सुधारिएको लगानी वातावरण प्रदर्शन गर्दै लगानी सम्मेलन सम्पन्न, यस्तो रह्यो २ दिन



काठमाडौं । आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । विश्वव्यापी उत्कृष्ट अभ्यासबाट सिकेर नेपालको लगानी प्रभावकारिता बढाउने प्रतिबद्धतासहित दुईदिने सम्मेलन सकिएको हो ।

विगतका सम्मेलन झै नेपालले एकपल्ट फेरि नेपाल लगानीका लागि आकर्षक गन्तव्य रहेको सन्देश विश्वसामु दिएको छ । सम्मेलनमार्फत् देशले विश्व लगानी समुदायमा नेपाल उपलब्ध प्रचुर सम्भावनाका आधारमा देशको लगानी आकर्षित गर्ने क्षमता मात्र नदेखाएर सुधारिएको लगानीको वातावरण प्रदर्शन गरेको छ ।

दुई दिनमा देशले नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन सबै सरोकारवालामार्फत् प्रतिबद्धता गरेको छ । सम्मेलनका क्रममा लगानी प्रवर्द्धनका लागि अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेका कारण लगानी सम्भावना बलियो बनेको सन्देश पनि दिइएको छ ।

सम्मेलनमा प्रदर्शन गरेका परियोजनामा संसारभरका व्यावसायी, उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो आएको नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले बताए । उनका अनुसार सम्मेलनमा ८ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित २५ सय भन्दा बढीको सहभागिता थियो ।

सम्मेलनका क्रममा ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधार जस्ता क्षेत्रहरूमा हाम्रा प्राथमिकता र सम्भावित परियोजना प्रदर्शन गरेर नेपाललाई एक रुचाइएको तथा आकर्षक लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्न सफल भएको भट्टको दाबी छ । सम्मेलनमा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डका ९ परियोजनासहित कुल १५२ परियोजना प्रस्तुत गरिएको थियो । यसबाहेक विभिन्न चरणमा रहेका अरु परियोजना पनि प्रदर्शन गरेको भट्टको भनाइ छ ।

सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक दर्जनभन्दा बढी प्रत्यक्ष बैठक सम्पन्न भएको छ । विश्व बैंक समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्ने चासो पनि राखे । उनीहरुले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा स्वीकार गर्दै लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि बताए । यस्तै नेपालको दिगो विकास पहललाई समर्थन गर्ने प्रतिबद्धता गरेका छन् ।

शिखर सम्मेलनका क्रममा नेपालमा सार्वजनिक निजी साझेदारीलाई अगाडि बढाउने समझदारीसहित दर्जन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट पनि गरेका छन् ।

सम्मेलनका क्रमम नवीकरणीय ऊर्जादेखि आईसीटीसम्म विभिन्न सम्भावित लगानी क्षेत्रसम्बन्धित १२ समानान्तर सत्र सम्पन्न भयो । ती सत्रहरूले नेपालको लगानी परिदृश्य उजागर गरे । सम्मेलनका क्रममा सिर्जना र पहिचान भएका व्यावसायिक अवसरले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचुर सम्भावना पेश गरेको छ ।

लगानीसम्बन्धि ऐनमा सुधारका लागि अन्तर्राष्ट्रिय तथा स्वदेशी लगानीकर्ताहरूको चासो र अनुरोधलाई सम्बोधन गर्न तथा सरकारको प्रतिबद्धतालाई यथार्थ रुप दिन सरकारले अध्यादेशमार्फत् केही नेपाली ऐन संशोधन गरेको पनि छ ।

लगानी सम्मेलन नितान्त संवाद मञ्च मात्र नरहेर विश्वव्यापी उत्कृष्ट अभ्यासबाट सिकेर प्रभावकारिता बढाउने थलो पनि बनेको छ । सम्मेलनको माध्यमबाट विश्व लगानी समुदायमा नेपाल प्रचुर सम्भावना भएको र लगानी आकर्षित गर्ने क्षमता भएको मात्र नभएर सुधारिएको लगानीको वातावरण पनि प्रदर्शन गरिएको छ ।

सम्मेलनका क्रममा कुल ९ वटा लगानी तथा साझेदारीको सम्झौता र विभिन्न द्विपक्षीय तथा बहुपक्षीय ‘साइडलाइन’ बैठकहरू आयोजना भएका थिए ।

आइतबार ३ वटा सम्झौता भएका थिए । पहिलो सम्झौता डाटा सेन्टर निर्माण तथा सञ्चालन सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच भएको थियो । सम्झौतामा बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरे ।

दोस्रो सम्झौता नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच भयो । दुई संस्थाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको हो । सहमतिपत्रमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तान श्री दातो थायन लाईले हस्ताक्षर गरे । सोक्रमम महासंघले फेडेरेसन अफ मेलेसियन म्यानुफ्याक्चरर्ससँग पनि सम्झौता गरेको छ ।

दोस्रो दिन थप ६ सम्झौता भए ।

नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) ले इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रोडक्ट कम्पनी लिमिटेडसँग सम्झौता ग¥यो । महासंघले भारतीय संस्थासँग द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो भने चिनियाँ कम्पनीसँग नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता गरेको हो ।

यस्तै मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्र्याउने सम्झौता भएको छ । रिसोर्टमा लगानीका लागि रारा होल्डिङ्सले अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता गरेको हो । लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्टका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा करिब ४० करोड बराबर लगानी गरिनेछ । सोमबारै नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनका लागि वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स (नाप) बीच समझदारी भएको छ । समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुप कुमार उपाध्यायले हस्ताक्षर गरे ।

यसैगरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन र कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुपबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाली कम्पनीले कोरियाली कम्पनीलाई सहजीकरण तथा परामर्श सेवा प्रदान गर्नेछ । सम्झौतामा एमएबीसीका अध्यक्ष जियोन योगं लि र नेक्सजेनका शिवराज दवाडीले हस्ताक्षर गरे । कोरियन कम्पनिले नेपालमा उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रमा ६ अर्ब वैदेशिक लगानी ल्याउने स्विकृति लिएको छ ।

सोमबारै विप्रेषण आप्रवाहको रकम जलविद्युत आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी सम्मेलनको दोस्रो दिन हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषदहरु बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीमा राष्ट्रिय समन्वय परिषद्का तर्फबाट रमेश भट्ट कतार, राजकुमार श्रेष्ठ बहराइन, बिनोद थापा मलेसिया, बिनोद श्रेष्ठ इराक, बिकास शाही युएई, बिकल झा ओमन र टिकाराम खरेल जापानले हस्ताक्षर गरेका थिए ।

यसअघि हिजो लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

सम्मेलनस्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका थिए । सहभागी एवम् लगानीकर्ताले ती प्रदर्शनीकक्षमार्फत विभिन्न परियोजनाका बारेमा विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको थियो ।

सम्मेलनको समापन समारोहमा पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाबमोजिम स्वदेशी र विदेशी निजी क्षेत्रको लगानीलाई अभिवृद्धि गर्ने ध्येय राखिएको बताए । उनले आफ्नो पार्टी मुलुकको समृद्धिका लागि कानूनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न दृढ रहेको पनि जिकिर गरे । यस्तै स्वदेशी र विदेशी निजी क्षेत्रका लगानी प्रवद्र्धनका लागि संशोधित कानुनको प्रभावकारी कार्यान्वयन तथा उचित वातावरण सृजनाका पक्षमा दृढ रहेको बताए ।

सम्मेलनबाट आएका सुझावलाई कार्यान्वयन गराउन हामी पनि भूमिका निर्वाह गर्ने बताउँदै उनले सन् २०३० सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य लिएकाले सबै लगानीकर्तालाई निर्धक्क भएर नेपालको समृद्धिको यात्रामा सघाउन र लगानी गर्न आग्रह गरे ।


रोविन पौडेल