कान्छा सीइओ रोशनको चमत्कारः यी १० सूचकमा ‘नम्बर वान’ बन्यो एनआईसी एशिया बैंक



काठमाडौं । अहिले २७ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंक कसरी ‘नम्बर वान’ बन्न पुग्यो ? नम्बर वान बन्नुका पछाडि के कस्ता रहस्य छन् ? भन्ने विषयमा आम चासो छ । एनआईसी एशियाका निकटतम प्रतिष्पर्धी बैंकहरुले पनि बैंकले उत्कृष्ट बन्नका लागि गरेका प्रयत्नको लेखाजोखा गर्न थालेका छन् । अन्य बैंकहरुले समेत यसको सिको गर्न थालेका छन् ।

आक्रामक व्यवसाय बिस्तारमा लागेको बेला एनआईसी एशियाबारे नकारात्मक प्रचार गर्नेहरु नै अहिले यसको सबल पक्ष केलाउन थालेका छन् ।

रसुवाको सामान्य परिवारमा जन्मिएका रोशन न्यौपाने ३८ वर्षमै एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने । त्यसबेला एलिट बैंकरनै भन्थे- ‘रोशन अन म्याच्योर छन्, बैंक चलाउन सक्दैनन् । कहाँ लगेर डुबाउँछन् अनि समग्र प्रणालीले नै त्यसको असर भोग्नुपर्छ ।’

तर, परिस्थिति उल्टो भइदियो । कसैले नपत्याएका रोशनको नेतृत्वमा छोटो समयमै धेरैवटा सूचकमा एनआइसी एशिया नम्बर वान बन्न सफल भएको छ ।

किनभने, रोशनले एलिट बैंकरको जस्तो परम्परागत शैलीमा काम गरेनन् । प्रष्ट रणनीति बनाएर त्यसलाई ‘बिहान सबेरैदेखि राति अबेरसम्म कार्यान्वयनमा तल्लिन रहे । धेरैले एनआइसी एशियालाई आक्रामकमात्रै भयो भनिरहे । तर, यो बैंक आक्रामकमात्रै भएन । अरु वाणिज्य बैंकहरु ठूला र कर्पोरेटमा लुछाचँडी गरिरहँदा यो बैंकले भने साना तथा मझौला उद्यमी कर्जा (एसएमई)मा जोड दियो । फलस्वरुप अहिले यो बैंक साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकभन्दा अग्रस्थानमा छ ।

कर्मचारीको सामूहिक प्रयासले एनआइसी एशिया उत्कृष्ट हुन पुगेको हो । खासगरी बैंकको नेतृत्वमा रोशन कुमार न्यौपाने इन्ट्री भएपछि कम्पनीले व्यवसायिकरुपमा राम्रो फड्को मार्न पुगेको हो । चार्टर्ड अकाउन्टेन्टसमेत रहेका न्यौपाने देशका वाणिज्य बैंकहरुका सीइओमध्ये उमेर र नियुक्तिको समयका हिसाबले समेत सबैभन्दा कान्छा हुन् ।

यो बैंकको कुल कर्जामा ५ करोड रुपैयाँभन्दा कम सीमा भएका कर्जाहरूको अंश सबैभन्दा बढी छ । यस्तो कर्जाले कर्जा जोखिम कम गर्छ र निष्कृय कर्जा कम बनाउँछ । एनआईसी एशिया बैंकले निष्कृय कर्जालाई चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राखेको छ । ठूला ऋणीहरु ठूलै मान्छे हुन्छन् । उनीहरुको पहुँच पनि ठूलैसँग हुन्छ । शक्तिको आडमा ठूला ऋणीले वर्षौंसम्म बैंकलाई झुलाएर अन्तिममा नेगोसिएसन गर्न खोज्छन् । जसले बैंकको असूलीलाई प्रभावित बनाउँछ ।

उदाहरणका रुपमा राष्ट्रिय वाणिज्य बैंकले कालोसूचीमा राखेका व्यवसायी चण्डीराज ढकाललाई लिन सकिन्छ । ढकालले १७ वर्षअघि लिएको ३२ करोड रुपैयाँको सावाँब्याज नतिरेको १० वर्ष बित्दा पनि बैंकले उक्त ऋण असूल गर्न सकेको छैन ।

तर, साना ऋणीहरुबाट असूली धेरै सजिलो हुन्छ । साना ऋणीहरु आफ्नो इज्जत बचाउनकै लागि भएपनि बैंकको कालोसूचीमा पर्न चाहँदैनन् । कुनैपनि बैंकले कति कर्जा प्रवाह गर्यो भन्नुभन्दा पनि कस्ता व्यक्तिलाई कर्जा दियो ? र, असूलीको अवस्था कस्तो छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ ।

बैंकले कर्जा लगानीमात्र होइन, निक्षेपतर्फ पनि स-साना एवं व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अबलम्बन गरेको छ । बैंकले अबलम्बन गरेको यही नीतिलाई अन्य बैंकले पनि पछ्याउन थालेका छन् ।

त्यसैगरी, यो बैंक शाखा सञ्जालमा पनि सबैभन्दा ठूलो बैंक हो । देशभर यस बैंकका ३५८ शाखा पुगेका छन् । गाउँ-गाँउमा वित्तीय पहुँच पुर्याउन महत्वपूर्ण भूमिका मात्रै खेलेको छैन, सिरानीमुनीको रकमसमेत बैंकिङ्ग प्रणालीमा ल्याउने काम गरेको छ । बैंकको यही सबल पक्षलाई अन्य बैंकले पनि पछ्याइरहेका छन् ।

एउटै व्यक्ति वा संस्थालाई ठूलो रकमको ऋण प्रवाह गर्दा त्यस्तो रकम असुली हुन सकेन भने खराब कर्जा बढ्ने र त्यसले नाफामा समेत प्रभावित पार्ने हुँदा बैंक त्यसतर्फ सचेत भएको देखिन्छ । अन्य बैंकले एउटै व्यक्ति वा संस्थालाई ठूलो रकमको ऋण दिँदा खराब कर्जा बढ्न पुगेको देखिन्छ । एनआइसी एशिया बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा बिस्तार गरेको छ । साना तथा मझौला र कृषि कर्जा लगानीमा देशमा अन्य वाणिज्य बैंकभन्दा यो बैंक अग्रस्थानमा छ ।

त्यसैगरी, एनआईसी एशिया बैंकले उच्च क्षमताको जनशक्ति तयार गर्दै आगाडि बढेका कारण बैंक नम्बर वान बन्न पुगेको शुत्र अन्य बैंकलाई पनि थाहा भइसकेको छ ।

एनआईसी एशिया बैंक प्रमुख कार्यकारी अधिकृतदेखि धेरैजसो कर्मचारी चार्टर्ड अकाउन्टेन्ट ब्यागग्राउन्डबाट आएका छन् । चार्टर्ड अकाउन्टेन्ट ज्यादै मिहेनती र नयाँ रणनीति लिएर काम गर्न सक्ने हुन्छन् । त्यो कुराको महशुस नबिल बैंकले पनि गर्न थालेको छ ।

नबिल बैंकले चार्टर्ड अकाउन्टेन्टसमेत रहेका मनोज ज्ञवालीलाई लगेर छोटो समयमै प्रमोशन गरेको कुराले पनि पुष्टि गर्छ । नबिलले मात्रै होइन्, एकताका निकै अब्बल दर्जामा उभिएको एभरेष्ट बैंकमा पनि चार्टर्ड अकाउन्टेन्ट समेत रहेका सुदेश खालिङ्गलाई सीइओ बनाएको छ ।

२४ वर्षदेखिको अनवरत यात्राको फलस्वरुप आज एनआईसी एशिया बैंक देशकै सबैभन्दा ठूलो एवम् सबैभन्दा सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको एनआईसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे बताउँछन् ।

‘अधिकांश प्रमुख वित्तीय एवं गैरवित्तीय परिसूचकमा देशकै सर्वोत्कृष्ट बैंक बन्न हामी सफल भएका छौं,’ पाण्डेले भने, ‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय स्वभाविकरुपमा ग्राहकवर्ग, नियमनकारी निकाय, सेयरधनी र कर्मचारीलाई नै जान्छ ।’

साथै, भविष्यमा अझ उन्नतस्तरको बैंक, सबैले गर्व गर्नसक्ने बैंक र सबैको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ काम गरिरहेको जानकारी पनि उनले दिए ।


प्रमुख १० सूचकमा ‘नम्बर वान’ बैंक
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय रिपोर्टका आधारमा विभिन्न वित्तीय एवं गैरवित्तीय प्रमुख १० सूचकमा एनआइसी एशिया बैंक ‘नम्बर वान’ बैंक बन्न सफल भएको छ । वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन नाफा, खुद नाफा, स्वपुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, एटीएम र ग्राहक संख्यामा यो बैंक अन्यभन्दा अग्रणी देखिएको छ ।

१. वासलातको आकार
यो बैंकको वासलातको आकार ३ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । जुन अन्य बैंकहरुको तुलनामा बढी हाे ।

२. निक्षेप
निक्षेप संकलनका हिसाबले यो बैंक अन्य वाणिज्य बैंकहरु भन्दा अगाडि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कुल निक्षेप ३ खर्ब ११ अर्ब संकलन गर्न बैंक सफल भएको छ । कतिपय बैंकले स्थापनाकालदेखि अहिलेसम्म गर्न नसकेको बिजनेस यसले कोभिड १९ र तरलताको अभावकाबीच समेत बढाउन सफल भएको छ ।

३. कर्जा बिस्तार
कर्जा बिस्तारको अवस्था हेर्दा पनि एनआईसी एशिया बैंक अन्य बैंकभन्दा अगाडि देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कुल कर्जा २ खर्ब ७७ अर्ब लगानी सफल भएको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा एनआइसी एशियाले नबिल बैंकलाई पनि उछिनेको छ । नबिल बैंकले चालु आर्थिक वर्षको त्रैमाससम्ममा २ खर्ब २५ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७ अर्ब कर्जा प्रवाह गरेको छ ।

यसैगरी, केही वर्षअघि जनता बैंक लिमिटेडलाई गाभेको ग्लोबल आइएमई बैंकभन्दा एनआईसी एशिया बैंकको निक्षेप र कर्जा प्रवाह बढी देखिएको छ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ खर्ब ६४ अर्ब निक्षेप संकलन तथा कर्जा प्रवाह २ खर्ब ५१ अर्ब गरेको छ ।

४. सञ्चालन नाफा
बैंक आफ्नो सञ्चालन नाफामा पहिलो नम्बरमा पुगेको छ । यो बैंकको सञ्चालन नाफा (कर्जा नोक्सानी व्यवस्थापछिको) १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ, जुन अन्य बैंकको तुलनामा बढी हो ।

५. खुद नाफा
लामो समयदेखि नम्बर वान बैंकका रुपमा परिचित एनआईसी एशिया बैंकले चालु आवको पहिलो त्रैमासमा खुद नाफा कमाउने वाणिज्य बैंकहरुको तुलनामा सबैभन्दा अगाडि देखिएको छ । बैंकको वित्तीय विवरणअनुसार बैंकले चालु आवको पहिलो त्रैमासमा मात्रै खुद नाफा १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी हो ।

पहिलो त्रैमाससम्ममा नबिल बैंकले १ अर्ब ११ करोड रुपैयाँ, ग्लोवल आइएमई बैंकले पनि १ अर्ब ११ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ५ करोड रुपैयाँ तथा एनएमबी बैंकले १ अर्ब ४ करोड रुपैयाँ खूद नाफा आर्जन गरेका थिए । यी सबैलाई उछिन्दै एनआईसी एशियाले सर्वाधिक खूद नाफा कमाएको हो ।

६. प्रतिसेयर आम्दानी
इपीएस अर्थात् अर्निङ पर सेयरमा पनि एनआइसी एशिया बैंक शीर्ष स्थानमा देखिएको छ । अन्य वाणिज्य बैंकको तुलनामा इपीएसमा पनि यो बैंक शीर्षस्थानमा छ । वित्तीय विवरणअनुसार बैंकको इपीएस ३९.६५ रुपैयाँ छ । जुन, निजी क्षेत्रका बैंकहरुको तुलनामा सबैभन्दा उच्च हो ।

निजी क्षेत्रका बैंकमध्ये सबैभन्दा प्रतिसेयर आम्दानी एनआइसी एशियाको छ । राष्ट्रिय वाणिज्य बैंक पूर्णस्वामित्वको बैंक भएको हुनाले प्रतिसेयर आम्दानी ४५.७५ भएपनि सर्वसाधारण लगानीकर्तालाई यसको प्रतिसेयर आम्दानीसँग प्रत्यक्ष सम्बन्ध हुँदैन ।

नबिल बैंकको प्रतिसेयर आम्दानी ३२.१२ रुपैयाँ र सिद्धार्थ बैंकको ३४.६० रुपैयाँ छ । अन्य बैंकको ३० रुपैयाँभन्दा कम प्रतिसेयर आम्दानी छ ।

कुनै पनि कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी प्राप्त हुन्छ । यो सेयर मूल्य मापन गर्ने एक महत्वपूर्ण आधार हो । प्रतिसेयर आम्दानी बढी भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ । सामान्यतयाः इपीएस २० रुपैयाँभन्दा माथि भएका कम्पनीको सेयरलाई जोखिममुक्त मानिन्छ ।

७. स्वपुँजीमा प्रतिफल
स्व-पुँजीमा प्रतिफल (आरओई) का हिसाबले पनि एनआइसी एशिया बैंक अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा अगाडि छ । यो बैंकको बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) २१.३९ प्रतिशत छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।

८. शाखा सञ्जाल
एनआइसी एशिया बैंक शाखा सञ्जालमा सबैभन्दा अगाडि देखिएको छ । एनआईसी एशियाको शाखा संख्या ३५८ पुगेका छन् । केही वर्षअघि जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकका शाखा पनि एनआइसी एशिया बैंकका जति पुगेका छैनन् । ग्लोबल आइएमई बैंकको शाखा अहिले २८७ छन् ।

९. एटीएम
एटीएम सबैभन्दा बढी भएको बैंक पनि एनआइसी एशिया बैंकनै भएको छ । एनआइसी एशिया बैंकका एटीएमकाे संख्या ४७३ पुगेकाे छ । जुन शाखाबाट ग्राहकले सुविधा लिइरहेका छन् ।

१०. ग्राहक संख्या
निजी क्षेत्रका बैंकमध्ये एनआइसी एशिया बैंकका सबैभन्दा धेरै ग्राहक संख्या देखिएका छन् । यस बैंकका ग्राहक २८ लाख २७ हजार पुगेका छन् ।

कोरोना महामारीमा पनि चमत्कार
एनआईसी एशिया बैंक गत आर्थिक वर्ष २०७७/७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि तथा अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको थियो । कोभिड-१९ को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा ऋण कमीजस्ता विषम परिस्थितिका बाबजुद पनि एनआईसी एशियाका सबै सूचकहरु सकारात्मक थिए । गत आर्थिक वर्षमा बैंकले करिब ९१ अर्ब रुपैयाँ कर्जा बिस्तार गरेको थियो । जुन २७ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो ।

यसैगरी, बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब ९० अर्बले वृद्धि गरेको थियो । साथै वार्षिक प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल (आरओई)मा पनि अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी थियो ।

साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी बिस्तार गर्ने नीति अंगिकार गरेको फलस्वरुप कोभिड-१९ को विषम परिस्थिति तथा चुनौतीका बावजुद कर्जा असूलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भएको थियो ।

खराब कर्जा न्यून
एनआईसी एशिया बैंकको खराब कर्जा न्यून छ । कोभिड–१९ को विषम परिस्थितिमासमेत यस बैंकले कर्जा असूलीमा निकै उत्साहजनक नतिजा हासिल गरेको छ । निष्कृय कर्जालाई चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न एनआइसी एशिया बैंक सफल भएको छ । एनआइसी एशिया बैंकले साना तथा मझौला उद्यमी कर्जा (एसएमई)मा बढी जोड दिएका कारण निष्कृय कर्जा कम हुन पुगेको हो ।

एउटै व्यक्ति वा संस्थालाई ठूलो रकमको ऋण प्रवाह गर्दा त्यस्तो रकम असुली हुन सकेन भने खराब कर्जा बढ्ने र त्यसले नाफामा समेत प्रभावित पार्ने हुँदा बैंक त्यसतर्फ सचेत भएको देखिन्छ । अन्य बैंकले एउटै व्यक्ति वा संस्थालाई ठूलो रकमको ऋण दिँदा खराब कर्जा बढ्न पुगेको देखिन्छ ।

एनआइसी एशिया बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा बिस्तार गरेको छ । साना तथा मझौला र कृषि कर्जा लगानीमा देशमा अन्य वाणिज्य बैंकभन्दा यो बैंक अग्रस्थानमा छ ।

साथै, एनआईसी एशिया बैंकको कर्जा जोखिम अत्यन्त न्यून छ । बैंकले निक्षेपतर्फ पनि स-साना निक्षेप एवं व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ ।

डिजिटल फष्टमा फोकस
हाल डिजिटल फष्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप बिस्तारित बनाउँदै यस बैंकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङ्गको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेका छ ।

बैंकले डिजिटल पूर्वाधारमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकोले आर्थिक वर्ष २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई अगाडि बढिरहेको छ । यस बैंकको डिजिटल कारोबार र भौतिक कारोबारको मिश्रण नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक उच्च रहेको बैंकको दाबी छ ।

सामूहिक प्रयासले बन्यो अब्बल बैंक

बैंक सञ्चालक र बैंकका कर्मचारीको सामूहिक प्रयासले बैंक एक नम्बरमा पुग्यो । किनभने, यो बैंकको सञ्चालक समितिमा व्यवसायमा जमेका व्यक्तिहरु आवद्ध छन् ।

देशकै ठूलामध्येको विशाल ग्रुपका व्यवसायी तुलसीराम अग्रवाल अध्यक्ष छन् । सञ्चालक समिति र व्यवस्थापनबीच सुमधुर सम्बन्ध छ । कर्मचारीको सामूहिक प्रयासले एनआइसी एशिया उत्कृष्ट हुन पुगेको हो । खासगरी बैंकको नेतृत्वमा रोशन कुमार न्यौपाने इन्ट्री भएपछि कम्पनीले व्यवसायिकरुपमा राम्रो फड्को मार्न पुगेको हो । उनी एनआइसी एशियाको सीइओका रुपमा भित्रिएपछि बैंकले थप नयाँ उचाइ चुम्न पुगेको हो ।

३८ वर्षमै सीइओ बनेका न्यौपानेले एनआइसी एशिया बैंकलाई सर्वोत्कृष्ट बनाउने प्रण गर्दै बैंकको नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा बैंकले विभिन्न वित्तीय परिसूचकमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटीएम सञ्जाललगायतका १० परिसूचकमा नेपालकै सबैभन्दा ठूलाे बैंकको पहिचान बनाइसकेको छ ।

चार्टर्ड अकाउन्टेन्टसमेत रहेका न्यौपाने देशका वाणिज्य बैंकहरुका सीइओमध्ये उमेर र नियुक्तिकाे समयका हिसाबले समेत सबैभन्दा कान्छा हुन् । बैंकलाई थप उचाइमा पुर्याउने न्यौपाने बताउँछन् ।

गत आर्थिक वर्षको नाफाबाट बोनस लाभांश वितरण गरेपछि बैंकको चुक्ता पुँजी अझै बढ्नेछ । चुक्ता पुँजीको आकार ठूलो हुँदै जाँदा व्यवसाय बढाउनु पर्ने चुनौती बैंकलाई देखिएको छ ।

तर, पहिलो नम्बरको बिरासत जोगाउन भने कुनै समस्या नहुने बैंक व्यवस्थापनको विश्लेषण छ ।


पुष्प दुलाल