काठमाडौं । वित्तीयरुपमा संकटपुर्ण अवस्थामा पुगेका क्षेत्रीयस्तरका विकास बैंक र केही फाइनान्स कम्पनीलाई वाणिज्य बैंकको जिम्मा लगाउने रणनीति नेपाल राष्ट्र बैंकले लिएको छ ।
नेपाल राष्ट्र बैंकले समस्याउन्मूख रहेको वित्त कम्पनीहरु समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नेतृत्व लिनेभन्दा पनि मर्जर गरेर वाणिज्य बैंकलाई जिम्मा लगाएर समस्या समाधान गर्ने नीति लिन खोजेको हो ।
क्लिकमान्डुसँगको कुराकानीमा गभर्नर महाप्रसाद अधिकारीले संकटको नजिक पुगेका विकास बैंक र फाइनान्स कम्पनीको व्यवस्थापन टेकओभर गर्ने पक्षमा नरहेको बताए ।
‘राष्ट्र बैंकले व्यवस्थापन टेकओभर गरेर भन्दा पनि ठूला बैंकसँग मर्जरमा जान सहजीकरण गरिदिँदा समस्याको समाधान हुने देखिन्छ, हामी सोहीअनुसार अघि बढ्छौं’ गभर्नर अधिकारीले भने ।
निष्क्रिय कर्जा अत्याधिक बढेर संकटपूर्ण अवस्थामा पुगेको पोखरा फाइनान्सको गत बुधबार बसेको सञ्चालक समिति बैठकले मर्जर कमिटी गठन गर्ने निर्णय गरेको थियो । कम्पनी स्रोतका अनुसार राष्ट्र बैंकको सुझाव अनुसार मर्जर कमिटी गठन गरिएको हो । राष्ट्र बैंकको अनौपचारिक मध्यस्थतामा पोखरा फाइनान्सले प्रभु, ग्लोबल आइएमइ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग मर्जरको कुरा गरिरहेको छ ।
क्षेत्रीयस्तरका अधिकांश विकास बैंक र फाइनान्स कम्पनीहरु समेत करिब १ दर्जन वित्तीय संस्थामा समस्या बढ्दै गएको छ । पोखरा फाइनान्स, जानकी फाइनान्स, बैंकको प्राथमिक पुँजीकोष ऋणात्मक पुगेको छ । त्यस्तै क्षेत्रीयस्तरको सिन्धु विकास बैंकको पूँजीकोष नेपाल राष्ट्र बैंकले तोकेके न्युनतम सीमाको २५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
केही फाइनान्स कम्पनी र क्षेत्रीयस्तरका विकास बैंकहरुको संकट बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई त्यस्ता संस्था मर्जर गरी समस्या समाधानमा सघाउन आग्रह गर्न सुरु गरेको छ । मर्जरको अनुभव भएका ग्लोबल आईएमई, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा लगायतका बैंकलाई राष्ट्र बैंकले समस्याउन्मुख रहेको पोखरा फाइनान्स जस्ता संस्था मर्जर गरेर समस्या समाधान गर्न सहयोग गर्न आग्रह गरेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।
नेपाल राष्ट्र बैंकले ११ पुसमा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नेतृत्व लिएको थियो । तर, उक्त विकास बैंकको नेतृत्व राष्ट्र बैंकले लिए पनि निक्षेपकर्ताले पैसा फिर्ता पाउने सकेका छैनन् । राष्ट्र बैंकका अधिकारीहरु राष्ट्र बैंकले व्यवस्थापन लिँदैमा समस्या समाधान नहुने निष्कर्षसहित वाणिज्य बैंकहरुलाई प्रोत्साहनको लागि केही नीतिगत सहुलियत दिएर भएपनि मर्जर मार्फत समस्या समाधान गर्ने रणनीतिमा लागेका हुन् ।
‘राष्ट्र बैंकले टेकओभर गर्नु नै समस्या समाधान होइन । अहिले वाणिज्य बैंकलाई ५/७ अर्बको संस्था टेकओभर गर्न कुनै समस्या छैन,’ राष्ट्र बैंकका ती अधिकारीले भने, ‘वाणिज्य बैंकलाई केही सुविधा दिने हो भने उनीहरुले टेकओभर गर्दा समस्या समाधान गर्न पनि सहज हुन्छ । निक्षेपकर्ताले सहज रुपमा पैसा फिर्ता पाउँछन् ।’
मर्जरमा जाने सम्झौता भएपनि निक्षेप झिक्नेको भिड पनि रोकिने र सकारात्मक सन्देश जाने भएकोले समस्याग्रस्त घोषणा गर्ने भन्दा मर्जर मार्फत समस्या समाधान गर्नेमा केन्द्रिय बैंकका प्राथमिकता रहेको उनले जिकिर गरे ।
‘समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन लिदा पनि समस्या समाधान गर्न समय लाग्छ । स्रोत र साधानको पनि खर्च हुन्छ,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘त्यस्तोमा समस्याउन्मुख संस्था कुनै बैंकले लिन तयार छ भने त्यसको लागि नीतिगत रुपमा नै सहजिकरण गर्न केन्द्रिय बैंक तयार छ ।’
राष्ट्र बैंकको पहिलो प्राथमिकता भने पोखरा फाइनान्सको व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रित रहेको देखिन्छ । पोखरा फाइनान्सले उपयुक्त स्वाप रेसियो पाएमा मर्जरमा जान तयार छौं भनेपछि मर्जर कमिटी बनाएर डीडीए गर्नुस् सजिकरण गर्छौं भनेको राष्ट्र बैंकका अधिकारीहरुले पुष्टि गरे ।
‘उहाँहरुले मर्जरमा जान तयार छौं सहजिकरण गरिदिनुस् भनेपछि हामीले नीतिगत रुपमा मात्रै नभएर मर्जरको उपयुक्त पार्टनर खोज्न समेत सहयोग गछौं भनेका छौ । सोही अनुसार मर्जर कमीटी पनि बनाएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘मर्जरका अनुभव भएका केही बैंकलाई ती संस्था मर्जर गरेर सहयोग गर्ने राष्ट्र बैंकले पनि अनौपचारीक रुपमा भनिरहेका छौं।’
पोखरा फाइनान्स स्रोतका अनुसार प्रभु, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा लगायतका बैंक्सँग मर्जरको लागि नेगोसिएसन चलिरहेको छ ।
राष्ट्र बैंक स्रोतको अनुसार वित्तीय संस्था सुपरिवेक्षण विभागले जानकी र पोखरा फाइनान्समा विशेष अनुगमन गरेर सुधारका कार्ययोजना पेश गर्ने सहित केही निर्देशन समेत दिएको छ । पोखरामा ग्लोबल आईएमई बैंकसँग केही क्रसहोल्डिङसमेत छ । बैंकमा हाथवे इन्भेष्टमेन्ट कम्पनीबाट प्रतिनिधित्व गर्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालका छोरा निशान ढकाल सञ्चालक समेत थिए ।
राष्ट्र बैंकले पोखरा फाइनान्ससहित जानकी फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था विश्लेषण गर्ने भन्दै वाणिज्य बैंकहरुसँग निक्षेप विवरण समेत माग गरेको थियो ।
प्रतिक्रिया