थानकोटबाट एक घण्टामै चितवन पुग्ने बाटो बनाउन लगानी खाेज्दै सरकार, सवा २ खर्ब लाग्ने



काठमाडौं । सरकारले थानकोटबाट चित्लाङ पालुङटार हुँदै चितवन जाने एक्सप्रेस हाइवे बनाउने आयोजना अघि सारेको छ । नौवटा सुरुङमार्ग र ३० वट पुलसहितको ४ लेनमा एसियन स्ट्याण्डर्डको हाइवे बनाउने प्रस्ताव सरकारले अघि सारेको हो ।

यो सडकमा २९ किलोमिटरको सुरुङमार्ग मात्रै हुने छ । सबैभन्दा लामो सुरुङमार्गको लम्बाइ १३ किलोमिटर हुने प्रस्ताव गरिएको छ ।

९ किलोमिटर पुलको दूरी हुने छ भने सबैभन्दा लामो पुलको लम्बाइ हुने १३ सय मिटरसम्मको हुने छ । ८० देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी कुदाउँदा १ घण्टामै थानकोटबाट चितवन पुग्न सकिने यो सडक योजनालाई सरकारले लगानी सम्मेलनको शोकेसमा राखेको छ ।

२ खर्ब २१ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको यो आयोजना आर्थिक वर्ष २०७९/८० को बजेटमै परेको आयोजना हो । काठमाडौंबाट चितवन एक घण्टामै पुग्ने गरी फास्ट ट्र्याक बनाउन आवश्यक प्रारम्भिक कार्य अगाडि बढाउने घोषणा बजेटमा गरिएको थियो । उक्त योजनालाई अध्ययन गरेर यस पटकको लगानी सम्मेलनमा आकर्षक योजनाको रुपमा अगाडि सारिएको हो ।

यो सडक आयोजना निर्माणपछि अहिले काठमाडौंबाट ४ घण्टा खर्चिएर १७५ किलोमिटर पार गर्न लागे समय छोटिने छ। थानकोटबाट खोलिने नयाँ बाटोमार्फत काठमाडौं चितवतको दूरी ७० किलोमिटरसम्म छोटो हुनुका साथै ५७ मिनेटमै चितवन पुग्न सकिने आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवदेनमा उल्लेख छ ।

यो आयोजना बनेपछि यात्रा अवधि छोटिनुले यात्रुको समय बचत हुनुका साथै आर्थिक दृष्टिले समेत लाभ हुने छ । आर्थिक गतिविधि छोटो बाटोकै कारण थप बढ्ने र सवारी साधानको लागत कम हुने विश्वास गरिएको छ ।

सुदूरपश्चिम सार्वजनिक यातायातमा पनि ३१ अर्ब लगानी खोज्दै सरकार

सरकारले सुदूरपश्चिममा सार्वजनिक यातायात आयोजना बनाउने प्रस्ताव गरेको छ। यो आयोजना निर्माणका लागि ३१ अर्ब रुपैयाँ लगानी लाग्ने भएकोले उक्त लगानी जुटाउन सरकारले लगानी सम्मेलनमा यसलाई शोकेसमा राखेको छ ।

यो आयोजनामा १७२ वटा बस हुने छ । ६८ वटा डिजेल र १०४ वटा विद्युतीय बस हुने छ । यो आयोजनामा ४७ वटा बसस्टप हुने छ भने बसेको रुट धनगढीदेखि काठमाडौं र महेन्द्रनगरदेखि काठमाडौंसम्म हुने छ । मध्यम रुट महेन्द्रनरबाट नेपालगन्ज, धनगढी र डोटी हुने छ । छोटो रुटमा चल्ने सवारीको लागि महेन्द्रनगरबा धनगढी, धनगढीबाट टिकपुर, धनगढी अत्तरिया, धनगढी विमानस्थबलबाट धनगढी र धनगढीबाट अत्तरिया बसपार्कसम्मको दूरीमा सेवा दिन सकिने उल्लेख छ ।


क्लिकमान्डु