गैरकानूनीरुपमा एनबी बैंकको सेयरधनी बनेर रडाको मच्चाउँदै दुगड



कठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको प्रमुख सेयरधनी आइएफआइसीले ०७७ असार २९ गते आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने सूचना जारी गर्यो ।

कानूनअनुसार एनबी बैंकमा बंगालदेशको आइएफआइसी बैंकको सेयर किन्ने हकदार एनबी बैंकका सेयरधनी थिए । सोहीअनुसार एनबी बैंकले सूचना निकालेको थियो ।

एनबी बैंकको संस्थापक प्रवर्द्धक रहेको एनबी ग्रुपका सदस्यहरुले आइएफआइसी बैंकको सेयर किन्ने प्रस्ताव गरे । एनबी ग्रुपका जितबहादुर, लक्ष्मीबहादुर, एल्सन, बिल्सन श्रेष्ठदेखि लिएर उनीहरुको स्वामित्व कम्पनी हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्टले प्रस्ताव हालेका थिए ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले एनबी बैंकमा रहेको आइएफआइसीको सेयर किन्न एनबी ग्रुपका सदस्य तथा कम्पनीहरु ‘फिट एण्ड प्रोपर टेस्ट’मा अयोग्य ठहर गर्यो । राष्ट्र बैंकको नियमअनुसार यसरी संस्थापक सेयर किन्नका लागि बैंकका सेयरधनीहरु ‘फिट एण्ड प्रोपर टेस्ट’मा योग्य हुनुपर्छ ।

एनबी ग्रुपका लक्ष्मीबहादुर र जितबहादु परिवारका सदस्य कालोसूचीमा परेको हुँदा राष्ट्र बैंकको नियमअनुसार योग्य भएनन् । लक्ष्मीबहादुर र जितबहादुरले प्रस्ताव दर्ता गरेपनि उनीहरुको पछाडि भने अरु व्यवसायिक घरानाहरु थिए ।

एनबी ग्रुप अयोग्य भएपछि सो सेयर चौधरी ग्रुपले किन्ने र नबिल बैंकमा एनबीलाई एक्विजेशन गर्ने प्रक्रिया अघि बढायो । लफडा नभएको भए नविल र एनबीबीच हिजो/आज नै मर्जर वा एक्विजिशनको सम्झौता भइसकेको हुने थियो ।

यसरी शुरु भयो लफडा

एनबी बैंकमा लफडा हुनु कुनै नौलो विषय होइन । २७ वर्षको इतिहास बोकेको एनबी बैंक लफडै लफडाको खानी हो भन्दा फरक पर्दैन ।

यसका लगानीकर्ताहरु लफडामा रुमल्लिँदा २७ वर्षमा पनि व्यवसाय बिस्तार गर्न र राम्रो प्रतिफल दिन नसकेपछि ४१ प्रतिशत स्वामित्व भएको बंगाली लगानीकर्ता आइएफआइसी आफ्नो सेयर बेचेर बाहिरिने निर्णयमा पुगेको हो ।

पछिल्लो दशक व्यवसायमा आक्रामक घराना शंकर ग्रुपलाई एउटा वाणिज्य बैंक चाहिएको थियो । शंकर ग्रुपले शुरुमा एक्लै बंगलादेशी बैंकको सेयर किने बैंकमा प्रवेश गर्ने योजना बनाएको थियो ।

उद्योग र ट्रेडिङमा रहेका शंकर ग्रुपले पछिल्लो ४ वर्षमा सेवा क्षेत्रमा जीवन बीमा कम्पनी ल्याएको छ भने गत वैशाखमा हिमालयन रि इन्स्योरेन्स लाइसेन्स पाउन सफल भएको छ । हिमालयन रि मा प्रमुख लगानी शंकर ग्रुपका कम्पनीको छ ।

शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले केही महिना अगाडि क्लिकमाण्डूसँगको कुराकानीमा बैंकमा आफूहरुले लगानी गर्न चाहेको र केही समयमा गुड न्यूज सुनाउन सकिने बताएका थिए ।

तर, शंकर ग्रुप र त्यसका प्रबन्ध निर्देशक साहिल अग्रवालसँग बैंक सञ्चालन गरेको अनुभव थिएन । एनबीजस्तो कमजोर बैंकलाई नबिल जस्तो बलियो बैंकले लिइदिओस् भन्ने राष्ट्र बैंकको चाहना थियो । र, अझै पनि छ ।

जसकारण शंकर ग्रुपलाई लाग्यो कि आइएफआइसीको सेयर सिधै किन्न पाइँदैन । त्यसैले शंकर ग्रुपले सेयर किन्नका लागि सनराइज बैंकका अध्यक्ष मोती दुगडको साथ लियो । सञ्चालक समितिमा धेरैजसो समय लफडा भइरहने सनराइजलाई राष्ट्र बैंकले पनि मर्जरमा जाने दबाब दिँदै आएको छ ।

परिवारभित्र भतिजा मालचन्द्र दुगडसँगको विवादले सनराइजमा सँधै लफडा हुन्छ । र, त्यो लफडा बेलाबेलामा छताछुल्ल हुँदै आएको छ । आफू अध्यक्ष भएको सनराइज बैंककै अवस्था दयनीय भएका बेला दुगड किन एनबी बैंकको सेयरमा लफडा मच्चाइरहेका छन् ? विश्वस्त स्रोतले भन्यो, ‘दुगड त बाहिर देखिएका पात्र मात्रै हुन्, लक्ष्मीबहादुर श्रेष्ठको डिजाइन र शंकर ग्रुपका साहिल अग्रवालको ब्याकिङमा यो सबै काम भइरहेको छ ।’

एनबी बैंकमा रहेको आइएफआइसी बैंकको सेयर किन्नका लागि दुगडलाई शंकर ग्रुपसहित शेखर गोल्छा तथा पशुपति मुरारकाले पनि सहयोग गरेका छन् ।

हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्टले आइसीएफसीको सेयर ७ अर्ब रुपैयाँमा किन्ने भनेर सम्झौता गरेको बताएको छ । जबकी चौधरी ग्रुपले त्योभन्दा कममा डिल फाइनल गरिसकेको छ ।

‘हामी चौधरी ग्रुपले भन्दा ५०/६० करोड रुपैयाँ महंगोमा एनबी बैंकमा रहेको आइसीआइसीको सेयर किन्न तयार छौं,’ हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्टमा हालैमात्र प्रवेश गरेका एक सेयरधनीले क्लिकमाण्डूसँग भने ।

स्रोतका अनुसार उक्त इन्भेष्टमेन्ट कम्पनीमा मोती दुगडले ३ अर्ब, साहिल अग्रवालले अढाई २ अर्ब, शेखर गोल्छाले ३० करोड, पशुपति मुरारकाले २० करोड अन्य केही व्यवसायीले करिब १ अर्ब रुपैयाँ हाल्ने प्रतिबद्धता जनाउँदै राष्ट्र बैंकमा स्वीकृतिका लागि पत्राचार गरेका थिए । तर, अहिलेसम्म पनि राष्ट्र बैंकले उनीहरुलाई सेयर किन्नका लागि स्वीकृत दिएको छैन । दुगडले हाल्ने भनेको ३ अर्बमा पनि अग्रवालकै ब्याकिङ रहेको स्रोतको दाबी छ । तर, कसैले पनि नगद भने हालेका छैनन् ।

साहिल र शेखरको साझेदारी युनियन लाइफमा छ भने हिमालयन रि-इन्स्योरेन्सको अध्यक्ष शेखर गोल्छा छन् ।

कालोसूचीमा परेको तथा बैंकको ऋण तिर्न बाँकी भएको एनबी ग्रुप कुनैपनि हालतमा यसको चौधरी ग्रुपलाई सेयर किन्न दिने पक्षमा थिएन । नबिल बैंककै ऋण नतिरेका कारण एनबी ग्रुपका लक्ष्मीबहादुर र जितबहादुरका परिवार र कम्पनी कालोसूचीमा परेका हुन् । अहिले पनि श्रेष्ठ परिवारले नबिल बैंकसँग डेढ दशकअघि लिएको ५० करोडभन्दा बढी ऋण तिर्न बाँकी छ ।

यस्तो छ राष्ट्र बैंकको व्यवस्था

एनबी बैंकका सेयरधनीलाई मात्र आइएफआइसी बैंकको सेयर किन्ने पहिलो हकदार हुन्छ । त्यही हकको फाइदा उठाएर एनबी ग्रुपको कम्पनी हिमालयन क्यापिटलमा मोती दुगड, साहिल अग्रवाल, शेखर गोल्छा र पशुपति मुरारकाको प्रवेश भएको छ । जबकी, नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकको संस्थापक सेयरधनी रहेको कम्पनी तथा फर्मको सेयर किनबेच हुँदा त्यसको स्वीकृति नेपाल राष्ट्र बैंकबाट लिनुपर्छ ।

हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्टको एनबी बैंकमा ०.७० प्रतिशत सेयर स्वामित्व छ । यो कम्पनीको सेयरधनी परिवर्तन गर्न राष्ट्र बैंकको अनुमति नलिइ दुगड र शंकर ग्रुप प्रवेश गरेर अहिले रडाको मच्चाएका हुन् ।

आइसीआइसी बैंकको सेयर आफूहरुले किन्ने सम्झौता भएको भन्दै काठमाडौं जिल्ला अदालतमा दुगडले एनबी बैंक विरुद्ध मुद्दासमेत हालेका छन् । दुगडले हालेको मुद्दामा म‌गलबार मात्रै जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामचन्द्र पौडेलको एकल इजालसले सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी गरेको छ।

अदालतले ७ दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न समेत आदेशमा भनिएको छ ।

‘नेपाल बंगलादेश बैंक लिमिटेडको ३६८२७४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरिद गर्न गत मार्च ३१ तारिखमा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट अप्रिल २ मा स्वीकृत गरी करार गरी अघि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिँदा सो बमोजिम सेयर विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु नगराउने’ आदेशमा भनिएको छ ।

एनबी बैंकलाई नबिल बैंकसँग मर्ज हुन नदिने उद्देश्यले गैरकानूनीरुपमा दुगड र अग्रवाल एनबी बैंकको सेयरधनी बनेको एनबी बैंकका उच्च अधिकारीहरुको भनाइ छ ।

‘अदालतमा मुद्दा हाल्ने दुगडजीहरु एनबी बैंकको सेयरधनी नै होइनन्, यसरी गैरसेयरधनीले हालेको मुद्दामा अदालतले सेयर बिक्री नगर्नु नगराउनू भन्ने आदेश आएपछि हामी छक्क परेका छौं,’ एनबी बैंक स्रोतले भन्यो, ‘हामी ७ दिनभित्र दिखित जवाफमात्रै दिँदैनौं, शुक्रबारसम्ममा उक्त निर्णय खारेजीको माग गर्दै भ्याकेट हाल्छौं ।’

नियामक निकाय राष्ट्र बैंकको स्वीकृतिबिना गैरकानूनीरुपमा एनबी बैंककोक सेयरधनी बनेर लफडा मच्चाउँदै हिँड्ने अधिकार कसैलाई पनि नभएको ती अधिकारीले बताए ।

‘यस विषयमा राष्ट्र बैंकले पनि सत्यतथ्य के हो भनेर अदालतलाई बुझाउने छ, त्यसपछि दुगडजीहरु हावा खानेछन्,’ स्रोतले भन्यो, ‘दुगडजीहरुलाई न राष्ट्र बैंकले चिन्छ, न त एनबी बैंकले नै ।’


आशीष ज्ञवाली