दशैं बिदामा विदेश घुम्ने अफर: कुन देश जान कति लाग्छ खर्च?



काठमाडौं । पछिल्लो समय नेपालमा घुमघाम संस्कृतिको विकास भएको छ । दशैंमा सरकारी बिदा लामो समय हुने भएसँगै पछिल्लो समय नेपालीले आन्तरिक र वाह्य भ्रमणको तालिका बनाउने गरेका छन् । यसलाई लक्षित गर्दै ट्राभल कम्पनीहरुले विभिन्न ‘स्किम’ ल्याउने गरेका छन् ।

दशैं लक्षित योजना बनाएर विदेश घुम्ने (आउटबाउण्ड टुर) प्याकेज बिक्री गर्ने ट्राभल कम्पनीले अफर ल्याएका छन् ।

दशैंमा विदेश घुम्न रुचाउने नेपालीलाई दृष्टिगत गरेर ल्याइएको यस्तो प्याकेजमा घुम्न जानेको संख्या बढिरहेको छ।

दशैं तिहारको बिदा कर्पोरेट क्षेत्र, मध्यमदेखि उच्च वर्गसम्मका परिवारले फूर्सदिलो महसुस गर्ने बेला पनि हो ।

विद्यालय तथा कलेज बिदा र चाडबाडको मौसमका कारण कामको चाप कम हुने भएकोले पनि खर्च गर्न सक्ने क्षमता भएकाहरुको लागि विदेश घुमघामको उपयुक्त समय पनि हो ।

सामान्यतयाः चाडबाडको समय घुमघामको मौसम नै हो भने अंग्रेजी नयाँ वर्ष नेपालीहरुको चाडाबाड सकिएलगत्तै आउने भएकोले यही मेसोमा टुर व्यसायीले पनि प्याजकेज बनाएर बिक्री गर्ने गरेका छन् ।

सिजनको हिसाबले नेपालीको चाडबाड र विदेशीले नयाँ वर्षका लागि दिने छुट अफरले नेपाली आउटबाउन्ड ट्राभलर पनि आकर्षित हुने गरेको छन् ।

नेपालबाट बाहिर घुम्न जाने नेपालीले गर्ने खर्च वार्षिक ३१ प्रतिशतले वृद्धिसमेत भएको छ ।

नेपालबाट विभिन्न देशमा घुम्न जाने नेपालीले गरेको खर्च गत आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यस्तो खर्च अघिल्लो वर्ष २०७९/८० भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेको पनि तथ्यांकले देखाएको छ।

यस्तो भ्रमण आय स्वत: स्फूर्त रुपममा घुम्न जाने, प्याकेजमा जाने, पारिवारका सदस्यसहित जाने गरेकाले नेपाल राष्ट्र बैंकबाट डलर सटहीको सुविधा लिएका आधारमा तयार भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

कान्तिपुर होलिडेका प्रबन्ध निर्देशक दामोदर ढकाल भ्रमण खर्च बढेका कारण विगतका वर्षजस्तो उत्साह यसपटक कम भएको तर्क गर्छन् । ‘कोरोना अगाडि वार्षिक १० हजार नेपालीलाई विदेशी घुम्न पठाउन सकिएकोमा यो वर्ष मुस्किलले २५ सय जना मात्रै पुग्ने अनुमान छ,’ उनले भने ।

हवाई टिकट पनि महँगिदा नयाँ घुम्न जानेहरुको संख्या कम भएको उनको भनाइ छ ।

‘अहिले हवाई टिकट महंगो भएकोले नयाँ घुम्न जाने मान्छे निकै कम छन् । जति आइरहेको छन् वार्षिक रुपमा घुमिरहेका र पुराना मान्छे मात्रै भएको देखिएको छ,’ उनले भने ।

ट्राभल एजेन्सीले प्याकेज ल्याउने र अफर दिँदा समेत बाहिर घुम्न जानेको संख्या कोरोना महामारी अगाडिको तुलनामा कम भएको उनी बताउँछन् ।

हुन त ट्राभल व्यवसायीको काम बाहिरका पर्यटकलाई भित्र ल्याएर डलर आम्दानी बढाउने हुनुपर्ने भए पनि बाहिर जान्छु भन्ने नेपालीलाई रोक्न नसकिने उनले बताए ।

अन्यसमयको तुलनामा दशैंमा लामो बिदा हुने भएकाले विदेशिनेको संख्यामा यो अवधिमा भने वृद्धि हुने गरेको व्यवसायी बताउँछन् ।

कहाँ पुग्छन् नेपाली ?

नेपालीहरुको घुम्ने गन्तव्यमा सबैभन्दा बढी थाइल्याण्ड, मलेसिया, सिंगापुर, युएईको दुबइ हुने गरेको ट्राभल एजेन्सीहरुको तथ्यांकले देखाउँछ ।

भिसा प्रक्रिया सहज हुने, सामान्य क्राइटेरिया मिट गरेको आधारमा भिसा पाइहाल्ने मुलुकमा जाने नेपाली बढी हुने व्यवसायी बताउँछन् । पहिलोपटक भ्रमण गर्न जाने नेपालीले सजिलै भिसा लाग्ने मुलुक हेरेका हुन्छन् । धेरै कडा प्रावधान नभएको र नेपाली ग्रुपमा वा एक्लाएक्लै घुमेर आउन सक्ने गन्तव्य नेपालीको रोजाइमा हुने गरेको छ ।

एकपटक थाइल्याण्ड, मलेसिया, सिंगापुर, संयुक्त अरव इमिरेट्स (यूएई) पुगिसकेका नेपाली त्यसपछि युरोप जान रुची देखाउने गरेको ट्राभल व्यवसायीको भनाइ छ ।

पछिल्लो समय हवाई टिकटको मूल्यमा आएको वृद्धिले विदेश जाँदाको लागत बढेको छ ।

घुमघाम गर्दै ट्राभल हिस्ट्री बनाउने र दीर्घकालीन योजना बनाएर जानेको संख्या पनि उल्लेख्य हुने गरेको छ ।

बाहिर घुम्न जाने नेपालीको लागि गन्तव्य अनुसार टुर प्याकेज बन्ने गरेको छ । यस्तो टुर प्याकेज हवाई टिकटको शुल्कको आधारमा तय हुन्छ । हवाई टिकट महँगो हुँदा प्याकेज पनि महँगो पर्छ । टुर व्यवसायीको प्याकेज सिजन अफसिजन सधै एकैनासको हुन्छ भने हवाई भाडाकै कारण प्याकेज सस्तो र महँगो हुने गर्छ । तथ्यांकमा उल्लेख गरेका युरोप तथा केही एसियाली मुलकको ट्राभल प्याकेज दशैं बाहेक सामान्य समयको लागि प्रयोग हुँदै आएको प्याकेज हो।

नेपालबाट आउटबाउन्ड टुरको प्याकेज बिक्री गर्ने अग्रणी कम्पनी एस ट्राभलका अनुसार दशैंको तुलनामा अन्य समयको प्याकेज सस्तो हुने गरेको छ ।

एस ट्राभलले यो वर्ष युरोपका लागि आकर्षक प्याकेज बिक्री गर्न नसकेको भए पनि एसियाली मुलुकको भने अपेक्षाकृत राम्रो प्याकेज बिक्री गरिरहेको जानकारी दिएको छ ।

युरोप टुरमा भिसा सहज नभएकोले पर्याप्त घुमघाम गरेर ट्राभल हिस्ट्री बनाएका र सम्बन्धित देशले विभिन्न क्राइटएरियाबाट योग्य ठहर गरेकालाई मात्रै भिसा दिने गरेको छ ।

भिसा प्रक्रिया जटिल भएका मुलुकको तुलनामा सहज भएकामा घुम्न जान प्रेरित गरेर सम्बन्धित ट्राभलले प्याकेज बनाउने गरेका छन् ।


क्लिकमान्डु