कतारका राजाको सम्पत्ति नेपालको अर्थतन्त्रभन्दा ८ गुणा धेरै, सवा खर्बको दरबार



काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन् । उनी मंगलबार अपराह्न दुईदिने राजकीय भ्रमणमा नेपाल आएका हुन् ।

विश्वका धनी राजाहरूको सूचीमा नवौं स्थानमा रहेको अल थानी परिवारको कुल सम्पत्ति करिब ३ सय ३५ अर्ब अमेरिकी डलर रहेको फोर्ब्सले जनाएकाे छ । नेपालको अर्थतन्त्र करिब ४२ अर्ब अमेरिकी डलर छ । यस हिसाबमा कतारी राजपरिवारको सम्पत्ति नेपालको अर्थतन्त्रभन्दा ८ गुणा धेरै रहेको हो ।

यो परिवारले विश्वभर आफ्नो लगानी विस्तार गरेको छ । लन्डनको सार्ड टावरदेखि ह्यारोड्स डिपार्टमेन्टल स्टोर, चेल्सी ब्यारेक रियल स्टेट परियोजना अनि न्युयोर्कको एम्पाएर स्टेट बिल्डिङमा पनि यस परिवारको लगानी रहेको बताइन्छ ।

यसैगरि, बाक्र्लेज बैंक, ब्रिटिस एयरवेज र फक्सवागनमा पनि शाही परिवारको सेयर छ ।

त्यहि सम्पन्न परिवारका हालका कतारी राजा तमिम बिन हमाद अल थानी करिब १ अर्ब अमेरिकी डलर बराबरको दोहा शाही दरबारमा बस्छन् । भनिन्छ, सुनको कलाकृतीयुक्त केही भागहरू सजिएको उनको दरबारमा १०० भन्दा बढी कोठा, बलरूम र करिब ५०० कारको पार्किङस्थान छ ।

कतारी राजा थानीको शासनकालमा विदेशी आप्रवासी श्रमिक (अधिकांश भारतीय र नेपाली) को शोषण अन्तर्राष्ट्रिय विवादको विषय बनेको थियो । विशेष गरी २०२२ फिफा विश्व कपको कतार हुँदै गर्दा विदेशी आप्रवासी श्रमिकको शोषणको मुद्दा प्रमुख बनेको थियो । उनले त्यसलाई साम्य पार्न केहि कानुन परिवर्तन गरि आप्रवासी श्रमिकलाई सहजीकरण गर्ने प्रयाश गरेका थिए ।

एम्नेस्टी इन्टरनेशनलले अमिरद्वारा उठाएको कदमलाई “शोषणकारी प्रायोजन प्रणालीमा मौलिक रूपले सुधार गर्ने अधिकारीहरूको वाचा पूरा गर्ने दिशामा महत्वपूर्ण पहिलो कदम“ भनेर वर्णन गरेर कतार सरकारलाई थप सुधारका साथ पालना गर्न आह्वान गरेको थियो ।

खेलकुदप्रेमी भनेर चिनिएका उनले २०११ मा फ्रान्सेली फुटबल क्लब पीएसजी किने । जसमा पछि गएर लियोनल मेस्सी, नेयमार र एम्बाप्पेजस्ता विश्वप्रसिद्ध खेलाडीहरूले खेले ।

तर, उनको सबैभन्दा ठूलो उपलब्धि भने २०२२ को विश्वकप फुटबल नै थियो । जसलाई विश्वकै सबैभन्दा महँगो विज्ञापन अभियानका रुपमा लिने गरिन्छ । र जसले विश्व रंगमन्चमा कतारको उपस्थिती झन् बलियो बनाएको थियो ।

१९९६ मा राजा भएपछि उनले प्राकृतिक ग्यासको उत्पादन वृद्धि गरे । १९९७ मा प्राकृतिक ग्यास निर्यात गर्न थालेको कतार प्रतिव्यक्ति आयका हिसाबले विश्वकै धनी मुलुक मानिन्छ ।

कतार नेसनल भिजन २०३०ले अर्थतन्त्रका लागि उच्च जीवनस्तर कायम गर्ने, नजप्रबर्तन र उद्यमशीलताका क्षमताहरू विस्तार गर्ने तथा आर्थिक र वित्तीय स्थिरतासहितका परिणाममुखि आर्थिक विकास गर्ने जस्ता तीन लक्ष्यहरू राखेको छ । जसका आधारमा सन् २०२४मा कतारको अर्थतन्त्र ३२८ खर्ब २१ अर्ब रुपैयाँभन्दा बढी हुने प्रक्षेपण गरिएको छ भने प्रतिव्यक्ति आय करिब १ करोड २५ लाख रुपैयाँ हाराहारी हुने अनुमान रहेकाे छ ।

नेपालको अर्थतन्त्र हाल ५५ खर्ब हाराहारी मानिन्छ । यस हिसाबले कतारको अर्थतन्त्र नेपालभन्दा ६ गुणा ठूलो छ भने प्रतिब्यक्ति आय ६७ गुणा धेरै छ ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूताबास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो । त्यसभन्दाअघि कतारको दिल्लीस्थित दूतावासले नेपाल मामिला पनि हेर्ने गथ्र्यो ।


क्लिकमान्डु