा परियोजनाका लागि निकालेको ठेक्का २३० मेगावाट उत्तम लामा भ्लोनका कम्पनीले पाएको छन् । कुल ९६० मेगावाटमध्ये करिब २४ प्रतिशत ठेक्का लामाकै विभिन्न कम्पनीले पाएका हुन्।
प्राधिकरणले निकालेको ठेक्कामा उनका सबै कम्पनीले ५ रुपैयाँ ४९ पैसामा बिड गरेका कारण पाएको हो । ५ रुपैयाँ ५४ पैसाभन्दा तल बिड गर्ने सबै कम्पनीहरुले ठेक्का पाएका छन् ।
नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि गत चैत २२ गते खुलाएको टेन्डरको गत कात्तिक २६ गते छनोट भएका ६३ कम्पनीको सूची सार्वजनिक गरेको थियो ।
लामाका कम्पनी माउन्टेन-दोर्दीको कन्सोर्टियम र ग्यापर्ट-राप्ती कन्सोर्टियमले पाएका छन् । चारवटै उनले नेतृत्व गरेको कम्पनी हो।
लामाका कम्पनीहरुले नवलपरासी, तनहुँ, गुल्मी, अर्घाखाँची, बागलुङ, कपिलवस्तु, बर्दिया, पर्वत, दाङलगायतका जिल्लाहरुमा सोलार परियोजनाको बिड पाएका छन् ।
प्राधिकरणले सूचना जारी गरेको भए पनि कम्पनीहरुलाई प्राधिकरणले आशयपत्र भने दिइसकेको छैन । कम्पनीहरुले विद्युत विकास विभागबाट सर्वे लाइसेन्स लिनेछन् । सर्भेको काम सकेपछि उनीहरुले कन्स्ट्क्सन लाइसेन्स लिन्छन् । प्राधिकरणले २५ वर्षसम्मका लागि सोलारका आयोजनासँग सम्झौता गर्ने तयारी छ ।
१० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुले पीपीए भएको १८ महिनाभित्र उत्पादन गर्नुपर्छ । १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरुले विद्युत खरिद बिक्री (पीपीए) भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने प्रावधान ठेक्कामा राखिएको छ।
प्राधिकरणले २२० केभी, १३२ केभी र ३३ केभी प्रसारणलाइन वरिपरिबाट सोलारका आयोजनाको बिजुली खरिद गर्न लागेको हो। तत्कालीन ऊर्जामन्त्री तथा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतको संयोजकत्वमा बसेको ९६३औं बैठकले सोलारका आयोजनासँग पीपीए गर्ने निर्णय गरेको थियो ।
लामाको चार कम्पनीले सबैभन्दा ठूलो २५ मेगावाटको परियोजना पाएका छन् । माउन्टेन-दोर्दी कन्सोर्टियमले बनाउने यो परियोजना नवलपरासीमा निर्माण हुनेछ ।
यी हुन् लामाका दुई जेभी कम्पनीले पाएका सोलारको बिड
क्रस | कम्पनी | आयोजना बन्ने जिल्ला | क्षमता (मेगावाट) | महसुल (रुपैयाँमा) |
१ | माउन्टेन-दोर्दी कन्सोर्टियम | नवलपरासी | २५ | ५.४९ |
२ | ग्यापर्ट -राप्ती कन्सोर्टियम | तनहुँ | २० | ५.४९ |
३ | ग्यापर्ट -राप्ती कन्सोर्टियम | गुल्मी | २० | ५.४९ |
४ | ग्यापर्ट -राप्ती कन्सोर्टियम | अर्घखाँची | २० | ५.४९ |
५ | माउन्टेन-दोर्दी कन्सोर्टियम | बागलुङ | २० | ५.४९ |
६ | माउन्टेन/दोर्दी कन्सोर्टियम | पर्वत | २० | ५.४९ |
७ | ग्यापर्ट -राप्ती कन्सोर्टियम | कपिलवस्तु | १० | ५.४९ |
८ | ग्यापर्ट -राप्ती कन्सोर्टियम | बर्दिया | १० | ५.४९ |
९ | ग्यापर्ट -राप्ती कन्सोर्टियम | दाङ | १० | ५.४९ |
१० | ग्यापर्ट -राप्ती कन्सोर्टियम | बर्दिया | १० | ५.४९ |
११ | ग्यापर्ट -राप्ती कन्सोर्टियम | बाँके | १० | ५.४९ |
१२ | ग्यापर्ट -राप्ती कन्सोर्टियम | कपिलबस्तु | १० | ५.४९ |
१३ | माउन्टेन-दोर्दी | कपिलवस्तु | १० | ५.४९ |
१४ | माउन्टेन-दोर्दी | कपिलवस्तु | १० | ५.४९ |
१५ | माउन्टेन-दोर्दी | बाँके | १० | ५.४९ |
१६ | माउन्टेन-दोर्दी | बर्दिया | १० | ५.४९ |
१७ | ग्यापर्ट -राप्ती कन्सोर्टियम | कपिलवस्तु | ५ | ५.४९ |
जम्मा | २३० |
स्रोत:नेपाल विद्युत प्राधिकरण
यी परियोजनाहरुका लागि कम्पनीहरुले जग्गा खरिद गर्नेछ । ऊर्जा मन्त्रालयले गरेको एक अध्ययनका अनुसार सोलारको प्रतिमेगावाट लागत औसत ८ करोड रुपैयाँ छ । तर पछिल्लो समय टेक्नोलोजी सस्तो भएकाले औसत लागत ५ करोड रुपैयाँ लाग्छ । यस हिसाबले कम्तिमा १५ अर्ब रुपैयाँ पर्छ । दिनप्रतिदिन प्रविधिको विकास कारणले सोलारको लागत घटिरहेको छ । केहि वर्ष पहिले नेपालमा सोलारको लागत प्रतिमेगावाट २० करोड रुपैयाँसम्म थियो । यो जग्गा बाहेकको लागत हो ।
को हुन् लामा ?
लामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष हुन् । इप्पानबाट उनले धितोपत्र बजार सम्बन्धी नीति हेर्ने जिम्मेवारी पाएका छन् । उनी पछिल्लो समय ऊर्जा क्षेत्रमा सक्रियरुपमा लगानी गरिरहेका छन् । मकवानपुरको मार्खु गाउँमा सामान्य परिवारमा जन्मिएका लामाले छोटो समयमै तीब्र गतिमा व्यापारिक साम्राज्य विस्तार गरिरहेका छन् ।
एनएमबि बैंक र सीईडीबीई हाइड्रो फण्ड लिमिटेडको सञ्चालक हुन् । यसअघि एनएमबि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष समेत भइसकेका छन् । उनले कान्तिपुर पब्लिकेसन र प्रिज्मा एडभर्टाइजिङ एजेन्सीमा समेत मार्केटिङको काम गरेका थिए ।
कान्तिपुर पब्लिकेसमा कुनै समयमा जागिरे लामा अहिले ऊर्जा क्षेत्रका अग्रपक्तिका डेभलपरको परिचय बनाइरहेका छन्। कडा मिहेनत गर्ने लामा ग्राउन्डबाट उठेका उदयीमान व्यवसायी हुन् ।
नेपालको अवस्था के छ ?
प्राधिकरणले अहिले सोलारका आयोजनाका लागि ५.९४ रुपैयाँ प्रतियुनिट दर तोकेको छ । यो दरमा प्रतिस्पर्धा गरेर खरिद गरिरहेको छ । १७५ आयोजनाबाट १०६ मेगावाट बिजुली किनिरहेको छ ।
नेपालका अधिकांश जलविद्युत् आयोजनाहरु नदी प्रवाहमा आधारित छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशतभन्दा तल झर्छ । सोही कारण जडित क्षमता ३००० मेगावाट पुगेको भएपनि १५०० मेगावाटको माग पूरा गर्न भारतबाट ६०० मेगावाटसम्म आयात गर्नुपर्छ ।
गत हिउँदमा भारतले प्रतिस्पर्धी दरबाट सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ) मात्रै खरिद गर्न अनुमति दिएको थियो । भारतले दिउँसो मात्रै बिजुली दिएपछि प्राधिकरणलाई व्यवस्थापनमा हम्मे-हम्मे परेको थियो । सोही कारण पीक आवरमा औद्योगिक क्षेत्रको लोड काटिदिएको थियो ।
जलवायु परिवर्तनको असर जलविद्युत् क्षेत्रमा पर्न थालेका कारण केहि जलविद्युत आयोजनाहरु १० प्रतिशत क्षमतामा समेत चलेका थिए । सोही कारण हिउँदको बिजुली व्यवस्थापनका लागि सोलारको हिस्सा बढाउन लागिएको हो । जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्नका लागि ७/८ वर्ष लाग्ने अवस्था छ । तर बिजुलीको माग अहिले नै पूरा गर्नुपर्ने अवस्था छ । सोलारका आयोजना निर्माण थाले १ देखि २ वर्षमा प्रणालीमा बिजुली आइपुग्छ ।
दिउँसो हुने माग हामी सोलाबाट गर्ने र बिहान साँझ हामी अर्धजलाशय र जलाशययुक्त जलविद्युत आयोजना चलाउन सकिनेछ। सोही कारण प्राधिकरणले सोलार ऊर्जालाई प्राथमिकतामा राखिएको छ ।
प्राधिकरणले अहिले सोलारका आयोजनाका लागि ५.९४ रुपैयाँ प्रतियुनिट दर तोकेको छ । यो दरमा प्रतिस्पर्धा गरेर खरिद गरिरहेको छ । १७५ आयोजनाबाट १०६ मेगावाट बिजुली किनिरहेको छ ।