एनबी बैंकको सेयर किन्ने विषयमा बिनोद चौधरी र मोती दुगडबीच कर्पोरेट वार, दुगड ग्रुप अदालत पुग्यो



काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको सेयर कसले किन्ने भन्ने विषयमा नेपालका दुई व्यवसायिक घरानाबीच ‘कर्पोरेट वार’ शुरु भएको छ ।

चौधरी ग्रुप र एमभी दुगड ग्रुपबीच एनबी बैंकमा रहेको आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर कसले किन्ने भन्नेमा वार शुरु भएको हो ।

आइएफआइसी बैंकले गत साता बंगलादेशको स्टक एक्सचेञ्जमा एनबी बैंकको सेयर बिक्रीमा डिल भएको जानकारी दिएको छ । नेपालमा भने यसको जानकारी एनबी बैंकले दिएको छैन ।

एनबी बैंकको मुख्य सेयरनी आइएफआईसी बैंकले सेयर बेचेर बाहिरिने भएपछि नेपालमा प्रमुख व्यापारिक घरानाबीच यसको सेयर किन्नेमा प्रतिष्पर्धामा चलेको थियो । एनबी बैंकका सेयरधनीहरु सेयर किन्ने अयोग्य भएपछि चौधरी ग्रुप, एमभी दुगड ग्रुप र शंकर ग्रुपले यसको सेयर किन्न खोजेका थिए । तर, शंकर ग्रुप भने एक्लै सेयर किन्न नसकेपछि यो डिलमा एमभी दुगड ग्रुपसँग मिलेको थियो ।

सनराइज बैंकमा लगानी गरेको एमभी दुगड ग्रुपले आइसीएफआइसी स्वामित्वमा रहेको एनबी बैंकको सेयर किनेर सनराइजमा मर्ज गर्ने तयारीमा थियो । एमभी दुगड ग्रुपका अनुसार बंगलादेशमा आइएफआईसी बैंक र एमभी दुगडबीच २०२१ अप्रिलमा प्रतिकित्ता १५७ कित्ताको दरले सेयर किन्ने सम्झौता भएको थियो ।

सम्झौता पालना नगरेको तथा आफूलाई बेच्ने भनेको सेयर चौधरी ग्रुपलाई बेच्ने भएपछि एमभी दुगड ग्रुपले एनबी बैंक र आइएफआइसीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । मुद्दामा अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

एमभी दुगड ग्रुप आइएफआईसी बैंकले आफूहरुसँग सेयर बेच्ने सहमति गरेपनि चौधरी ग्रुपले त्योभन्दा बढी पैसामा सेयर बेच्न थालेपछि एमभी दुगड ग्रुपले मुद्दा दायर गरेको हो ।

चौधरी ग्रुपले भने आइएफआईसी बैंकको स्वामित्वमा रहेको सेयर किनेपछि नबिल बैंकमा यसलाई गाभ्ने तयारी गरेको थियो ।

नबिल बैंकमा गाभ्दा स्वापबाट आउने रकमले नबिल बैंकको लाभांश समेत नघट्ने तथा बिनोद चौधरी र उनको परिवारको नाममा रहेको सेयर स्वामित्व समेत परिवर्तन नहुने भएपछि एक्विजेशन गर्ने तयारी गरेको थियो । अदालतले एमभी दुगडको पक्षमा फैसला गरेमा एनबी बैंकको सेयर किन्न चौधरी ग्रुपले पाउने थिएन ।

अदालतमा मुद्दा परेसँगै नबिल र एनबीबीचको एक्विजेशन सम्झौता समेत पछाडि सरेको छ । अदालतमा मुद्दा नपरेको भए पुस मसान्तभित्रमा सम्झौता गर्ने तयारी दुई बैंकको थियो ।

अदालतमा मुद्दा परेको हुँदा अब एक्विजेशन प्रक्रियामा ढिलाइ भएको एनबी बैंक स्रोतले जानकारी दियो । अदालतमा परेको मुद्दा र सेयर किनबेचको विषयमा एमभी दुगड ग्रुपका अध्यक्ष मोती दुगडसँग प्रतिक्रिया लिन खोज्दा उनले अदालतमा मुद्दा परेको विषयमा बोल्न नमिल्ने बताए ।


क्लिकमान्डु