सञ्चयकर्तालाई कर्मचारी सञ्चय कोषले बाड्यो ४ अर्ब ५८ करोड मुनाफा



काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई मुनाफा वितरण गरेको छ ।

कोष संचालक समितिको गत मंगलबार बसेको बैठकले आर्थिक बर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृत गर्दै मुनाफा वितरण गर्ने निर्णय गरेको हो ।

कोषले सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई आर्थिक वर्ष २०७९/८० को व्यक्तिगत खातामा रहेको शुरु मौज्दात रकममा १.१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाको रुपमा वितरण गरेको हो । निर्णय भएसँगै सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्ताको खातामा उक्त रकम जम्मा गरिएको कोषले जनाएको छ ।

कोषले आथिक वर्ष २०७९/८० मा सञ्चयकर्तालाई कोष रकमको धितोमा प्रवाह भएको विशेष सापटीमा लगाउने ब्याज र कोष रकममा प्रदान गर्ने व्याजदरमा १.१० प्रतिशतको फरक रहेकोमा यस मुनाफा विवरण पश्चात सञ्चयकर्तालाई थप व्याजको भार नपर्ने अवस्था सिर्जना भएको छ । आ व २०८०/८१ का लागि कोषमा रहेको रकममा ७.५ प्रतिशतका दरले ब्याज समेत प्रदान भइरहेको छ ।

सञ्चय कोषको प्रवक्ता दामोदरप्रसाद सुवेदीका अनुसार कोषको यो निर्णयसँगै सञ्चयकर्ताले आव २०८०/८१ को शुरु मौज्दातमा ८.६ प्रतिशतको दरले व्याज प्राप्त गरेका छन । कोषमा आर्थिक वर्ष २०७९/८० को शुरु मौज्दात ‍४ खर्ब १६ खर्ब ३६ करोड थियो । उक्त रकमको आधारमा मुनाफा रकम वितरण भएसँगै ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम कार्यरत तथा पूर्व सञ्चयकर्ताको ८ लाख ६० हजार खातामा जम्मा गरिएको छ ।

कोषले आफ्नै स्रोतबाट स्वास्थ्य उपचार सुबिधा¸ काजकिरिया अनुदान¸ सुत्केरी तथा शिशु स्याहार सुविधा¸ दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुरक्षा सुविधाहरु प्रदान गर्दै आएको छ । कोषले प्रत्येक वर्षको मुनाफाको रकम सञ्चयकर्ताको लागि खडा गरिएका कोषमा जम्मा गरी यस प्रकारका योजना सञ्चालन गर्दै आएको छ ।

सामाजिक सुरक्षा योजना सञ्चालनको लागि यो वर्ष मुनाफाको १२ प्रतिशतले हुने रकम ७२ करोड २० लाख रुपैयाँ छुट्याएको छ । कोषले आफ्ना सदस्यहरुको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल कर्जा¸ जग्गा खरिद सापटी जस्ता सापटी सुविधाहरु समेत कोषबाट उपलव्ध हुँदै आएको छ ।

सञ्चयकर्ताको सञ्चित रकममा चक्रबृद्धि ब्याज तथा हरेक वर्ष मुनाफा प्रदान गर्ने गरिएको छ । कोषले आफुसँग भएको वित्तिय श्रोतलाई सञ्चयकर्ताको हितमा अधिकतम प्रयोग गरिरहेको छ ।

कोषले ११ वटा विभाग तथा ७ वटै प्रदेशमा रहेका ८ वटा शाखा कार्यालय र ३ वटा सेवा केन्द्रहरुमार्फत सेवा प्रवाह गरिरहेको छ । २०१९ मा स्थापना भएको कोषमा हाल करिव ५ सय १२ अर्व भन्दा बढीको वित्तिय स्रोत विभिन्न क्षेत्रमा परिचालन गरि व्यवस्थापन गरी रहेको छ ।


क्लिकमान्डु