भाग्नुभन्दा ३ दिनअघि अग्रवाललाई मिटर ब्याजीले प्रहरीकहाँ पुर्याएको खुलासा



काठमाडौं । दरबारमार्गमा विदेशी मदिरा बिक्री गर्ने ग्रीनलाइन प्रालिका सञ्चालक अमित अग्रवाललाई नेपालबाट भाग्नु अघि महानगरिय प्रहरी परिसर टेकुमा पुर्याइएको खुलेको छ ।

अग्रवाललाई मिटर ब्याजमा लगानी गरेका सेल्सवेजका एक सञ्चालकले उनलाई महानगरीय प्रहरी परिसरमा पुर्याएका हुन् ।

अग्रवालले ५ करोड रुपैयाँमा १ करोड ब्याज जोडेर फिर्ता गर्ने शर्तमा पैसा लगेका थिए । तर, दुई महिनासम्म सावाँ र ब्याज भुक्तानी नगरेपछि ती लगानीकर्ताले अग्रवाललाई प्रहरीकहाँ लगेका थिए ।

प्रहरीको रोहवरमा अग्रवालले तत्कालै पैसा भुत्तानी गर्ने प्रतिबद्धता जनाएका थिए । तर, त्यसको ३ दिनपछि अग्रवाल नेपालबाटै भागेका हुन् । यसरी भागेका अग्रवाल मुग्लिनको बाटो हुँदै बीरगञ्जबाट भारत छिरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पुसको तेस्रो साता ग्रीनलाइनका सञ्चालक सम्पर्क बिहीन भएका थिए ।

सेल्सवेजका सञ्चालकले प्रहरीकहाँ पुर्याएर चरम मानसिक यातना दिएको भन्दै एक अर्बपति व्यवसायीलाई फोन गरेर पैसा सापटी दिन आग्रह गरेका थिए । तर, ती व्यवसायीले उनलाई सापटी दिन मानेनन् ।

‘सेल्सवेजका सञ्चालकले चरम मानसिक यातना दिएको भन्दै अग्रवालले मसँग गुनासो गरेका थिए, उनले धेरैसँग मिटरब्याजमै पैसा मागेका थिए,’ ती व्यवसायीले भने, ‘तर, कसैले पैसा नदिएपछि उनी दवाव थेग्न नसकेर भागेको भन्ने प्रष्ट बुझिन्छ ।’

अग्रवालले ४ वटा बैंकलाई ८० करोड ऋण तिर्न बाँकी थियो । यसबाहेक सहकारी, मिटरब्याजी तथा रक्सी उद्योग र बिक्रेताको करिब ३ अर्ब रुपैयाँ नतिरेर परिवारसहित उनी बेपत्ता भएका हुन् ।

अग्रवालले सेल्सवेज सञ्चालन गर्ने व्यवसायीको मात्र नभएर अर्को एउटा विकास बैंकबाट अवकास पाएका सीइओको २ करोड रुपैयाँ चलाएका थिए । २ करोड रुपैयाँ नउठेका अवकास प्राप्त सीइओ एकजना नाम चलेका एक व्यवसायीसँग पैसा उठाउदिन आग्रह गर्दै पुगे । अमितसँग कुनै बेला कारोबार गर्ने व्यवसायीले पैसा दिन दिन अनुरोध गरे । त्यो बेला अमितले एक साताभित्र पैसा दिने प्रतिबद्धता गरेका थिए । पछि अमितसँग सम्पर्क गर्दा टेकु पुर्याएर मिटर ब्याजमा पैसा दिएका सेल्सवेजका सञ्चालकले दवाव दिएको बताएका थिए ।

टेकु पुगेको ३ दिनपछि अमितको मोबाइल अफ भयो, त्यसपछि प्रहरीले ग्रीनलाइनका सञ्चालक ओमप्रकाश अग्रवालको खोजी गर्न थाल्यो । अग्रवालको घरमा प्रहरीले पत्र भेट्टायो ।

पत्रमा ओमप्रकाशले मिटर ब्याजीका कारण आफू दवावमा रहेको र आत्महत्या गर्नुपर्ने स्थितीमा आएको उल्लेख गरेका थिए । बैंकहरु सहयोगी नभएको र जति सम्पत्ति बिक्री गर्दापनि मिटरब्याजीको पैसा तिर्न नसकेकाले भाग्नु परेको र बाँचेमा आफ्ना सन्तानले ऋण दिने उल्लेख गरेका थिए ।


क्लिकमान्डु