परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी जयशंकरबीच विकास साझेदारीमा केन्द्रित छलफल

42
Shares

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा एस जयशंकरबीच शनिबार द्विपक्षीय हितका विविध विषयमा विस्तृत छलफल भएको छ ।

जयशंकरले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गरी वार्ताका क्रममा दुई देशबीचको विशिष्ट साझेदारीलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।

नेपाली प्रतिनिधिमण्डल र भारतीय पक्षबीच भएको छलफलमा विशेषगरी विकास सहयोग, कनेक्टिभिटी (सञ्जाल विस्तार), र ऊर्जा क्षेत्रमा जोड दिइएको थियो । ऊर्जा अन्तर्गत पनि जलविद्युत् विकासका सम्भावना र सहकार्यका बारेमा विस्तृत चर्चा भएको छ ।

यसका साथै शिक्षा, स्वास्थ्य, क्षमता अभिवृद्धि, डिजिटल प्रविधि, संस्कृति र खेलकुद जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा पनि सहकार्य गर्ने विषयमा दुवै पक्षबीच संवाद भएको छ ।

उक्त अवसरमा भारतीय पक्षले नेपालको प्रगति, समृद्धि र दुवै देशका जनताको हितका लागि निरन्तर मिलेर काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । यस भेटले नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको जयशंकरले लेखेका छन् ।