वित्तीय क्षेत्रमा आक्रामक बन्दै शंकर ग्रुपः बीमामा ठूलो लगानी, वाणिज्य बैंक किन्ने



काठमाडौं । देशका केही ठूला व्यापारिक घरानामध्येको एक शंकर ग्रुप वित्तीय क्षेत्रमा आक्रमकरुपमा प्रस्तुत भएको छ । युनियन लाइफ इन्स्योरेन्सबाट देखिने गरी वित्तीय क्षेत्रमा हात हालेको शंकर ग्रुप हिमालयन रि-इन्स्योरेन्स कम्पनीको पनि सबैभन्दा ठूलो सेयरधनी हो ।

बीमा क्षेत्रको लगानीपछि यो ग्रुपले बैंकिङ क्षेत्रमा पनि हात हाल्ने भएको छ ।

‘हामी बैंकिङ क्षेत्रमा लगानी गर्न खोजिरहेका छौं,’ शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले क्लिकमाण्डूसँग भने, ‘केही वाणिज्य बैंकसँग कुराकानी भइरहेको छ । डिल मिल्यो भने चाँडै नै खुसीको खबर सुनाउँछौं ।’

कुन बैंकसँग कुरा भइरहेको भन्ने बारे अग्रवालले खुलाउन चाहेनन् ।

‘प्रारम्भिक कुराकानी भएकाले कुन बैंक भनेर नाम उल्लेख गर्न चाहन्न,’ उनले भने ।

तर, विश्वस्त स्रोतका अनुसार यो समूहले सिभिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकसँग डिल गरिरहेको छ ।

‘मूल्य मिल्यो यी दुईमध्ये एक बैंकमा शंकर ग्रुप ठूलो सेयरधनीको रुपमा प्रवेश गर्छ वा दुवै बैंकमा प्रवेश गरेर आपसमा मर्ज गराई ठूलो बैंक बनाउनेसम्मको तयारी छ,’ स्रोतले भन्यो ।

विभिन्न उद्योग तथा व्यापार गर्दै आएको शंकर ग्रुप पछिल्लो सयम आक्रमकरुपमा लगानी विस्तार गरिरहेको छ । यो ग्रुपले गत वर्ष १ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो ।

पछिल्ला वर्षहरुमा यो ग्रुपले उल्लेख्य सफलता हासिल गरेको छ । यो ग्रुपले ठूला र पूराना कतिपय व्यावसायिक घरानालाई निकै पछि पारिसकेको छ ।

सिभिल र एनबी बैंकमा आँखा

सिभिल बैंकमा इच्छाराज तामाङ, उनको परिवार र समूहको १५ देखि २० प्रतिशत सेयर स्वामित्व छ । पछिल्लो समय सहकारी र घरजग्गाका कारण तामाङ फाइनान्सियल क्राइसिसमा छन् । उपयुक्त मूल्य पाए बैंकको सेयर बेचेर बाहिरिने तामाङको तयारी छ ।

‘उचित मूल्य पाए उहाँ आफ्नो सेयर बिक्री गरेर व्यवहार मिलाउन चाहनुहुन्छ,’ तामाङ निकट स्रोतले भन्यो, ‘शंकर ग्रुपसँग उहाँको केही डिल भइरहेको छ । तर, मूल्यमा कुरा मिलिरहेको छैन जस्तो लाग्छ ।’

गत असार २९ गते नेपाल बंगलादेश बैंकले संस्थापक सेयरधनीलाई आइएफआइसीको नाममा रहेको ६८ लाख २७ हजार ४२६ कित्ता सेयर खरिदका लागि ३५ दिने सुचना निकालेको थियो ।

उक्त सेयर खरिदका लागि संस्थापक तफका व्यक्ति तथा समुहबाट हालसम्म ७ वटा आवेदन परेका छ । जसमा एनबी ग्रुपबाट लक्ष्मीबहादुर श्रेष्ठ, बिनु श्रेष्ठ, एल्सन श्रेष्ठ, बिन्सन श्रेष्ठको नाममा आवेदन परेको छ । साथै, बैंककै पुर्वसीइओ नरेन्द्र भट्टराईले समेत सेयर खरिदका लागि आवेदन दिएका छन् ।

एनबी समुहकै मनाङ्ग इन्भेष्टमेन्ट, र हिमालयन क्यापिटलले पनि आइएफआइसीको नाममा रहेको संस्थापक सेयर खरिदका लागि आवेदन बुझाएका छन् ।

उक्त सेयर किन्न ६ अर्ब रुपैयाँ चाहिन्छ । संस्थापक समूहका इच्छुक लगानीकर्ताहरुलाई यति मोटो रकम जुटाउन निकै कठिन छ । एनबी बैंकको उक्त संस्थापक सेयर किन्न नेपालकै ठूलो व्यापारिक घराना चौधरी ग्रुप पनि तयार छ ।

त्यसबाहेक संस्थापक समूहले किन्न नसकेको अवस्थामा अर्को ठूलो व्यापारिक घराना शंकर ग्रुप पनि एनबी बैंकको सेयर किन्न तयार छ । चौधरी र शंकर ग्रुप दुबै नगद प्रवाहमा अब्बल व्यापारिक समूह हुन् ।

‘यी दुई बैंकमा डिल मिलेन भने बल्कमा अन्य बैंकको सेयर उठाउने शंकर ग्रुपको योजना छ,’ स्रोतले भने, ‘वित्तीय क्षेत्रमा आक्रमकरुपमा प्रस्तुत हुनुपर्छ भन्ने शंकर ग्रुपको तयारी हो ।’

यदि पूराना बैंक किन्न नपाएको अवस्थामा अब लाइसेन्स खुल्दा यो ग्रुपले ठूलो लगानीमा बैंक स्थापनाका लागि आवेदन दिने र लाइसन्स पाउने ठूलो संभावना छ ।

यस्तो छ शंकर ग्रुपको व्यावसायिक यात्रा

शंकर ग्रुपको व्यवसायिक यात्राको शुरुवात म्यानमारबाट भएको हो । रावतमाल गोल्यानले सन् १९६० को दशकमा बटम उद्योग लगाएका थिए । म्यानमारबाट नेपाल आएर उद्योग लगाए पनि रावतमान गोल्यान भने सफल हुन सकेनन् । त्यसपछि गोल्यानले ट्रेडिङमा हात हाले ।

रावतमाल गोल्यानका छोरा शंकरलाल अग्रवालले बाबुको व्यवसायिक यात्रालाई अगाडि बढाउन सन् १९८० को दशकमा शंकर ग्रुपको स्थापना गरे ।

शंकरलालले शुरुको व्यवसायिक यात्रा भने ट्रेडिङबाट गरेका थिए । अहिले शंकर ग्रुप अन्तर्गत ४० वटाभन्दा बढी कम्पनी छन् । शंकर ग्रुपको लगानी नभएको कुनै क्षेत्र छैन भन्दा पनि फरक पर्दैन ।

शंकरलाल अग्रवालका बुबाले उद्योगमा सफलता हासिल नगरे पनि शंकरलालले भने ट्रेडिङमा पाएको सफलतालाई विस्तारै उद्योगतर्फ केन्द्रित गराए ।

नेपालको सबैभन्दा ठूलो स्टिल उद्योगको स्वामित्व शंकर ग्रुप अन्तर्गत छ । सन् १९९४ मा शंकरलाल अग्रवालले जगदम्बा स्टिल उद्योग खोलेका थिए । सन् २००१ मा जगदम्बा सिमेन्ट खोलिएको थियो । यस्तै धागो उद्योग जगदम्बा यार्न शंकर ग्रुप अन्तर्गतको अर्को सफल कम्पनी हो ।

सिमेन्ट र डण्डी उद्योगमा शंकर ग्रुप नेपालको पायोनियर मानिन्छ । शंकर ग्रुपले कम्पनीहरुमा सौरभ ग्रुप तथा अम्बे ग्रुपसँग साझेदारी लगानीमा व्यवसायिक यात्रा अगाडि बढाएको छ ।

ट्रेडिङबाट पाएको सफलताले शंकरलालले उद्योगमा सफलता पाए । उनका छोराहरु साहिल अग्रवाल र सुलभ अग्रवालले व्यवसाय अगाडि आउँदा ग्रुप फेरि ट्रेडिङमा ट्रेडिङमा केन्द्रित भयो । छोराहरुको सक्रियता र आक्रमक सोचले यो समूहको ग्रोथको पारो उकालो मात्रै छ ।

शंकर ग्रुप टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता बनेपछि नेपाली बजारमा टिभिएसले बलियो उपस्थिती जनायो ।

अहिले टिभिएस मोटरसाइकल र स्कुटरको एसेम्बल नेपालमै हुन्छ । केही समयअघि यो समूहले मलेसियाको प्रोटोन गाडीलाई भित्र्याएको थियो । प्रोटोन गाडीको नेपालमा आधिकारिक बिक्रेता शंकर ग्रुपको कम्पनी जगदम्बा अटोमोबाइल्स हो ।

यसबाहेक सिमेन्ट उद्योगमा पछिल्लो समय ग्रुपले हेटौंडामा रिद्धिसिद्धी तथा उदयपुरमा सौर्य सिमेन्ट ल्याएको छ । नक्सालमा ५ तारे होटल हिल्टन बनाइरहेको छ । यसबाहेक ग्रुपले जलविद्युत् आयोजनामासमेत लगानी गरेको छ ।

यो ग्रुप हालैमात्र नेपालका लागि रियलमी मोबाइलको आधिकारिक बिक्रेतामा समेत नियुक्त भएको छ ।

शंकरका छोराहरु व्यवसायीको छाता संगठनमा सक्रियरुपमा आवद्ध छन् । साहिल नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा छन् भने सुलभ नेपाल उद्योग परिसंघको कार्यसमितिमा छन् ।


क्लिकमान्डु