नेपाल बंगलादेश बैंकको सेयर किन्न एनबी समूह अयोग्य, चौधरी ग्रुपको चासो



काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको सेयर किन्नका लागि संस्थापक रहेको व्यवसायिक ग्रुप एनबी समूह अयोग्य भएको छ ।

एनबी बैंकमा रहेको ४० प्रतिशत सेयर बिक्री गरेर बंगलादेशको आइएफआईसी बैंक बाहिरिन लागेको छ ।

एनबी बैंकले असार २९ गते बैंकको प्रमुख सेयरधनी आइएफआईसी बैंकले सेयर बिक्री गरेर बाहिर लागेको र सेयर किन्न चाहेको संस्थापक सेयरधनीलाई बैंकका आवेदन दिन भनेको थियो ।

एनबी बैंकमा रहेको बंगलादेशी लगानीकर्ताको सेयर किन्नका लागि बैंकको प्रवद्र्धक समेत रहेको संस्थापक ग्रुप एनबी ग्रुपले आवेदन दिएको थियो ।

एनबी ग्रुपले दिएको आवेदन अस्वीकृत भएको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार एनबी ग्रुप एनबी बैंकको सेयर किन्नका लागि ‘फिट एण्ड प्रोपर टेस्ट’मा अयोग्य देखिएको हो ।

एनबी ग्रुपले व्यक्तिगत कम्पनीमार्फत् ८ वटा आवेदन दिएको हो । एनबी ग्रुपको नाममा रहेको सेयर किनेर नै बंगलादेशको आइएफआईसी बैंक सबैभन्दा ठूलो सेयरधनी भएको थियो ।

‘एनबी ग्रुपले सेयर किन्नका लागि नभएर अदालतमा मुद्दा हाल्ने नियतले आवेदन दिएको हो,जसले गर्दा बंगलादेशी समूहको सेयर कसैले किन्न सक्ने अवस्था नहोस्,’ एनबी बैंकका एक सञ्चालकले भने ।

एनबी बैंकका सेयरधनीमध्ये तोकिएको समयमा एनबी ग्रुपले मात्र आवेदन दिएको र एनबी ग्रुप नै सेयर किन्न अयोग्य भएपनि आइएफआईसी बैंकले अरु सेयरधनीलाई सिधै डिल गरेर सेयर बेच्न सक्छ ।

तर, यसका लागि सेयर किन्न चाहेको व्यक्ति तथा समूह ‘फिट एण्ड प्रोपर टेस्ट’ पास हुन जरुरी हुन्छ ।

‘अहिलेसम्मको तयारी हेर्दा एनबी बैंकमा रहेको ४० प्रतिशत हिस्सा चौधरी समूहले किन्ने बढी सम्भावना छ,’ एनबी बैंकका एक सञ्चालकले भने ।

चौधरी समूहको प्रमुख लगानी रहेको नबिल बैंकले कुनैपनि बैंक तथा वित्तीय संस्थालाई एक्विजेशन गर्न खोजेको छ । नबिल बैंक र एनबी बैंकबीच धेरै चरणमा कुराकानी समेत भएको थियो ।

एनबी बैंकको प्रमुख सेयरधनीले चौधरी समूहलाई सेयर बेचेर बाहिरिएमा एनबी बैंक नबिल बैंकमा गाभिने छ । यद्यपि सेयर खरिदमा चौधरी समूह बाहेक, शंकर ग्रुप, दुगड ग्रुप तथा एनआरएन रहेका कतिपय व्यवसायीको चासो छ ।

एनबी बैंकमा बंगलादेशको आइएफआइएसी बैंकको बैंकले आफ्नो स्वामित्वमा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर स्वामित्व रहेको छ । एनबी बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर दिएको हुँदा आइएफआईसी बैंकको सेयर कित्ता बढ्ने छ ।


क्लिकमान्डु