२० वटा हाइड्रो पावरका संस्थापक र सञ्चालक लकइन खुलेलगत्तै सेयर बेचेर टाप, कसले कति बेचे ?



काठमाडौं । धितोपत्र बोर्डले करिब एक वर्षअघि गरेको अध्ययनले सूचीकृत मध्ये २० वटा जलविद्युत कम्पनीका सञ्चालकले अधिकांश सेयर बिक्री गरेर बाहिरिएको तथ्य सार्वजनिक भएको छ ।

धितोपत्र बोर्डले गरेको अध्ययनले २० वटा कम्पनीका करिब ६ दर्जन संस्थापकले सेयर बिक्री गरेर बाहिरिएको देखाएको हो।

बोर्डका पूर्वअध्यक्ष रमेश हमालले सेयर बजारमा सूचीकृत जलविद्युत् कम्पनीको सेयर संरचना तथा संस्थागत सुशासनमा बेथिति रहेको भन्दै त्यसलाई रोक्न २०७९ चैत १९ गते अध्ययन समिति गठन गरेका थिए ।

समितिले २०८० असार १५ गते सुझावसहितको प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदन लुकाएका हमाल कार्यकाल सकेर बिदा भएका छन् । त्यो प्रतिवेदन अहिलेसम्म पनि सार्वजिनक भएको छैन । तर, उक्त प्रतिवेदन क्लिकमान्डुले प्राप्त गरेको छ ।

जलविद्युत समूहका अधिकांश संस्थापक सेयरधनीहरुले लकइन अवधि सकिएपछि सेयर बिक्री गरेर बजारबाट निस्कने क्रम बढेको ‘जलविद्युत समूहका सूचीकृत कम्पनीहरुको सेयर संरचनाको विद्यमान अवस्था र सोको प्रभाव सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन २०८०’ उल्लेख छ ।

सरकारी स्वामित्व भएका कम्पनीको स्वामित्वमा लकइन अवधि सकिनासाथ सञ्चालक नबाहिरिएको भए पनि निजी कम्पनीमा यो समस्या बढ्दो रहेको अध्ययनले देखाएको छ ।

व्यक्तिगत लगानीकर्ता, कम्पनीले नियमावलीमा तोकिएको लकइन अवधि सकिए पश्चात त्यस्ता कम्पनीको ठूलो कित्ता सेयर धारण गरेको संस्थापकहरु सेयर बिक्री गरी कम्पनीबाट बाहिरिएको एवं अत्यन्तै न्यूनतम कित्ता धारण गरेको देखिएको छ ।

सूचीकृत जलविद्युत कम्पनीका संस्थापहरुले कम्पनीको सेयर बिक्री गर्दा कम्पनी सञ्चालनमा समस्या आउने, सर्वसाधारण लगानीकर्ताको जलविद्युत क्षेत्रप्रतिको विश्वास गुम्ने देखिएको अध्ययनले देखाएको छ ।

ठूला परियोजनाका लागि आवश्यक हुने ठूलो आकारको पुँजी परिचालनका लागि समेत समस्या आउँदा समग्र जलविद्युत क्षेत्रमा असर पर्न सक्ने देखिएको अध्ययनले औंल्याएको छ । ‌

जलविद्युत् समूहका कम्पनीका संस्थापकहरुले लकइन अवधि सकिएपछि सेयर बिक्री गर्ने प्रवृत्ति बढदो क्रममा रहेको पाइएको छ ।

कम्पनीको वास्तविक वस्तुस्थिति तथा सञ्चालन व्यवस्थाका सम्बन्धी जानकार तथा अनुभवी व्यक्ति कम्पनीमा नहुँदा कम्पनीको समग्र सञ्चालन पक्षमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

यसले कम्पनीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न कठिनाई उत्पन्न हुने, कम्पनीको नाफा नोक्सान लगायतका विषयमा प्रभाव पार्ने र संस्थागत सुशासनमा समेत असर पर्ने अध्ययनले देखाएको छ ।

२०७९ चैत १९ गते गठन भएको अध्ययन समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सहसचिव (हाल सचिव) तथा धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य फणिन्द्र गौतम संयोजक रहेका थिए ।

चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार काफ्ले, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र नारायणप्रसाद शर्मा सदस्य थिए रहेका थिए । उनीहरुले गरेको अध्ययनमा २० वटा कम्पनीका सञ्चालक, संस्थापक सेयरधनी, विभिन्न कम्पनीले गरेको लगानी लकइन सकिए लगत्तै सेयर बिक्री गरेर बजारबाट बाहिरिएको देखाएको छ ।

कुन कम्पनीमा कसको स्वामित्व घट्यो, कसले बेचे सेयर ?

युनाइटेड मोदी हाइड्रोको लकइन खुलेको २ वर्षमा २१ मध्ये ७ जना संस्थापकसँग मात्रै सेयर रहेको पाइएको छ । बाँकी सबैले सेयर बिक्री गरेको पाइएको छ ।

कम्पनीको सेयर बिक्री गर्नेमा क्लब सांग्रिला प्रालि, बिन्दवासीनी हाइड्रोपावरका प्रतिनिधि कृष्ण आचार्यले २ लाख ८० हजार ७८४ कित्ता, सकुन्तलाल हिराचनले १ लाख ४७ हजार ८०८ कित्ता सेयर बेचेका छन् । उनीहरु सञ्चालक पनि हुन् । सुधिर तिमिल्सिनाको ४.०४ ५ स्वामित्व रहेको छ भने अर्जुन अधिकारी ५.८६५ र राज नारायण शाह १३.९० प्रतिशत स्वामित्व घटाएका छन् ।

यस्तै पाँचथर पावरका संस्थापक ८ मध्ये २ जनाले सेयर बिक्री गरेको पाइएको छ । सेयर बिक्री गर्नेमा बैकुण्ठ प्रसाद शर्मा र मनिष श्रेष्ठले धेरै कित्ता सेयर बिक्री गरेको अनुसन्धानले देखाएको छ । बैकुण्ठ प्रसाद शर्माले ६१.८० प्रतिशत र हिमा तिमिल्सिनाले ३५.४५ प्रतिशत सेयर स्वामित्व घटाएका छन् ।

हिमा तिमिल्सिना हाल कम्पनीको सञ्चालक छिन् । उनीसँग हाल १ लाख ११ हजार ८४८ कित्ता सेयर रहेको छ ।

यूनियन हाइड्रोपावरका केही संस्थापकहरुले सेयर बिक्री गरेको देखिन्छ । गणेश कार्की, युगान्त खाँण, बटु लामिछाने र शालिकराम घिमिरेले धेरै कित्ता सेयर बिक्री गरेका छन् । शालिकराम घिमिरेले ३९.३६ प्रतिशत, बटु लामिछाने ९९.९७ प्रतिशत, गणेश कार्की ९०.३० प्रतिशत र युगान्त खाँणले ४८.३४ प्रतिशत सेयर स्वामित्व घटाएका छन् ।

पञ्चकन्या माई हाइड्रोपावरका ५ जना संस्थापक मध्ये केही संस्थापकहरुले सेयर बिक्री गरेको देखिएको छ । प्रदीप कुमार श्रेष्ठले ९९.९० प्रतिशत र सन्तोष कुमार प्रधानले ९७.१२ प्रतिशत सेयर स्वामित्व घटाएका छन् ।

हिमालयन पावर पार्टनरका ९ संस्थापक मध्ये संस्थागत लगानीकर्ताहरुले लकइन पश्चात सेयर बिक्री गरेका छन् । एनआरएन पूर्वाधार तथा विकास लि, वर्ल्ड वाइड इन्भेष्टमेन्ट प्रालि र हाथवे इन्भेष्टमेन्टले धेरै सेयर बिक्री गरेका छन् ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ९.८८ प्रतिशत, उत्तम कुमार नेपालले १५.९७ प्रतिशत, राधा ढकालको ३९.८८ प्रतिशत सेयर स्वामित्व घटेको छ । कुल आचार्य २०७९ चैत २७ गते अध्यक्ष भएका हुन् । कम्पनीको सञ्चालक समितिमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडबाट प्रतिनिधित्व गरिरहेका जीवनाथ लामिछानेको सट्टा कुल आचार्यलाई उक्त कम्पनीबाट प्रतिनिधित्वको लागि पठाए पछि सञ्चालक समितिमा रिक्त रहेको अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ९.८८ प्रतिशत स्वामित्व घटाएको छ । कम्पनीले अहिले सञ्चालकको सेयर स्वामित्व कति छ भन्ने कुनै कागजातमा उल्लेख गरेको छैन ।

जोशी हाइड्रोपावर डेभलपमेण्टका १२ जना संस्थापक मध्ये ६ जना संस्थापकले लकइन लगत्तै सेयर बिक्री गरेका छन् । रञ्जना दाहाल, शशी कार्की, विनित कुमार शारडा, रुपमनी राजभण्डारी, माधव कार्की, विरेन्द्र बहादुर न्यौपानेले सेयर बिक्री गरेका छन्। चार जना सेयरधनीले आफ्नो स्वामित्व घटाएका छन् ।

स्वामित्व घटाउनेमा राधेश्याम शारडाले ३६.६४ प्रतिशत, पवन कुमार शारडाले ३१.१५ प्रतिशत, श्रीनिवास शारडा ३६.६४ प्रतिशत, शिव रतन शारडाले ३६.६४ प्रतिशत स्वामित्व घटाएका छन् ।

छयाङ्दी हाइड्रोपावरका ११ जना संस्थापकमध्ये ५ जनाले लक इन अवधि खुलेको दुई वर्षमा सेयर बिक्री गरेका छन् । राजेन्द्र बहादुर सिंह, मन्दिल प्रधान, लालबहादुर थापा, अनु पिया, क्यापटिभ इन्भेष्टमेन्ट कम्पनी, उत्सव पिया र रूपमति श्रेष्ठले सेयर बिक्री गरेका छन् ।

रामेश्वर थापाले ४३.३३ प्रतिशत, लालबहादुर थापाले ४३.३३ प्रतिशत, अमरनाथ श्रेष्ठ ४३.३२ प्रतिशत, उदय कुमार पियाले ४३. ३२ प्रतिशत, उत्सव पिया २९.८८ प्रतिशत र अशोक बुढाथोकीले ४३.३३ प्रतिशत स्वामित्व घटाएका छन् ।

नेपाल हाइड्रो डेभलपर सूचीकृत हुँदा रहेका ९ जना संस्थापक मध्ये लकइन अवधि खुलेपछि ३ जना संस्थापकले सेयर बिक्री गरेको देखिएको छ ।

ज्ञानेन्द्रलाल प्रधान, राजेन्द्र प्रसाद मुन्दडाले अधिकांश सेयर बिक्री गरेको पाइएको छ । आनन्दप्रसाद पोखरेल ३०.३२ प्रतिशत स्वामित्व घटेको छ । कुमुद कुमार दुगडले २३.०५ प्रतिशत, पशुपति मुरारकाले २३.०५ प्रतिशत, देवकिशन मुन्दडाले २३.०५ प्रतिशत स्वामित्व कायम रहेको छ । विकास दुगडले १०.४२ प्रतिशत, शिशिर कुमार मुरारकाले १०.९६ प्रतिशत सेयर स्वामित्व घटाएका छन् ।

सिनर्जी पावर डेभलपमेण्ट कम्पनीका सेयरधनीमध्ये लकइन अवधि खुलेको दुई वर्षमा ६ जना संस्थापकमध्ये जम्मा २ जना मात्रे बाँकी छन् । बाँकी ४ जनाले सेयर बिक्री गरेर हिँडेको अनुसन्धानले देखाएको छ । विष्णुराज अधिकारी, अभिलाषा राणा र निकिता अधिकारीले धेरै कित्ता सेयर बेचेका छन् ।

कम्पनीमा रहेको सेयरको स्वामित्व विष्णुराज अधिकारीले ५२.८९ प्रतिशत, सुरेन्द्रबहादुर केसी (खड्का क्षेत्री) १५ प्रतिशत, रेखा कुमारी शर्मा अधिकारीले ११.०८ प्रतिशत र प्रतिकराज अधिकारीले १७.८० प्रतिशत सेयर स्वामित्व घटाएका छन् ।

घलेम्दी हाइड्रोका केही संस्थापकहरुले सेयर बिक्री गरेको देखिन्छ । यो अविधमा सिमाट पावर कम्पनीले सेयर बिक्री गरेको छ । यस्तै सिमाट पावरले १२.४७ प्रतिशत स्वामित्व घटाएको छ ।

शिवश्री हाइड्रोपावरका १६ जना संस्थापकहरु मध्ये ७ जनाले अधिकांश सेयर बिक्री गरेका छन् । दिपककुमार श्रेष्ठ, सविता गोदार थापा र अन्य संस्थागत लगानीकर्ताले समेत सेयर बिक्री गरेका छन् । ग्रान्डी होल्डिङ प्रालिले ९९.२४ र उमेश कसजुले ३३.२५ प्रतिशत सेयर स्वामित्व घटाएका छन् ।

आंखुखोला जलविद्युत कम्पनीको ७ जना संस्थापकमध्ये ६ जनाले अधिकांश सेयर बिक्री गरेका छन् । प्रमोद प्रसाद चौधरी, महेश प्रसाद रिजाल, चन्द्र बहादुर तामाङ, शेखर बस्नेत, जनक प्रसाद भट्ट र नवराज अधकारीले सेयर बिक्री गरेका छन् । कम्पनीबाट रमिला तामाङले आफ्नो स्वामित्व १.९४ प्रतिशत घटाएकी छिन् ।

माउन्टेन हाइड्रो नेपालका १० जना संस्थापक मध्ये केहीले सेयर बेचेका छन् । अध्ययनका अनुसार बैकुण्ठ प्रसाद शर्मा र रोडसो इन्भेष्ट कम्पनीले सेयर बेचेका छन् । सिंगलिला इनर्जी प्रालिले ०.६४ प्रतिशत स्वामित्व घटाएको छ । यस्तै पुष्प चित्रकारले २७.४१ प्रतिशत र प्रल्हाद तिमल्सिनाले ०.६४ प्रतिशत स्वामित्व घटाएका छन् ।

अरुण कावेली पावर कम्पनीका चार संस्थापक मध्ये केहीले सेयर बिक्री गरेका छन् । जसमा अपी पावर कम्पनीले सेयर बिक्री गरेको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीले ३७.९८ प्रतिशत स्वामित्व घटाएको छ भने गुरुप्रसाद न्यौपानेको १.९० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीका ८ संस्थापकमध्ये ६ जनाले अधिकांश सेयर बेचेका छन् । वीरेन्द्र बहादुर न्यौपाने, रूपमणि भण्डारी, भगवती चौधरी तथा अन्य संस्थागत लगानीकर्ताहरुले बिक्री गरेको देखिएको छ । वीरेन्द्रबहादुर न्यौपानेले ४० र रुपमणि भण्डारीले २७.४२ प्रतिशत स्वामित्व घटाएका छन् ।

सानिमा माई हाइड्रोपावरबाट १३ जनामध्ये ३ जना संस्थापकले सेयर बेचेका छन् । अमृत तिवारी, सोनाम ग्याल्बो र गीता क्षेत्रीले सेयर बेचेका हुन् ।

सानिमा हाइड्रोपावर लि ९६.१८ प्रतिशत, उपेन्द्र महतोको १०० प्रतिशत, जय गणेश इन्भेष्टमेन्ट कम्पनी १०० प्रतिशत, मयूर गणेश इन्भेष्टमेन्ट कम्पनीको १०० प्रतिशत, निरज गोविन्द श्रेष्ठको १०० प्रतिशत, फण्ड फर हाइड्रो इलेष्टमेन्ट प्रालिको १०० प्रतिशत, हरेन्द्र प्रसाद जैसवालको १०० प्रतिशत, एभरेष्ट मल्टिपल सेभिङ एण्ड क्रेडिटको १०० प्रतिशत, जिवा लामिछानेको २०.७२ प्रतिशत र शिवमणि भुर्तेलको १०० प्रतिशत स्वामित्व रहेको छ ।

रिडी पावर कम्पनीको पनि सेयर बिक्री भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ७६.८६ प्रतिशत, गुरुप्रसाद न्यौपाने ७६.३४ प्रतिशत, डेडराज खड्काको ६८.८१ प्रतिशत, बच्छराज तामाङको ६८.८७ प्रतिशत, विवेक तातेडको ७६.८६ प्रतिशत, विशाल तातेडको ८६.८७ प्रतिशत, शिवरतन शारडा ७६.८६ प्रतिशत, पवन कुमार शारडा ७६.८६ प्रतिशत, श्रीनिवास शारडा ७६.८६ प्रतिशत र राधेश्याम शारडाको ७६.८७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

वरुण हाइड्रोपावर कम्पनीमा रहेका २५ संस्थापकमध्ये केहीले सेयर बेचेका छन् । राजेन्द्र प्रसाद श्रेष्ठ, सुरेन्द्र राज मैनाली, नविन कुमार थापा, फणिन्द्र प्रसाद भटराई, दिपक कुमार श्रेष्ठ, सरला त्रिपाठी, नविन कुमार थापा, फणिन्द्र प्रसाद भटराई, गणेश बहादुर भण्डारी, दिपक कुमार श्रेष्ठ, केशव बहादुर रायमाझी, भीम लाल पौडेल, हुमनाथ चौलागाईले सेयर बिकी गरेका छन् ।

जमुना पौडेलले ५८.८९ प्रतिशत स्वामित्व घटाएकी छिन् । भोगेन्द्र कुमार गुरागाईको १०.२५ प्रतिशत, शैलेन्द्र गुरागाई १०.२५ प्रतिशत, डेडराज खड्का १०.२५ प्रतिशत, श्रीजेश गुरागाई १०.२५ प्रतिशत, अर्जुन प्रसाद गौतम १०.२५ प्रतिशत, सरीता थापा खड्का २६.२९ प्रतिशत, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल १०.२५ प्रतिशत, सरिता काफ्ले १०.२५ प्रतिशत र धिरज लामाको १०.२५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

ङादी ग्रुप पावर कम्पनीका १३ संस्थापकमध्ये केहीले सेयर बेचेका छन्। सौरभ गुरागाई, सानुमा शर्मा, ज्ञानेन्द्र कुमार शर्मा, दिनेश गुरुङ र मित्रलाल शर्माले सेयर बेचेका छन् ।

जमुना पौडेलले २.७९ प्रतिशत सेयर स्वामित्व घटाएकी छिन् । भोगेन्द्र कुमार गुरागाईको २१ प्रतिशत, शैलेन्द्र गुरागाईको २१.६७ प्रतिशत, प्रेम कृष्ण महर्जन १ प्रतिशत, माधव प्रसाद घिमिरे २१ प्रतिशत र शुशिला घिमिरेको २०.३९ प्रतिशत स्वामित्व रहेको छ।

यस्तै कम्पनीमा श्रीजेश गुरागाईले १०.९१ प्रतिशत र भुषण गुरागाई १.६६ प्रतिशत सेयर स्वामित्व घटाएका छन् ।

दिव्यश्वरी हाइड्रोपावरका ८ संस्थापक मध्ये ७ जनाले अधिकांश सेयर बेचेका छन् ।

बिजी हाइड्रो इन्भेष्टमेन्ट कम्पनी, दधिराम निरौला, खड्कबहादुर राउत, पदमलाल गौतम, बिजु राउत, अभयलाल श्रेष्ठ र अनुप सुवेदीले बिक्री गरेका छन् । वान ओ वान कम्पनीले ३३.२५ प्रतिशत स्वामित्व घटाएका छन् ।

लगानीकर्तालाई पर्ने प्रभावः जलविद्युत समूहका कम्पनीहरुको सूचीकरण हुने क्रमसँगै धितोपत्र बजारका लगानीकर्ताहरु यस क्षेत्रप्रति आकर्षण भई प्राथमिक बजार तथा धितोपत्रको दोस्रो बजारमा लगानी गरेका छन् ।

जलविद्युत समूहका कम्पनीहरुमा समस्या उत्पन्न भएमा समग्र लगानीकर्ताको विश्वासमा कमी आए बजारमा समस्या आउन सक्ने अध्ययनले देखाएको छ ।

सेयर संरचनाको परिवर्तनसँगै जलविद्युत क्षेत्रका कम्पनीहरुको वित्तीय अवस्थामा असर गर्दा लगानीकर्ताहरुले पाउने प्रतिफलका साथै कमजोर वित्तीय भएको अवस्थामा धितोपत्र दोस्रो बजार मूल्यमा उतारचढाव आउने देखिएको छ । त्यसको प्रत्यक्ष प्रभाव धितोपत्र बजारका लगानीकर्ताहरुलाई पर्ने अध्ययनले देखाएको छ ।

यस्ता कम्पनीमा लगानीगर्दा त्यस्ता कम्पनीमा ध्यान दिनुपर्ने लगानीकर्ताको सुझाव छ ।

सञ्चालक, संस्थापक सेयर सदस्य समेत थाहा पाउन नसक्ने कम्पनीमा लगानी गर्दा लगानीकर्ता आफैं बढी सचेत हुनेपर्ने अन्यथा जानाजान आफ्नो लगानी गुमाउनु सरह हुने लगानीकर्ताहरु बताउँछन् ।

तत्कालका लागि यस्ता कम्पनीले लाभ दिने भए पनि सञ्चालक, संस्थापक सेयरधनीले नै सेयर बिक्री गरेपछि दीर्घकालमा लाभांश नदिने नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारको भनाइ छ ।

यस्ता खाले कम्पनीको मूल्यमा खेल्न सजिलो हुने भएर सोझा लगानीकर्ता डुब्न सक्ने भन्दै सचेत भएर, बुझेर मात्रै लगानीगर्न उनको सुझाव छ ।

जलविद्युत कम्पनीमा संस्थापक, सञ्चालक नै सेयर बिक्री गर्नतर्फ लाग्नु हाइड्रोपावरको पुरानो रोग भएको उनको भनाइ छ ।

संस्थापक नै लकइन अवधि सकिएलगत्तै सेयर बिक्री गरेर बाहिरिँदा बजारमा नकारात्मक असर पर्ने, सोझा लगानीकर्ता फस्ने उनको बुझाइ छ । यस्तो काम बढी बुझ्ने गर्ने गरेको रौनियार बताउँछन् ।

यसले लगानीकर्ता ठगिने, कम्पनीमा संस्थागत सुशासन नहुने उनको भनाइ छ । यसले कम्पनीप्रति लगानीकर्ताको विश्वास कम कम हुने भएका कारण प्रभावकारी नियमन आवश्यक पर्ने रौनियार बताउँछन् । प्रभावकारी नियमन नहुने हो भने जलविद्युतमा ढुक्क भएर लगानी गर्न सकिने अवस्था नरहेको रौनियारको भनाइ छ ।


सोभित थपलिया