एनबि बैंकमा रहेको आइएफआईसीको सेयर चौधरीलाई नबेच्न अदालतको आदेश



काठमाडौं । नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको आइएफआइसी बैंकको स्वामित्वको सेयर बिक्री गर्न अदालतले रोक लगाएको छ ।

चौधरी ग्रुप र एमभी दुगड ग्रुपबीच एनबि बैंकमा रहेको आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर कस्ले किन्न भन्ने विषयमा विवाद भएपछि दुगड ग्रुप अदालत पुगेको थियो ।

एमभि दुगड ग्रुप आइएफआईसी बैंकले आफूहरुसँग सेयर बिक्री गर्ने सहमति भएपनि चौधरी ग्रुपलाई त्योभन्दा बढी पैसामा बिक्री गर्न थालेपछि विवाद उत्पन्न भएको थियो ।

दुगड ग्रुपले एनबि बैंक र आइएफआईसी बैंकलाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो ।

बुधबार काठमाडौं जिल्ला अदालतले मुद्दामा सुनुवाई गर्दै न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले क्लिकमाण्डूलाई जानकारी दिए । अदालतले ७ दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न समेत आदेशमा भनिएको छ ।

‘नेपाल बंगलादेश बैंक लिमिटेडको ३६८२७४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरिद गर्न गत मार्च ३१ तारिखमा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट अप्रिल २ मा स्वीकृत गरी करार गरी अघि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिँदा सो बमोजिम सेयर विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु नगराउने’ आदेशमा भनिएको छ ।

सनराइज बैंकमा लगानी गरेको एमभी दुगड ग्रुपले आइसीएफआईसीको स्वामित्वमा रहेको एनबि बैंकको सेयर खरिद गरेर मर्ज गर्ने तयारीमा थियो । एनभी दुगड ग्रुपका अनुसार बंगलादेशमा आइएफआईसी बैंक र एनभी दुगडबीच सेयर खरिदबिक्री गर्नका लागि सम्झौता समेत भएको थियो ।

दुगड ग्रुपका मोतीलाल दुगडले सोही विषयमा नेपाल बंगलादेश बैंकको प्रमुख सेयरधनी आइएएफआईसी बैंक लिमिटेड समेत ३ जनालाई विपक्षी बनाएर उच्च अदालत पाटनमा समेत मुद्दा दायर गरेको छ ।


क्लिकमान्डु