काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको वाईवाईमा २४ वर्ष काम गरेका जीपी शाह करेन्ट लगायतका विभिन्न ब्रान्डका चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकका रुपमा भित्रिएका छन् ।
करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सले शुक्रबार शाहलाई औपचारिक रुपमा भित्र्याएको घोषणा गरेको छ ।
नेपालको खाद्य बजारकै अग्रणी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्सले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा शाहलाई नियुक्त गरेको जानकारी दिएको हो ।
यशोदा फुड्सले अन्तर्राष्ट्रिय बजारमा वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आइरहेको छ । भारत, क्यानडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, इटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भुटान, हङकङ, कतार, सिंगापुर, न्युजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा यशोदा फुड्सले आफ्नो उत्पादन बिक्री गर्दै आएको छ ।
यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले शुक्रबार नवनियुक्त ग्लोवल कार्यकारी निर्देशक शाहलाई स्वागत गरे ।
शाहको नियुक्तिसँगै यशोदा फुड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको अध्यक्ष पौडेलको भनाइ छ ।
उनले आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको जनाए ।
ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको पौडेलको भनाइ छ ।
शाह व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार वृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिङ, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा वृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि ख्यातिप्राप्त व्यक्तित्व हुन् ।
रेभेन्यूमा निरन्तर वार्षिक वृद्धि, नाफाका साथै इन्टरप्राइजको भ्यालु एडिशनका लागि प्रमाणित ट्र्याक रेकर्डका लागि पनि उनी परिचित व्यक्ति हुन् ।
उनको अनुभव तथा विशेषज्ञता इन्जिनियरिङ प्रडक्सन, प्रडक्ट डेभलपमेन्ट, अपरेसन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिङ, अन्तर्राष्ट्रिय बजार विस्तार र ३५ भन्दा बढी देशहरुमा मार्केटिङ तथा एडभरटाइजिङ लगायत रहेका छन् ।
व्यवसायिक करियर अन्तर्गत शाहको ख्यातिप्राप्त कन्जुमर गुड्स ब्राण्डहरु जस्तै चाउचाउ, एक्स्कुडेड स्न्याक्स, पोट्याटो चिप्स, फ्राइड स्न्याक्स, वेफर्स, मसलाहरु, इन्स्ट्यान्ट पास्ता, सिगरेट, फलफूल जन्य पेय पदार्थ, इनर्जी ड्रिंक्स तथा वियरका श्रेणीहरुमा समेत विशेष दक्षता रहेको छ ।
यशोदा फुड्ससँग अनुबन्धित हुँदै सफलताको नयाँ रोमाञ्चक यात्राको साझेदार हुन पाउनु आफ्ना लागि ठूलो सम्मान तथा गौरवको विषय भएको शाहले बताए । गुणस्तर र नवप्रवद्र्धनका सवालमा सदैव अग्रणी रहँदै आएको कम्पनीसँग आफ्नो यात्रा अगाडि बढाउन पाउँदा आफू उत्साहित भएको शाहको भनाइ छ।
प्रतिक्रिया