पहिलो पटक नेपाली सीइओको ‘इन्ट्री’सँगै पुरानो बिरासत फर्काउला त एभरेष्ट बैंकले ? यस्तो छ रणनीति




काठमाडौं । एकताका समय यस्तो थियो बैंकहरुको नाम लिँदा एभरेष्ट अघिल्ला दुई/तीन वटामा आउँथ्यो । बाहिर चर्चामात्रै होइन, उसका सूचकांकहरु पनि अरुका भन्दा राम्रा थिए ।

जस्तो कि १० वर्षअघि ४१ अर्ब निक्षेप र ३२ अर्ब कर्जा परिचालन गरी ९३ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यसबेला बैंकले लगानीमाथिको प्रतिफल (रिटर्न अन इक्वीटी) ३५.३८ प्रतिशत थियो ।

सन् १९९४ सालमा स्थापना भएको यो बैंक सन् २००६ मा बैंक अफ दि इयरबाट सम्मानित पनि भएको थियो ।

व्यापार/व्यवसाय, नाफा, लगानीकर्तालाई प्रतिफल र रेप्युटेसनमा पनि अब्बल थियो ।

समय बित्दै गयो । बजारमा खासगरी पुस्ताका बैंकहरु आक्रामकरुपमा प्रस्तुत भए । बैंकहरुबीच उच्च प्रतिस्पर्धा भयो । कतिपय बैंकहरुले रातारात गुणात्मकरुपमा व्यापार बिस्तार गरे । तर, एभरेष्ट बैंक भने बजारको नभइ आफ्नै रफ्तारमा अघि बढिरह्यो ।

यसले बैंकहरुको रोलक्रम पनि परिवर्तन गरिदियो । आजसम्म आइपुग्दा एभरेष्ट बैंकको पूरानो बिरासत मात्रै खोसिएको छैन, लगानीमाथि दिने प्रतिफल पनि एकल अंकमा झरिसकेको छ । जसकारण सेयर बजारमा एभरेष्ट बैंकप्रतिको लगानीकर्ताको आकर्षण लगातार घटिरहेको छ ।

यसैबीच, ८ महिनाअघि बैंकले पहिलो पटक नेपाली प्रमुख कार्यकारी अधिकृत (सीइओ)का रुपमा सुदेश खालिङलाई नियुक्ति गर्यो ।

सिटिजन्स बैंकको प्रोफेशनल डाइरेक्टरबाट राजीनामा दिएको दुई साताभित्रै खालिङलाई एभरेष्टको सीइओमा नियुक्ति गरेकाले राष्ट्र बैंकको ६ महिना कुलिङ पिरियड बस्नुपर्ने नियमका कारण दुई महिनाअघि अर्थात् भदौ अन्तिम सातामात्रै उनले कार्यभार सम्हाले ।

सिटिजन्स बैंकको सञ्चालक हुनुअघि उनी लक्ष्मी बैंकका सीइओ थिए ।

भारतको पञ्जाव लेशनल बैंक (पीएनबी)को संयुक्त लगानीमा सञ्चालन भएको एभरेष्ट बैंकको व्यवस्थापकीय नेतृत्व यसअघि पीएनबीले भारतीयलाई पठाउँदै आएको थियो । एभरेष्टमा पीएनबीकाे २० प्रतिशत र नेपाली लगानीकर्ताकाे ८० प्रतिशत सेयर स्वामित्व छ । पीएनबीले पठाएका भारतीय मुलका गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएर खालिङलाई सीइओ बनाइएको हो ।

२७ वर्षे इतिहासमा पहिलोपटक नेपाली मुलको सीइओ नियुक्ति गर्नुलाई बजारले एभरेष्ट बैंकको पूरानो बिरासत फर्काउने रणनीतिका रुपमा पनि बुझेका छन् ।

खालिङ एभरेष्टको सीइओ नियुक्त हुँदै गर्दा बैंकको ‘प्रफर्मेन्स’ त्यत्ति राम्रो छैन । हुन त बैंकले आफ्नोस्तरमा प्रगति गरिरहेको छ । तर, अरुसँगको तुलनामा उसका सूचकांकहरु पछि पर्दै गएका छन् । जसकारण विगतमा उसले ग्रहण गरेको स्थान खोसिएको छ ।

यसै सन्दर्भमा सीइओ खालिङलाई हामीले प्रश्न गर्यौं, ‘एभरेष्ट बैंकको पुरानो बिरासत फर्काउन कस्तो रणनीति लिएर अगाडि बढ्दै हुनुहुन्छ ?’

‘कोरोना संकटका पछिल्ला दुई वर्षलाई नहेर्ने हो भने बैंकको प्रगति राम्रो छ,’ खालिङले हाम्रो प्रश्नको जवाफमा भने, ‘पुरोना पोजिसन कायम नभए पनि बैंकले आफ्नो लयमा गरिरहेको प्रगति सन्तोषजनक नै मान्नुपर्छ ।’

र, अझै पनि एभरेष्ट बैंक बजारको चर्को प्रतिस्पर्धामा उत्रिएर पहिलो वा दोस्रो बन्ने रणनीतिमा छैन । एभरेष्ट बैंकको सबैभन्दा सबल पक्ष खराब कर्जा (एनपीएल) न्यून हो । त्यसलाई यथावत राख्दै व्यवसायलाई विविधिकरण गरेर केही वर्षमा पुरानो विरासत फर्काउन सकिन्छ भन्ने एभरेष्टको विश्वास भएको खालिङ बताउँछन् ।

अन्य बैंकले जस्तो आक्रामक शाखा बिस्तार, ऋण प्रवाह नगरेका कारण यो बैंक आर्थिक वर्ष २०७३/७४ सालयता अधिकांश सूचकांकमा पछि परेको छ ।

१० वर्षअघि आर्थिक वर्ष २०६७/६८ मा बैंकको चुक्ता पुँजी १ अर्ब २८ करोड, रिजर्भ २ अर्ब ४० करोड, निक्षेप ४१ अर्ब १२ करोड र कर्जा ३१ अर्ब ६६ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी १ अर्ब ७९ करोड र ९३ करोड रुपैयाँ र खराब कर्जा ०.३४ प्रतिशतमात्र थियो ।

१० वर्षपछि अर्थात् आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा बैंकले १ खर्ब ६० अर्ब २२ करोड निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १० वर्षको अवधिमा औषतमा बिजनेशको आकार ३० प्रतिशतले बढेको देखिन्छ । १० वर्षअघि र १० वर्षपछिको वर्षलाई तुलना गर्ने हो भने निक्षेप र कर्जाको आकार ४ गुणाले बढेको छ ।

व्यवसायको आकार बढेपनि खुद ब्याज आम्दानी भने घटेर १ अर्ब १४ करोड रुपैयाँमा झरेको छ । त्यसबेला ३५.३८ प्रतिशत रहेको रिर्टन अन इक्विटी अहिले ९.३० प्रतिशतमा झरेको छ । बैंकको खुद नाफा ३ अर्ब २० करोड रुपैयाँ छ ।

लगानीकर्ताका दृष्टिकोणले बैंकको प्रफर्मेनसको मापन गर्ने सबैभन्दा बलियो आधार हो, रिटर्न अन इक्वीटी ।

केही समयअघि क्लिकमाण्डूसँगको अन्तर्वार्तामा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले आफ्नो बैंकको रिटर्न अन इक्वीटी १० प्रतिशतमा झरेको अवस्थामा लगानी झिकेर बैंकिङ क्षेत्रबाटै बाहिरिने घोषणा गरेका थिए । बैंकिङका बादशाह नै मानिने पाँडेको यो भनाइले रिटर्न अन इक्वीटीको महत्व दर्शाउँछ ।

एकताका एभरेष्टको प्रतिकित्ता सेयरमूल्य ४ हजारसम्म पुगेको थियो, जुन अहिले ५/६ सय रुपैयाँमा झरेको छ ।

खासगरी ३ कुराले गर्दा एभरेष्ट बैंक पछि परेको खालिङको तर्क छ ।

पहिलो हो, कर्जा प्रवाहका लागि जसरी शाखा बिस्तार गर्नुपर्थ्यो, त्यो हुन सकेन । यसले गर्दा एभरेष्टले आफ्नो ऋण प्रवाहलाई विविधिकरण गर्न नकेको उनको बुझाइ छ । त्यो बेला एभरेष्ट बैंक रिटेलमा आग्रणी थियो । एभरेष्टले ल्याएका घर कर्जा, गाडी कर्जाका प्रडक्टहरु बजारमा खुबै बिक्थे ।

पछिल्लो ५ वर्षलाई हेरेर विश्लेषण गर्ने हो भने जसले धेरै शाखा बिस्तार गर्यो उसैले धेरै व्यवसाय गरेको देखिन्छ । त्यसको ज्वलन्त उदाहारण हो एनआइसी एशिया बैंक । एनआइसी एशियाले दुई दशकमा गर्न नसकेको बिजनेश २ वर्षमै गरेर देखाइदियो ।

हुन त अहिले मोबाइल बैंकिङ भनेर हातहातमा बैंक भनिएको छ । तर, पनि निक्षेप संकलन गर्न र कर्जा प्रभाव बढाउन शाखा बिस्तार अनिवार्य छ । शाखा बिस्तार नहुँदा पछि परेको अनुभव एभरेष्टसँग छ ।

शाखा बिस्तारमा खासै ध्यान नदिएका कारण एभरेष्टले रिटेल र साना तथा मझौला (एसएमई)मा धेरै ऋण प्रवाह गर्न सकेन । त्यही बेला अन्य बैंकहरु रिटेल र एसएमइमा केन्द्रित हुन थाले । ती बैंकले धेरै शाखा बिस्तार गरे र कर्पोरेट बिजनेसभन्दा रिटेल बढी भयो ।

बैंकहरुबीच व्यापार पनि बाँडियो ।

पछि एभरेष्ट बैंक कर्पोरेटतिर पनि गयो, जहाँ प्रतिस्पर्धा धेरै मात्रै छैन, रिटेलको तुलनामा कमाइ पनि ज्यादै थोरै छ । जसको प्रभाव बैंकको खुद ब्याज आम्दानीमा पर्यो ।

एभरेष्ट बैंकको खुद ब्याज आम्दानी बढ्न नसक्नुको अर्को कारण नियामक निकायको निर्देशन पनि हो ।

‘हाम्रो बैंकको निक्षेप प्रोफाइल हेर्ने हो भने कम लागतको निक्षेप (लो कष्ट डिपोजिट)को उत्साह एकदमै बलियो थियो,’ खालिङले भन्छन्, ‘त्यो समयमा एभरेष्ट बैंकले जुन स्प्रेड दर (निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर) बनाउँथ्यो, त्यो तुलना गर्दा धेरै राम्रो थियो । जसकारण नाफा पनि बढी थियो ।’

एकपछि अर्को गर्दै राष्ट्र बैंकले स्प्रेड दरमा कडाइ गर्दै गयो । राष्ट्र बैंकले आर्थिक वर्ष २०६८/६९ सालमा बैंकहरुको स्प्रेड रेट ५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्यायो । त्यसबेलासम्म ३ वटै सरकारी बैंकका साथै एभरेष्ट, स्ट्याडर्ड चार्टर्ड, हिमालयन, इन्भेष्टमेन्टलगायतका पूराना र बलिया बैंकहरुले ८/९ प्रतिशतसम्म स्प्रेड राखेर काम गर्दै आएका थिए ।

अहिले राष्ट्र बैंकले अधिकतम स्प्रेडदर ४.४ प्रतिशत तोकेको छ । बजारकाे प्रतिष्पर्धाका कारण बैंकहरुले त्यसभन्दा कम स्प्रेडमा काम गरिरहेका छन् । एभरेष्ट बैंकको ३ प्रतिशतभन्दा कम छ । जसकारण बिजनेस बढे पनि ब्याज आम्दानी भने घट्दो क्रममा छ ।

त्यस्तै, राष्ट्र बैंकले बैंकहरुले विभिन्न शीर्षकमा लिने सेवा शुल्क पनि घटाउँदै गयो । यी सबै कारणले धेरै बैंकहरुको नाफामा प्रभाव परेको र त्यसले एभरेष्ट बैंक अलि बढी प्रभावित भएको बताउँछन् खालिङ ।

तेस्रो, बजारको प्रतिस्पर्धाले पनि एभरेष्ट बैंकका सूचकांकमा पछि परेको मान्छन् उनी । जसरी बैंकहरुले शाखा बिस्तार गरेर आक्रामकरुपमा अघिबढेका छन्, यसले बिस्तारै अघिबढेको एभरेष्ट बैंक पछिपरेको जस्तो देखिएको खालिङ बताउँछन् ।

जब पुँजीको अनुपातमा बिजनेश बढाउन सकेन…

आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत् तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालले बैंक तथा वित्त कम्पनीहरुको चुक्ता पुँजी २ वर्षभित्र ४ देखि २५ गुणासम्मले बढाउनुपर्ने व्यवस्था गरे । सानो आकारको पुँजी भएका बैंकले ठूलो जोखिम लिन नसक्ने तर्क अघिसार्दै वित्तीय क्षेत्र ठूलो जोखिम लिन सक्ने नभएसम्म तीव्र गतिमा आर्थिक गतिविधिहरु नहुने र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न कठिन हुने राष्ट्र बैंकको निष्कर्ष थियो ।

राष्ट्र बैंकको पुँजी बढाउने नीति अनुसार २०७४ असार मसान्तसम्ममा ‘क’ वर्गका वाणिज्य बैंकहरुले न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनै पर्ने भयो ।

चुक्ता पुँजी बढाउनका लागि बैंकसँग ३ वटा उपाय थिए । बोनस सेयर, हकप्रद सेयर र मर्जर तथा एक्विजिशन ।

एभरेष्ट बैंकले पुँजी बढाउनका लागि पहिलो बिकल्प रोज्यो । राष्ट्र बैंकले पुँजी बढाउनुपर्ने व्यवस्था गरेकै वर्ष एभरेष्ट बैंकले लगानीकर्तालाई अहिलेसम्मकै सर्वाधिक लाभांश दियो । आर्थिक वर्ष २०७२/७३ मा बैंकले ७० प्रतिशत बोनस सेयर दिएर आफ्नो चुक्ता पुँजी २ अर्ब ७४ करोडबाट एकैपटक ५ अर्ब ७४ करोड रुपैयाँ पुर्यायो । उक्त वर्ष बैंकले रिजर्भबाट समेत बोनस सेयर दिएको दियो । त्यसअधिका वर्ष बैंकले नगद लाभांश बढी दिँदै आएको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकले ३३ प्रतिशत बोनस सेयर दिएर राष्ट्र बैंकले तोकेको न्यूनतमभन्दा १० करोडबढी अर्थात् ८ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी पुर्यायो ।

अहिले बैंकको चुक्ता पुँजी ८ अर्ब ९३ करोड रुपैयाँ छ भने रिजर्भमा ९ अर्ब १४ करोड रुपैयाँ छ । राष्ट्र बैंकको नीतिका कारण २ वर्षमै ५ अर्बले र ६ वर्षमा साढे ६ अर्ब रुपैयाँले चुक्ता पुँजी बढायो । तर, पुँजी वृद्धिको अनुपातमा व्यवसाय बिस्तार गर्न नसक्दा ठूलो आकारको नाफा देखिए पनि पुँजीको तुलनामा नाफाको अवस्था निकै कमजोर बन्न पुग्यो । फलस्वरुप रिटर्न अन इक्वीटी क्रमश: घटेर अहिले ९.३० प्रतिशतमा झरेको छ ।

पछिल्ला २ वर्षमा त एभरेष्ट बैंकले इतिहासकै कम लाभांश दिएको छ ।

बैंकले आव २०७६/७७ को नाफाबाट १०.५३ प्रतिशत र आव २०७७/७८ को नाफाबाट १०.३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

०७८ मसान्तसम्म बैंकको जगेडा कोषमा ९ अर्ब १४ करोड ८१ लाख ५३ हजार रुपैयाँ रहेको छ । यसले बैंकको जगेडा कोष निकै बलियो रहेको देखाउँछ । आवश्यक परेको अवस्थामा जगेडा कोषबाट पनि सेयरधनीलाई लाभांश दिन सकिन्छ ।

राष्ट्र बैंकले अहिलेको नीतिलाई संशोधन गरेर नगद लाभांश वितरणलाई खुकुलो बनाएको अवस्थामा बैंकले उच्च दरको नगद लाभांश दिने नीति लिएर बसेको देखिन्छ । बैंकको यस्तो नीतिका कारण क्षमता हुँदाहुँदै पनि लगानीकर्ताले अपेक्षा अनुसारको लाभांश पाएका छैनन् ।

बैंक ‘रिजनेवल’ किसिमको प्रतिफल दिनुपर्छ भन्ने सोचमा छ । यही सोचअनुसार काम भइरहेको खालिङले बताए ।

कन्जरभेटिभ शैली नछाड्दा बिरासत गुम्यो

राष्ट्र बैंकको पुँजी बढाउने नीतिपछि कतिपय बैंकहरुले बोनस, हकप्रद र मर्जर तथा एक्विजिशनमा आक्रामक भए । र, रातारात गुणात्मकरुपमा व्यवसाय बिस्तार गरे ।

एनआइसी एशिया, ग्लोबल आइएमई र प्रभुलगायतका बैंक यो शैलीमा व्यवसाय बिस्तार गरेर बजारमा आफ्नो बलियो उपस्थिति बनाउन सफल भए ।

पूरानै शैलीमा अघि बढेका स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, हिमालयन, इन्भेष्टमेन्टलगायतका बैंकले बढेको पुँजीलाई सम्बोधन गर्ने गरी व्यवसाय गर्न सकेनन् । र, त्यसअघिको आफ्नो बिरासत गुमाइरहेका छन् ।

आफूलाई ठूला, पूराना र प्रुडेन्ड बैंकिङ गरेको दाबी गर्ने बैंकहरुले केही वर्ष त आफ्नो बिरासत खोसिएको पत्तै पाएनन् । त्यसैमध्येको एक हो एभरेष्ट पनि ।

तर, यो अवधिमा नबिल बैंकले भने नेचुरल ग्रोथबाटै आफ्नो नम्बर वानको बिरासत जोगाइराखेको छ । पूराना र ठूला अरु बैंक जसरी नबिल बैंक कन्जरभेटिभ भएर बसेन, आफूलाई केही आक्रामकरुपमा अघिबढायो । त्यसैको परिणामस्वरुप नम्बर वानको बिरासत जोगिएको हो ।

६ महिनाअघि दुई पूराना र ठूला हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । आगामी पुस मसान्तभित्र हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंकका नाममा एकीकृत कारोबार गर्दैछन् । एकीकृत कारोबारसँगै यो बैंक अधिकांश सूचकमा नम्बर वान बन्नेछ । जसको झन् बढी दबाब एभरेष्टगायतका बैंकलाई पर्ने निश्चित छ ।

अझै पनि एभरेष्ट बैंकले आफ्नो शैलीलाई परिवर्तन गर्न सकेन भने ‘कुनै समयको बाघ, भावी दिनमा बिरालो’ जस्तो नहोला भन्न सकिँदैन ।

कस्तो छ त पुरानो बिरासत जोगाउने रणनीति ?

अहिले बैंक सञ्चालक समिति र व्यवस्थापन किन पछि परियो भनेर मूल्यांकन गरिरहेको बताउँछन् खालिङ । र, अब कसरी अघिबढ्ने भन्ने रणनीति पनि तयार गरिरहेको पनि उनले सुनाए । भर्खरै नियुक्ति भएका सीइओ खालिङले ती रणनीतिलाई खुलेर बाहिर ल्याउन भने चाहेनन् ।

‘के कमी-कमजोरी भयो भनेर आत्मसमीक्षा गरिरहेका छौं,’ उनले भने, ‘आजको भोलि हुने होइन । तर, बिस्तारै हामी त्यो लक्ष्यमा पुग्छौं ।’

पूरानो अवस्थामा पुनः फर्काउने रणनीति बनाइरहँदा खराब कर्जालाई बिग्रिन नदिने बैंकको मूल ध्येय छ ।

‘हाम्रो रणनीति भनेको आक्रामकरुपमा अघि बढ्ने होइन, बिस्तारै अघिबढ्ने हो र प्रुडेन्ट बैंकिङ गर्ने हो,’ उनले भने, ‘खराब कर्जाको दर कम राख्ने भन्ने सञ्चालक समिति र व्यवस्थापनको ध्येय छ ।’

बैंकको खराब कर्जा शुरुदेखि नै कम छ । अहिले पनि खराब कर्जाको अनुपात ०.१२ प्रतिशत छ । जोखिम व्यवस्थापन गरेर नाफा कमाउने बैंकको उद्देश्य छ । यो भनेको अलिकति कन्जर्भेटिभ शैली पनि हो ।

बैंकको मुख्य आम्दानी भनेको ब्याज हो । तर, पछिल्ला वर्षहरुमा एभरेष्टको ब्याज आम्दानी लगातार घटिरहेको छ । अब ब्याज आम्दानी घट्ने क्रमलाई रोकेर सुधार गर्ने योजनामा छ एभरेष्ट । यसमा सुधार गर्न कर्जाको प्रोफाइललाई परिवर्तन गर्नुपर्छ ।

अहिले प्रवाह भएको ऋणमध्ये एसएमई र कर्पोरेट बराबर जस्तो छ । अब रिटेललाई बढी ध्यान दिएर ६०/४० को अनुपात बनाउने लक्ष्य बैंकको छ । बैंकले यो आर्थिक वर्षमा २५ वटा शाखा विस्तार गर्दैछ ।

अहिले १०६ वटा शाखा छन् । २५ वटा थपिँदा १३१ वटा पुग्छन् । अहिल १२ वटा शाखा बनिरहेका छन् अन्यको अध्ययन भइरहेको छ । एभरेष्टले एकै वर्षमा २५ वटा शाखा पहिलो पटक बिस्तार गर्न लागेको हो । यो भनेको आक्रामक नै हो भन्दा पनि हुन्छ ।

यो सँगसँगै डिजिटल बैंक र आन्तरिक अटोमेशनको काममा पनि ध्यान नपुगेको एभरेष्टको ठहर छ ।

‘आन्तरिक अटोमेशनमा थप लगानी गर्ने योजनामा छौं,’ उनले भने, ‘ग्राहकलाई ‘वाउ’ भन्ने सेवा दिन चाहन्छौं । हाम्रो सेवा लिएपछि उसले थप १० जनालाई रिफर गर्दिने किसिमको सेवा दिने सोच बनाएका छौं ।’

यसका लागि बजारमा रहेका अटोमेटेड प्रोसेसहरु अध्ययन गरिरहेका छन् । हरेक शाखामा एकै किसिमका गुणस्तरी सेवा दिने तयारीमा जुटेका छन् उनीहरु । शाखामा आउनै पर्ने कामबाहेक अधिकांश घरबाटै गर्न सकून् भन्ने चाहना छ खालिङको । सबै काम अनलाइन खाता खोल्ने, कर्जा माग, क्रेडिट कार्ड पाउन सकून् भन्ने उनी चाहन्छन् ।

अहिले बैंकका कुल साढे १२ लाख ग्राहक छन् । ऋण लिनेको संख्या ३५ हजार छ । यसमा प्रगति गर्ने धेरै अवसर रहेको उनले बताए ।

मर्जरमा के हुँदैछ ?

बैंकलाई नयाँ उचाइमा पुर्याउन अर्को रणनीति भनेका मर्जर पनि हो । तर, एभरेष्टले अहिले मर्जरको विषयमा कुनै पनि छलफल गरेको छैन । बिगतमा धेरै बैंकसँग मर्जरको प्रयास भएका थिए ।

नेपाल इन्भेष्टमेन्ट बैंक, किष्ट बैंक, कुमारी बैंक र लक्ष्मी बैंकसँग एभरेष्टको मर्जरको कुराकानी भएको थियो । तर, त्यो प्रयास सफल भएन ।

लक्ष्मी बैंकसँग मर्जरमा जाने भनेर ड्यु डेलिजेन्स अडिट (डीडीए)समेत भएको थियो । तर, त्यो पनि सफल हुन सकेन ।

लक्ष्मी र एभरेष्ट बैंकबीच मर्जरको कुराकानी हुँदा खालिङ लक्ष्मी बैंकको सीइओ थिए । दुई बैंक मर्जर गराउन उनले निकै सकारात्मक र रचनात्मक भूमिका खेलेका पनि थिए ।

एभरेष्ट बैंकमा खालिङ सीइओ भएर गएपछि फेरि पनि यी दुई बैंक मर्ज हुने आकलन गरिएको छ ।

तर, त्यो विषयमा आफूलाई अहिलेसम्म कुनै जानकारी नभएको बताउँछन् उनी ।

‘एभरेष्ट र लक्ष्मी बैंकको मर्जर प्रक्रिया पहिल्यै टुंगिएको हो,’ खालिङले भने, ‘म एभरेष्टको सीइओ भएयता दुई बैंकबीच मर्जरको कुराकानी भएको छैन । यद्यपि, भोलिका दिनमा नहोला भन्न त सकिँदैन ’

पञ्जाव नेसनल बैंकसँगको साझेदारी नै एभरेष्टका लागि ठूलो कुरा भएको बताउँछन् उनी । भारतमा यसका १४ हजार शाखा छन् । यी सबै शाखाबाट एभरेष्ट बैंकको कारोबार हुनसक्छ । भारतसँग धेरै नजिकका नाता हुनाले पनि यो हाम्रो लागि फाइदाको विषय हो । भारतको दिल्लीमा एभरेष्ट बैंकको सम्पर्क कार्यालय पनि छ ।

परिणामले जवाफ दिन्छु

जोखिम व्यवस्थापनमा अब्बल मानिने खालिङले एभरेष्ट बैंकलाई न्यून जोखिम लिएर उच्च प्रतिफल दिने बैंकको रुपमा पुनः स्थापित गराउन सक्लान वा नसक्लान त्यो भने हेर्न बाँकी नै छ ।

‘म अहिले नै यो गर्छु, त्यो गर्छु, बैंकलाई यहाँ पुर्याउँछु भनेर बोल्ने पक्षमा छैन,’ उनले भने, ‘म परिणाममा विश्वास गर्छु । बजार र तपाईंको प्रश्नको जवाफ पनि परिणामबाटै दिने प्रयास गरिरहेको छु । गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भएको प्रगतिले त्यसलाई देखाउँछ ।’

व्यवसाय बिस्तार गर्ने समयमा देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावको असर समग्र बैंकिङ प्रणालीमा परेसँगै एभरेष्ट पनि अछुतो रहँदैन ।

‘केही बैंक व्यवसाय बिस्तारमा संयमित नहुँदा प्रणालीमै समस्या आएको छ,’ उनले भने, ‘राष्ट्र बैंक र सरकारले यसलाई जतिसक्दो चाँडो समाधान नगरे अर्थतन्त्रमै संकुचन आउँछ ।’

ग्रीनलेजको असिस्टेनदेखि एभरेष्टको सीइओसम्म

२०२१ सालमा इलाममा जन्मेका खालिङ काठमाडौंमा हुर्किए । परिवार चिया खेतीमा लागेका थिए । परिवारको एक्लो छोरो, पारिवारिक अवस्था राम्रो थियो ।

दार्जिलिङबाट स्कुलका पढाई गरेको खालिङ भारतको नर्थ बंगालबाट सन् १९८४ मा ग्राजुयट गरे । ग्राजुयट सकेसँगै उनले जागिर शुरु गरे ।

त्यो बेला साथीको ट्राभल थियो । त्यही जागिर गर्दैगर्दा उत्तर बंगालको युनिभर्सिटीबाट एमबीए गरे ।

एकदिन उनले थाहा पाए तत्कालीन ग्रीनलेज अर्थात् अहिलेको स्ट्यान्डर्ड चार्टर्डमा जागिर खुलेको छ ।

‘हामी साथीहरुबीच बैंकमा जागिर खुलेको आवेदन हालौं भन्ने कुरा भयो,’ खालिङ भन्छन्, ‘अनि अन्तर्वार्ता दिएर अर्को दिन जागिर शुरु भयो ।’

उनीसँगै ग्रीनलेजबाट उपेन्द्र पौडेल, अजय श्रेष्ठ, उदयकृष्ण उपाध्याय, पर्शुराम कुँवर क्षेत्रीलगायतले करियर शुरु गरेका थिए । उनीहरु सबै सीइओ भइसकेका छन् । खालिङभन्दा एक वर्षपछि करियर शुरु गरेका अनिल शाह अहिले देशकै नम्बर वार नबिल बैंकको सीइओ छन् ।

‘त्योबेला सीइओ बन्छु वा यो बन्छु भन्ने थिएन,’ उनले भने, ‘जागिर खाउँ न त भनेर आवेदन दिएको हो ।’

चार्टर्डमा २५ वर्ष काम गरेका खालिङ नेपाली कर्मचारीमा सबैभन्दा सिनियर पदसम्म पुगे । उनले त्यहाँ चिफ इन्फरमेसन अफिसरको रुपमा काम गरिरहेको बेला लक्ष्मी बैंकबाट अफर आयो ।

लक्ष्मीमा उनी चिफ रिस्क अफिसर (सिआरओ)को रुपमा डेपुटी सीइओ भएर आए । ३ वर्षपछि अर्थात् सन् २०१४ मा उनी लक्ष्मी बैंकको सीइओ भएका थिए ।


पुष्प दुलाल