मेरो ५० प्रतिशत सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको हो: छविलाल जोशी



काठमाडौं । गोरखा मिडिया नेटवर्कका संस्थापक सञ्चालक छविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो ५०/५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन् ।

यस्तो छ उनको बयान

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७७/०५/१० मा गोरखा मिडिया नेटवर्क प्रा.लि. दर्ता भयो । उक्त प्रा. लि. मा म र गितेन्द्रबाबु (जि. बी. राईको ५०/५०% शेयर रही दर्ता भई म सञ्चालक भएँ । २०७८/१२/१२ गते नेपाल बैङ्कमा ऋण लिने प्रक्रिया बढाउँदा गोरखा मिडिया नेटवर्क प्रा.लि.को पुँजी १२ करोड बनाउने कार्य गरियो ।

सो प्रक्रिया गर्नु अगावै मेरो नाममा रहेको ५०% शेयर मध्ये १५% रबि लामिछानेलाई बिक्री गरिएको थियो। मेरो नाममा ३५% शेयर कायम गरी रवि लामिछानेको नाममा १५% शेयर र जि.बी. राईको नाममा ५०% शेयर रहने गरी कम्पनीको चुक्ता पुँजी ५ करोड बाट १२ करोड बनायौं । त्यसपछि कम्पनीको लागि ऋण लिने प्रक्रियामा नेपाल बैड लि.को न्युरोड शाखामा म, रबि लामिछाने र लेखा प्रतिनिधि गएका थियौं ।

उक्त ऋण लिनका लागि मेरो श्रीमतीको नाममा रही नेचर हर्न्स कम्पनीलाई भाडामा दिइएको घर धितो राख्ने प्रस्ताव निज जि.बी. राईबाट आएको थियो, त्यस प्रस्तावमा म सहमत भइन । २०७८/०६/२३ मा म गोरखा मिडिया नेटवर्क प्रा.लि. बाट पूर्ण रूपमा बिदा भएको थिएँ ।

गोरखा मिडिया नेटवर्क प्रालिमा म रहँदाको अवस्थामा ग्यालेक्सी टिभी सञ्चालनमा रहेको थियो । म २०७७/१२/१२ देखि नै उक्त संस्थाको कुनै काममा सहभागी भएको छैन । त्यहा के कुन व्यवसाय रहेको छ, मलाई जानकारी भएन ।
गितेन्द्रबाबु राईसँग तपाईंको के कसरी चिनजान भएको हो ? व्यावसायिक साझेदारीमा के- कसरी प्रवेश गर्नु भयो ? खुलाइदिनुहोस् ।

म जिल्ला प्रहरी परिसरमा रहदाँ जि.बी. राई, दिपेश पुन लगायत केही साथीहरू एउटा काम लिएर आउनु भएको थियो । उक्त काम सम्पन्न भएपश्चात् हामी सम्पर्कमै रह्यौं । म २०७५ सालमा सेवानिवृत्त भएपश्चात् पनि उँहा मसँग सम्पर्कमै रहनु भएको थियो । उँहाले मलाई नेचर हर्ब्समा सहयोग गर्नु पर्यो भन्नु भयो । यस विषयमा मैले पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवरसँग सरसल्लाह गरेर ऐन, नियम अनुसार म नेचर हर्ब्समा आबद्ध भएँ । पछि गोरखा मिडिया नेटवर्क प्रा.लि.मा पनि उहाँकै व्यावसायिक साझेदारका रूपमा आबद्ध भएँ । सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको बचत जम्मा गर्न वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्न वा ऋण वा कर्जा लिन पाइन्छ, पाइदैन ? तपाईंलाई के थाहा छ ? खुलाइदिनुहोस्।

मैले जानेसम्म सहकारीको शेयर सदस्य नभइकन ऋण माग्न र लिन पाइदैन ।

सहकारी समस्यामा परेपछि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयबाट गराइएको लेखापरीक्षण अनुसार सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि बुटवलमा २०७७ । १०।२९ मा तपाईंको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा ग्लोबल आइएमई बैङ्कमा भएको खातामा ११ फेब्रुअरी २०२१ मा २ करोड ४५ लाख जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के कसो हो ? यसरी व्यक्तिको नाममा लिएको ऋण कम्पनीमा पठाउन मिल्छ ?

यो सारसर झुट हो । मैले उक्त रकम माग गरेको छैन र त्यसको समग्र प्रक्रियामा पनि सहभागी भएको छैन।


क्लिकमान्डु