ग्रीनलाइनलाई बैंकहरुले दिएको ५० करोड ऋण नउठ्ने देखियो, ४ बैंकको नाफा घट्ने



काठमाडौं । महंगा रक्सी बिक्री गर्ने भनेर चिनएको ग्रीनलाइन सेन्टरलाई बैंकहरुले दिएको करिब ५० करोड रुपैयाँ नउठ्ने देखिएको छ । ग्रीनलाइनलाई ४ वटा वाणिज्य बैंकले ऋण दिएको सार्वजनिक भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक,एभरेष्ट बैंक,ग्लोबल आइएमई र मेगा बैंकले ग्रीनलाइनलाई करिब ८० करोड रुपैयाँ ऋण दिएका थिए । नेपाल राष्ट्र बैंकले ग्रीनलाइनलाई दिएको ऋणको विवरण मागेको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले ४ वटा बैंकले करिब ८० करोड ऋण दिएको जानकारी आएको बताए । ‘हामीले ग्रीनलाइन कम्पनीलाई सञ्चालकलाई दिएको ऋणको विवरण मागेका थियौ, जसमा ४ वटा बैंकले मात्र मात्र ऋण दिएको खुलेको छ,’भट्टले क्लिकमाण्डूसँग भने ।

बैंकहरुले ग्रीनलाइनका सञ्चालकलाई हाइपो तथा अन्य शिर्षकमा कर्जा दिएका थिए । हाइपोमा दिएको कर्जामा धितो हुँदैन । व्यवसायको आधारमा यस्तो कर्जा दिने गरिन्छ । बैंकहरुका अनुसार ग्रीनलाइनलाई दिएको कर्जामा ३० करोड जति उठ्ने देखिएपनि ५० करोड जति करिब नउठ्न सक्ने सम्भावना देखिएको छ । ‘ग्रीनलाइनसँग बैंकको मदिराको स्टक तथा उनीहरुको सम्पत्तिको आधारमा ३० करोडजति रकम उठ्न सक्ने देखिएको छ,बाँकी रकम नउठ्न सक्छ,’ग्रीनलाइनलाई ऋण दिएका एक बैंकका सीइओले भने । ग्रीनलाइनलाई ऋण दिएका बैंकहरु कसरी अगाडि बढ्ने भन्नेमा समेत छलफल गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता भट्ट यसरी दिएको ऋण नउठेमा बैंकहरुले सो बराबरको रकम नोक्सानी व्यवस्थाको लागि प्रोभिजन गर्नुपर्ने बताउँछन् । ‘नियम अनुसार ऋण नउठेपछि बैंकहरु प्रोभिजन गर्नुपर्छ,पुसको अन्तिममा घटना घटेको हुँदा चैतको ब्यालेन्ससिट निकाल्ने बेला यो बराबरको रकम प्रोभिजन गर्नुपर्छ,’भट्टले भने ।

हाइपो कर्जा दिएका एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनलाई सिल गरेका छन् । अब उनीहरुले आफ्नो पैसा उठाउनको लागि त्यहा भएको रक्सीलाई बिक्री गर्ने छन् ।

ग्रीनलाइन विदेशी मदिराको बिक्री गर्ने कम्पनी भएको हुँदा मंहगा मदिरा छन् । त्यस्तै बैंकहरुले ग्रीनलाइनका सञ्चालकको व्यक्तिगत नाममा भएको सम्पत्ति समेत लिलाम गर्ने छन् ।

ग्रीनलाइनका सञ्चालकको ज्ञानेश्वरमा घरजग्गा तथा विभिन्न स्थानमा अपार्टमेन्ट छ । ऋण दिएका बैंकहरुले जग्गा र घर समेत धितो लिएको हुँदा सो घरजग्गा लिलाम हुन्छ । सन् १९९९ ओमप्रकाश अग्रवालले ग्रीनलाइन खोलेका थिए । जुन कारोबार ओमप्रकाशका छोरा अभिषेक अग्रवाल र अमित अग्रवालले हेर्ने गरेका थिए । ओमप्रकाश अग्रवाल नेपालमा व्यापार गर्न आएर जनकपुरबाट नागरिता लिएको खुलेको छ ।

प्रहरीले भेटायो घरमा पत्र

प्रहरीले ग्रीनलाइनका संस्थापक ओमप्रकाश अग्रवालको घरमा पत्र फेला पारेको छ । ओमप्रकाशले लेखेका पत्रमा बैंकको तथा मिटर ब्याजीहरुको पैसा तिर्न नसकेको कारण भागेको उल्लेख गरेका छन् ।

ओमप्रकाशको ज्ञानेश्वर घरमा प्रहरीले पत्र भेटाएको हो । आफूहरुको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको तथा मिटर ब्याजको कारण मर्नु र बाच्नुको स्थितीमा पुगेको उल्लेख छ । ओमप्रकाशले पत्रमा आफ्नो सम्पत्ति ऋण लिएकाहरुले बाँड्न भनिएको छ ।

बैंकहरुको बाहेक ग्रीनलाइनका सञ्चालकले सहकारी तथा मिटर ब्याजीबाट समेत ऋण लिएका थिए । बैंक सहित मिटर ब्याजी,सहकारी तथा विभिन्न रक्सी कम्पनीको बिक्रेता तथा उद्योगसँग ग्रीनलाइनले ३ अर्बभन्दा बढी रकम तिर्नुपर्ने अनुमान गरिएको छ ।

सम्पत्तिभन्दा बढी ऋण भएपछि त्यसलाई व्यवस्थापन गर्न नसकेपछि ग्रीनलाइनका सञ्चालकहरु परिवार सहित नै बेपत्ता भएका हुन् । ग्रीनलाइनका सञ्चालकलाई कोरोनाले नै बढी प्रभावित पारेको थियो ।

उनीहरुले ल्याएको वाइन र बियर कोरोनाको कारण बिक्री नभएपछि म्याद सकिएर फाल्नु पर्यो । यस्तै होटल तथा रेष्टुरेन्टमा दिएको उधारो समेत फसेको थियो ।


क्लिकमान्डु